गृहपृष्ठ बन्दीपुर भ्रमण वर्ष सफल बनाउन गोरखापत्र संस्थानले सहयोग गर्ने
बन्दीपुर भ्रमण वर्ष सफल बनाउन गोरखापत्र संस्थानले सहयोग गर्ने
तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गोरखापत्र संस्थानले प्राथमिकता दिने भएको छ ।
बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा गोरखापत्र संस्थान र पद्म पुस्तकालयले आज बन्दीपुरमा आयोजना गरेको राष्ट्रिय सिर्जना सम्मेलनमा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले भ्रमण वर्ष सफल बनाउन सञ्चारमाध्यमका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए।
उनले बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गोरखापत्रबाट पूर्ण सहयोग रहने बताए । महाप्रबन्धक ऐरीले भने, “बन्दीपुर भ्रमण वर्ष सफल बनाउनु हाम्रो पनि जिम्मेवारी हो । बन्दीपुरको पर्यटकीय गतिविधिलाई संस्थानले प्राथमिकताका साथ प्रकाशन गर्नेछ ।”
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले भ्रमण वर्ष सफल बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउँदै यस अभियानमा जोडिएकामा संस्थानलाई धन्यवाद दिए।
हाल यहाँ वार्षिक रूपमा एक लाख पर्यटक आउने गरेकामा त्यसलाई दोब्बर बनाउँदै यहॉको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित भ्रमण वर्ष सञ्चालन गरिएको उनले बताए। अध्यक्ष थापाले गाउँपालिका क्षेत्रका सबै पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताए । “बन्दीपुर बजारमात्रै नभई गाउँगाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पु-याउने लक्ष्य छ । भ्रमण वर्षका क्रममा बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेजसमेत बनाएका छौँ”, उनले भने ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले पद्म पुस्तकालयका लागि अध्यक्ष सुदर्शन प्रधानलाई संस्थानका तर्फबाट दुई सय थान पुस्तक हस्तान्तरण गरे।
प्रकाशित समय : २१:१३ बजे



















