global ime bank Long Banner Ad

गृहपृष्ठ एक सय २० वर्ष पुरानो मन्दिर चिनाउन धार्मिक महोत्सव

एक सय २० वर्ष पुरानो मन्दिर चिनाउन धार्मिक महोत्सव

एक सय २० वर्ष पुरानो मन्दिर चिनाउन धार्मिक महोत्सव

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ स्थित साँखे देवल मन्दिरको प्रचारप्रसारका लागि धार्मिक महोत्सव गरिने भएको छ । एक सय २० वर्ष पुरानो उक्त मन्दिरको संरक्षण र प्रवर्द्धन गरी धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित बिहीबारदेखि फागुन १५ गतेसम्म महोत्सव हुन लागेको हो ।

विसं १९६० को समयमा साँखे देवलमा दुई खोलाको सङ्गमस्थलमा रहेको शङ्खाकार ढुङ्गाबाट दाहिने शङ्ख बजेको सुनेर पुजा गर्दै आएका स्थानीयहरू अहिले उक्त स्थानलाई धामका रूपमा विकास गर्न महोत्सवको तयारीमा जुटेका हुन् ।

शिवालय क्षेत्रका रूपमा परिचित यो मन्दिरमा बर्सेनि शिवरात्री पर्वमा तनहुँ र स्याङ्जासहित विभिन्न स्थानबाट भक्तजन दूध चढाउन र रातभर जाग्राम बसेर ठाँडो बत्ती बाल्न सहभीगी हुने शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ अर्यालले बताए । उनका अनुसार यो मन्दिरमा पूजा आराधना गर्नाले निसन्तान जोडीलाई सन्तान प्राप्ति हुने र मनोकाङ्क्षा पुरा हुने जनविश्वास छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकाका साथै स्याङ्जाको हरिनास र बिरुवा गाउँपालिकाको केन्द्रमा पर्ने मन्दिरमा आयोजना गरिने धार्मिक महोत्सवले यस क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरू, जन्ते ढुङ्गा क्षेत्र, सीतापाइला, जनकवि गोकुल जोशीको जन्मस्थान, रजस्थलकोट दरबार र मिलेनियम गुफालगायत पर्यटकीय स्थानको प्रवर्द्धन गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

श्रृङ्गारिक महाआरतीसहितको धार्मिक महोत्सवबाट सङ्कलन भएको रकमले मन्दिरको भौतिक विकाससँगै, दैनिक पूजापाठ सुरु गर्ने र राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा मन्दिरको बारेमा प्रचारप्रसर गर्ने लक्ष्य रहेको महोत्सव मूल समारोह समितिका संयोजक गङ्गाराम भट्टराईले जानकारी दिए ।

प्रकाशित समय : १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु