गृहपृष्ठ ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सामूहिक प्रयास आवश्यक छ’
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सामूहिक प्रयास आवश्यक छ’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन ल्याउन सामूहिक प्रयास आवश्यक पर्ने कान्तिपुर मिडिया ग्रुपले आज पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेश सरकारले मात्र चाहेर विमानस्थलबाट नियमित उडान हुन नसक्ने भएकाले सङ्घ र प्रदेश सरकारको सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे ।
मुख्यमन्त्री पाण्डेले भने, “पर्यटन प्रवर्द्धन सरकारको पहिलो प्राथमिकताको क्षेत्र हो । भौगोलिक अवस्थाका कारण सबैतिर सुविधासम्पन्न सडक पु-याउनु चुनौतीपूर्ण छ, मौसम व्यवस्थापनका कारणले समयमा यात्रु गन्तव्यमा जान सकिरहेका छैनन । अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्नु चुनौतीपूर्ण बनेको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा यथाशीघ्र विमानस्थल सञ्चालन गरेर अन्तर्राष्ट्रिय पर्यटकलाई सुविधाजनक कनेक्टिभिटीको सुविधा पु-याउने पहल गरिरहेका छौँ ।”
पोखरा र समग्र गण्डकी प्रदेश पर्यटकीय सम्भावनाको क्षेत्र रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेपछि पोखरासहित गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन हुँदै गएको बताए । उनले यहाँका पर्यटकीय क्षेत्र पहिचान गर्दै सम्भावना अभिवृद्धि गर्ने कार्यमा प्रदेश सरकार निरन्तर लागिरहेको उल्लेख गरे ।
“पोखरा र गण्डकी प्रदेशमा बढी विदेशी पर्यटकको आगमन हुन्छ । यसलाई अझ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्ने र बढीभन्दा बढी विश्वका पर्यटकलाई प्रदेशमा भित्र्याउने योजना छ”, मुख्यमन्त्री पाण्डेले भने । पर्यटकको सङ्ख्याभन्दा पनि पर्यटकबाट हुने आम्दानी महत्वपूर्ण रहेको उनले बताए ।
गण्डकीका मुक्तिनाथ, मनकामना, त्रिवेणीधामलगायत धार्मिकस्थलको प्रवर्द्धन गर्दै धार्मिक पर्यटक भित्र्याउन र नयाँ धार्मिक पर्यटकीय क्षेत्रको पहिचानका लागि काम गरिने मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।
कार्यक्रममा राजनीति र पर्यटन नीति, साहसिक यात्रा, स्वप्निल गन्तव्य, शिक्षा, स्वास्थ्य र रोजगार तथा सङ्घीयताका विषयमा विषय विज्ञहरूका बीचमा बहसमूलक छलफल हुने आयोजकले जनाएको छ ।
प्रकाशित समय : १६:५८ बजे



















