global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै

तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै

तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै

जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । जिल्लास्थित दशवटै स्थानीय तहका विद्यालयमा अध्ययनरत १४ हजार हजार दुई सय ७८ छात्रालाई एचपिभी खोप लगाउन लागिएको हो ।

एचपिभी खोप अभियान यही माघ २२ देखि ३० गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । पहिलो चरणमा माघ २२ देखि २५ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा अभियान सञ्चालन गरिने छभने दोस्रो चरणमा माघ २७ देखि ३० गतेसम्म शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

कार्यालय प्रमुख अधिकारीका अनुसार विद्यालय जाने कक्षा ६ देखि १० सम्मका १४ हजार ७८ र विद्यालय नजाने दुई सय गरी १४ हजार दुई सय ७८ छात्रालाई खोप लगाइनेछ । भानु नगरपालिकाका एक हजार चार सय ९५, व्यास नगरपालिकाका तीन हजार आठ सय ५५, देवघाट गाउँपालिकाका छ सय ५७, बन्दीपुर गाउँपालिकाका नौ सय ३९, आँबुखैरेनी गाउँपालिकाका एक हजार दुई सय ३६, म्याग्दे गाउँपालिकाका सात सय ६६, शुक्लागण्डकी नगरपालिकाका दुई हजार सात सय छ, भिमाद नगरपालिकाका एक हजार दुई सय ७७, घिरिङ गाउँपालिकाका पाँच सय ८० र ऋषिङ गाउँपालिकाका सात सय ८७ जनामा खोप लगाइनेछ ।

हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरी कक्षा ६ देखि १० सम्मका सबै छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप प्रदान गरिनेछ । विद्यालय नभएका गाउँ, टोल र पिछडिएका समुदायको पहुँचका लागि थप खोप केन्द्रबाट एचपिभी खोप अभियान सञ्चालन गरिने अधिकारीले बताए ।

करिब नौ वर्ष अगाडि चितवन र कास्कीमा एचपिभी खोप सेवा सञ्चालन गरिएको थियो । त्यसबेला कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर एचपिभी खोप छ महिनाको फरकमा दुई मात्रामा दिइएको थियो ।

प्रकाशित समय : ०७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु