गृहपृष्ठ सवारी दुर्घटनामा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
नवलपरासी पूर्व र सल्यानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका ७ अमरसास्थित सडकमा ना. ४३ प २९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार मध्यबिन्दु नगरपालिका ७ चोरमारा बस्ने २८ वर्षीय भोजबहादुर महत्तोको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । सामान्य घाइते भएका मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै सल्यानको शारदा नगरपालिका ८ काँटी गाउँस्थित सडकमा ना. ३ ख ७९७५ नम्बरको बस सडकबाट अन्दाजी ५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका बसका सहचालक दाङ तुलसीपुर उपमहानगरपालिका ४ बस्ने १९ वर्षीय सुजन नेपालीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बसका चालकसहित अन्य तीन जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित समय : १८:१६ बजे



















