गृहपृष्ठ क्वारेन्टाइनमा कुनै अभाव हुँदैन : मुख्यमन्त्री भट्ट
क्वारेन्टाइनमा कुनै अभाव हुँदैन : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यहाँका नौ वटै जिल्लाका क्वारेन्टाइनमा राखिएका नागरिकलाई कुनै किसिमको अभाव नहुने बताएका छन् । मख्यमन्त्री भट्टले भारतबाट काम गरेर फर्किएका र क्वारेन्टाइनमा राखिएका कुनै पनि नागरिकलाई समस्या हुन नदिन प्रदेश सरकारले आवश्यक व्यवस्था मिलाएको बताए ।
उनले भने, ‘सबै नागरिकलाई स्वास्थ्य जाँचदेखि खाने, बस्ने व्यवस्था मिलाउन निर्देशन दिएको छु ।क्वारेन्टाइनमा राखिएका नागरिकलाई घरकै जस्तो व्यवस्था गरिने छ ।’ मख्यमन्त्री भट्टले कोरोना भाइरसका विरुद्ध सबैले एकजुट भएर लाग्नुपर्नेसमेत बताए । कोरोना भाइरस जो कोहीलाई पनि लाग्न सक्ने भएकाले सबैले घरैमा बस्न र सावधानी अपनाउनसमेत उनले आग्रह गरे ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा पर्याप्त बजेट विनियोजन गरेकाले उपचारका लागि डराउनु पर्ने अवस्था नभएको उनको भनाइ छ । उनका अनुसार विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले ११ करोड ५० लाख रूपैयाँ बजेटसमेत विनियोजन गरेको छ ।
सरकारले गरेको लकडाउनलाई सबै नागरिकले सकारात्मक रुपमा लिनुपर्ने बताउँदै मख्यमन्त्री भट्टले भने, ‘नागरिकको सुरक्षाका लागि सरकारले लकडाउन गरेको हो, लकडाउनको पालना गरी घरैमा बसिदिनुस् ।’ भारत वा अन्य मुलुकबाट आएका नागरिक वा घरमा भएका कुनैपनि नागरिकलाई कुनै किसिमका स्वास्थ्य समस्या भए तत्काल नजीकको स्वास्थ्य संस्थामा गएर परीक्षण गराउनसमेत मुख्यमन्त्री भट्टले आम नागरिकमा आग्रह गरे ।
मख्यमन्त्री भट्टले कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि स्थापना भएका सुदूरपश्चिमका सबै क्वारेन्टाइनमा अत्यावश्यकीय सामग्री आपूर्ति गर्न सबै स्थानीय तहलाई निर्देशनसमेत दिएको उल्लेख गरे । प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा कोरोनाको जोखिम न्यूनीकरणका लागि भन्दै आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत उप–महानगरपालिकालाई पाँच लाख रूपैयाँ, नगरपालिकालाई चार लाख रूपैयाँ र गाउँपालिकालाई तीन लाख रूपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी डोटीमा भारतबाट फर्किएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको छ । भारतका विभिन्न शहरबाट काम गरेर आफना घर फर्किएका पुरुष २५८, महिला २८ र बालबालिका २५ गरी ३११ जनालाई जिल्लाका नौ स्थानीय तहका विभिन्न १२ स्थानमा बनाइएका क्यारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।
त्यस्तै जिल्ला अस्पताल डोटीको आइसोलेशन वार्डमा राखिएका एकजना बिरामीको स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.ज्योति पाण्डेले बताए । भारतबाट काम गरेर आएका ३११ जनालाई जिल्लाको बडीकेदार गाउँपालिकास्थित बिपीनगर, खड्यौली, शिखर नगरपालिका तल्कोट, आली, बानीडुग्रीसैन, पूर्वी चौकी गाउँपालिकाको सानागाउँ, आदर्श गाउँपालिकाको मौवा, बोगटान फुड्सिल गाउँपालिकाको चवराचौतारा, जोरायल गाउँपालिकाको सिलिङ्गीबाग, हाट तथा दिपायल सिलगढी नगरपालिका र केआइसिंह गाउँपालिकाको राजपुरमा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको छ ।
क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको सम्बन्धित नगरपालिका तथा गाउँपालिकाबाट खाने बस्ने व्यवस्था मिलाइएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सचेतनास्वरुप यहाँका स्थानीय तहले आफना वडाका गाउँ/टोलमा पुगेर भारतबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न सुझाव समेत दिन थालेका छन् ।
उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखी नियमित उपचार गरिने गरी व्यवस्था मिलाइएको जिल्ला जनस्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य अधिकृत रमेश मलासीले बताए । उनले भने, ‘क्वारेन्टाइनमा राखिएकाहरुको नियमित स्वास्थ्य जाँचका लागि सबै ठाउँमा व्यवस्था मिलाएका छौँ, अहिलेसम्मको स्वास्थ्य परीक्षणमा कसैमा पनि समस्या देखिएको छैन् ।’
प्रकाशित समय : १८:३४ बजे


















