गृहपृष्ठ जनकपुरको बाह्रबिघामा बालबच्चासहित ४० जना भारतीयको बिचल्ली
जनकपुरको बाह्रबिघामा बालबच्चासहित ४० जना भारतीयको बिचल्ली
जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा बालबच्चासहित ४० जना भारतीयको बिचल्ली भएको छ । भारतको महाराष्ट्रका भोपाला जिल्ला बस्ने कृपाल भोस्लेलगायतको १० जनाको परिवार बाह्रबिघामा टेन्ट टाँगेर बसेको हो ।
जनकपुरमा माटोको प्लेट, कप, गिलास बेच्दै गुजारा गर्दै आएका उनीहरु काम गर्न नपाएपछि समस्यामा परेका छन् । विश्वभर कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि सतकर्ता अपनाउँदै नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि दैनिक गुजारा गर्दै जीवनयापन गर्दै आएका उनीहरुको विजोग भएको छ ।
लकडाउनले काममा निस्कने वातावरण नभएपछि बालबच्चासहित टेन्टमा बस्दै आएका उनीहरु अब के खाएर बाँच्ने भन्ने चिन्तामा छन् । ‘यस्तो कति दिन हुन्छ ? कसरी हामी बाँच्छौँ ?, कृपाल भोस्लेले भने ।
भोस्लेका डेढ वर्षीया छोरी राज्यश्री भोस्लेको एक साताअघि मोटरसाइकलले किचेर खुट्टा भाँचिएको थियो । ‘त्यसमा पाँच हजार खर्च भयो,’ उनले भने, ‘कमाएको सबै पैसा त्यहीँ खर्च भयो, अब के गर्ने सोच्नै सकेको छैन ।’
टेन्टमुनि गुजारा गर्दै आएका ५५ वर्षीय कैलास भोस्लेले पनि यस्तो बन्द कहिले रहने भन्दै जिज्ञासा राखे । खाद्यान्न नरहेकाले कसरी दिन बिताउने चिन्तामा उनी छन् । ‘अहिले दाल र रोटी पकाएर खाएका छौं तर अब दुई छाकलाई पुग्ने मात्रै अन्न छ,’ उनले भने, ‘प्रहरीले बाहिर जान दिएको छैन । यस्तो अवस्थामा बालबच्चासहित कसरी बाँचिएला !’
राजकुमार वासुदेव फुवारले पनि खानेकुरा नभएर ठूलो समस्या सुरु भइसकेको बताए । उनको परिवारमा ६ जना सदस्य छन् । पालमुनि बस्दै आएका उनीहरूले सरसफाइदेखि खानेपानी र खाद्यान्न सामग्रीसम्मको अभाव झेलिरहेका छन् ।
कोरोना संक्रमकोको त्रास सर्वत्र फैलिरहेका बेला अव्यवस्थित बसोबास र फोहोरका कारण सामान्य स्वास्थ्य समस्याले ठूलो रुप लिन सक्नेतर्फ जनकपुरधाम उपमहानगरपालिकाले भने कुनै अनभिज्ञता देखाएको छ । ‘भारतीय अलपत्र भएको विषयमा तपाईंबाटै जानकारी पाएँ,’ उपप्रमुख रिता झाले भनिन्, ‘उपमहानगरको बैठकमा छलफलको विषय बनाउँछु ।’ बाह्रबिघा जनकपुरधाम उपमहानगर ८ मा पर्छ ।
प्रकाशित समय : १८:५७ बजे




















