global ime bank Long Banner Ad

गृहपृष्ठ आइसोलेसनका लागि तयार अस्पतालमै उपकरण अभाव, कोरोना आशंका भए अन्यत्रै रिफर

आइसोलेसनका लागि तयार अस्पतालमै उपकरण अभाव, कोरोना आशंका भए अन्यत्रै रिफर

आइसोलेसनका लागि तयार अस्पतालमै उपकरण अभाव, कोरोना आशंका भए अन्यत्रै रिफर

प्रदेश २ सरकारले स्वास्थ्य निर्देशनालयमार्फत जनकपुरको जानकी मेडिकल शिक्षण अस्पताल र वीरगन्जको नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा आइसोलेसनको व्यवस्था गरेको दाबी गरे पनि उपकरण अभावमा आशंका गरिएका संक्रमितलाई समेत भर्ना लिएको छैन । स्वास्थ्य निर्देशनालयका डा. विजय झाले जानकीमा २० शय्या आइसोलेसनसहित ६० शय्या क्वारेन्टाइन र नेसनलमा ५० शय्या आइसोलेसनसहित ८० शय्या क्वारेन्टाइनका लागि व्यवस्था गरेको  दाबी गर्दै आएका छन् ।

कोरानासँग सम्बन्धित बिरामीको बारेमा समन्वय गर्न गठित समितिमा मेडिकल कलेज सञ्चालक बसरुद्दिन अन्सारी नै सदस्य छन् । तर, अस्पतालमा संक्रमितको उपचारमा खटिने डाक्टर र नर्सहरुका लागि आवश्यक पर्ने पिपिई, टेस्ट किट, ग्लोब्स, मास्कलगायतका सामग्री अभावले गर्दा भर्ना नलिइएको जानकी मेडिकल कलेजका प्रशासन प्रमुख विनोद साहले बताए ।

अस्पताल प्रशासनका अनुसार चैत १२ गते टेकु अस्पताल काठमाडौंबाट रिफर भएर कोरोना संक्रमित व्यक्ति पनि आएका थिए । ‘तर यहाँ संक्रमित हुने व्यक्तिको उपचारको कुनै सुविधा नभएकाले धरान पठायौं,’ प्रमुख साहले भने ।

प्रशासन प्रमुख साहले अस्पतालमा आन्तरिक तयारी भइरहेको दाबी गर्न भने छाडेनन् । ‘हामीले अहिले अस्पताल आउने बिरामीलाई ओपिडी सेवा दिइरहेका छौं,’ उनले भने । तर, यथार्थमा हिजोआज जानकी मेडिकल कलेज र प्रादेशिक अस्पताल जनकपुरले ज्वरो आएका बिरामीको समेत परिक्षण नगरिरहेको स्थानीय बताउँछन् । कोरोनाभाइरस संक्रमणको आंशका हुनेबित्तिकै जनकपुरबाट काठमाडौंका लागि एम्बुलेन्समा राखेर पठाउने गरिएको छ ।

जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना लक्षण भएका बिरामी आउनेक्रम बढेपछि अस्पतालले एम्बुलेन्सबाट समेत झर्न नदिएर काठमाडौं वा धरान पठाउने गरेको छ । प्रदेश २ का स्वास्थ्य निर्देशनालका निर्देशक डा. हरिश्चन्द साहले बिरामी परीक्षण गर्दा डाक्टर र नर्सले लगाउनुपर्ने आवश्यक सामग्री र बिरामी परीक्षण गर्न आवश्यक सामग्री केन्द्र सरकारसँग माग गरिएको बताए । स्वास्थ्यकर्मीहरूले भने आफूहरूका लागि आवश्यक प्रोटेक्टेट सामग्री जिल्लामा नभएका कारण जोखिम मोलेर काम गर्न नसक्ने बताउँदै आएका छन् ।

थाइराइडका बिरामीलाई ज्वरो आएपछि अस्पतालबाटै भगाइयो

यसैबीच, नेसनल मेडिकल कलेजमा भर्ना भएका एकजना थाइराइडका बिरामीलाई ज्वरो आएपछि डाक्टरले अस्पतालबाटै भगाएको पाइएको छ । अस्पतालबाट बिरामी भगाएको भिडियोसमेत सार्वजनिक भएपछि अस्पताल प्रशासनको चौतर्फी विरोध भइरहेको छ ।

प्रदेश सरकारले नेसनल मेडिकल कलेजमा कोरोना संक्रमित व्यक्तिको उपचारका लागि व्यवस्था गरेको दाबी गर्दै आएका बेला यस्तो घटना बाहिरिएको हो । वीरगन्जकै नारायणी अस्पतालका एकजना डाक्टरले भने, ‘टाइफाइड, पिसाब संक्रमणलगायत समस्याका कारण ज्वरो आएका बिरामीलाई समेत नेसनल मेडिकल कलेजले फर्काउने गरेको छ । सबै बिरामी सरकारी अस्पतालमै आउने गरेका छन् ।’

प्रकाशित समय : १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु