काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एमाले केन्द्रीय कमिटी बैठकः समयानुकूल संविधान संशोधन हुनुपर्ने माग

2.05K
shares

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा सम्पन्न बैठकले संविधानको समयानुकूल संशोधन हुनुपर्ने मागसहित विभिन्न १४ बुँदे प्रस्ताव पारित गरेको छ ।

बैठकले राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा र समाजवादको लक्ष्य हासिल गर्न पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा निर्माण गर्ने प्रण गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए ।

बैठकलाई समापन गर्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटीका नेताहरूलाई पार्टीमाथिको अभिभारा पूरा गर्न वैचारिक, राजनीतिक रूपमा स्पष्ट भएर पार्टीले गरेका निर्णय र कार्ययोजना कार्यान्वयनमा जुट्न निर्देशन दिएको थियो । “एमाले अनुशासित लोकतान्त्रिक पार्टी हो, हामीलाई समाजवादमा जानु छ, समृद्ध नेपाल, सुखी नेपाली बनाउनु छ । त्यसैले पार्टीमा अराजकता र अनुशासनहीनता सैह्य हुँदैन”, उनको भनाइ थियो ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्य र स्थायी कमिटी सदस्यहरू गरी एक सय ५३ जनाले राजनीतिक प्रतिवेदन र संगठनात्मक कामबारे राय प्रस्तुत गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । त्यसैगरी पार्टीका केन्द्रीय निकाय, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले आ—आफ्ना आयोगका कामका साथै प्रतिवेदनहरूमाथि सुझाव राखेको थियो ।

यसअघि, अध्यक्ष ओलीले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्नाका साथै महासचिव शङ्कर पोखरेलले संगठनात्मक कामको सङ्क्षिप्त जानकारी गराएको थियो । आजको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्तावहरू प्रस्तुत गरेको थियो । महासचिव पोखरेलले साङ्गठानिक अवस्थाको सङ्क्षिप्त जानकारी गराउँदै केन्द्रीय कमिटीको सातौं बैठकयता संगठन निर्माण र परिचालनका सन्दर्भमा महत्वपूर्ण कामहरू भएको, नेकपा स्थापनाको हीरक महोत्सव र राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक भव्य रूपमा सम्पन्न भएको लगायत विषय प्रस्तुत गरेको थियो ।

समयानुकूल संविधान संशोधन

बैठकले संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ । “नेपालको संविधान कार्यान्वयनको दश वर्ष हुन लागेको छ । संविधान कार्यान्वयनको वस्तुनिष्ठ समीक्षा गर्दै यसका सबल र दुर्बल पक्षलाई केलाउँदै संविधानका प्रगतिशील अन्तरवस्तुको संरक्षण र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्ने गरी बृहत् समझदारी र सहभागितामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउन यो बैठक सरकारसँग आग्रह गर्दछ”, पारित समसामयिक प्रस्तावमा भनिएको छ ।

यस्तै, राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर एमाले र नेपाली काङ्ग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको एमालेले पारित गरेको प्रस्तावमा भनिएको छ । “मुख्य राजनीतिक दलहरूको नेतृत्वमा ७ दल सहभागी भएर बनेको यस सरकारसँग जनताका धेरै अपेक्षाहरू छन्”, प्रस्तावमा भनिएको छ, “सरकारको काँधमा नेपालको संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने दिशामा बलियो जग बसाल्ने ऐतिहासिक अभिभारा छ ।”

एमालेले सशस्त्र द्वन्द्व, लामो सङ्क्रमणकाल, भूकम्प र महामारी जस्ता चुनौती बाबजुद नेपालले गएको साढे तीन दशकमा हासिल गरेका उपलव्धि महत्वपूर्ण रहे पनि सुस्त विकास, न्यून आर्थिक वृद्धि, बेरोजगारी र परनिर्भरता जस्ता चुनौतीहरु विद्यमान रहेको उल्लेख गरेको छ । “राष्ट्रिय पुँजीको निर्माण गर्दै र स्वाधीन अर्थप्रणालीको विकास गर्दै समाजवादोन्मुख राज्य निर्माणमा हामी दृढ सङ्कल्पित छौँ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ््क्षा अवश्य पूरा हुन्छ भन्ने आत्मविश्वास बलियो बनाउन र यस सामाजिक– आर्थिक रूपान्तरण र समृद्धिको अभियानमा सहभागी हुन यो बैठक आह्वान गर्दछ ।”

स्वदेशभित्र अवसर नदेखेर या भएको अवसर सदुपयोग गर्न नसकेर भइरहेको युवाहरू पलायनप्रति चिन्तित र संवेदनशील रहेको भन्दै एमालेले ८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकको रुपमा अगाडि बढाउन सरकारलाई आग्रह गरेको छ । यस्तै, बैठकले भ्रष्टाचारविरुद्ध सामाजिक जागरण, सहकारी बचतकर्ताहरूको रकम फिर्ताको सुनिश्चित, अनियमिततामा मुछिएका जोसुकैविरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पु¥याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले मिथ्या, दुराशययुक्त र झुट्टा सूचना विश्वव्यापी चुनौतीका रूपमा देखापरेको र नेपाल पनि यो समस्यासँग जुझिरहेको भन्दै संविधानप्रदत्त प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्दै यस्ता सूचना रोक्न राज्यका नियामक निकायहरूको भूमिका थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ ।

सरकार र पाटीएका सकारात्मक कामको प्रचार गर्न आग्रह

बैठकले पार्टी पङ्क्तिलाई सूचना प्रविधिको सही सदुपयोग गर्न र सरकार तथा पार्टीले हासिल गरिरहेका सकारात्मक उपलव्धि, सफलता र अग्रगतिका सूचनामार्फत् जनतामा आशा र भरोसा जगाउन आग्रह गरेको छ । यस्तै बैठकले दुराशययुक्त सूचनालाई खण्डित र निष्प्रभावी बनाउन आह्वानसमेत गरेको छ ।

बैठकले नेपाली सीमा नजिर्कै चीनमा केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पले हालसम्म चीनमा ९५ जनाको ज्यान गएको र ठूलो भौतिक क्षति पुगेको घटनाप्रति गहिरो सहानुभूति व्यक्त गरेको छ ।

एमालेमा फर्कन आग्रह

बैठकले पार्टी विभाजनलगायत कारणले पार्टी बाहिर रहेका सबै नेता र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेको छ ।

यस्तै बैठकले श्रमजीवी जनता र विपन्न नागरिकलाई केन्द्रमा राखेर दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति, महङगी, कालोबजारी र मिसावट नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमन तथा नियमन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । “किसानले उत्पादन गरेका कृषिउपजको उचित बजार र मूल्य पाउने सुनिश्चित गर्न, बिचौलियाको बिगबिगी अन्त्य गर्न र स्वदेशी कृषि उत्पादनको संरक्षण गर्न यो बैठक सरकारको ध्यानाकर्षण गर्दछ”, पारित प्रस्तावमा भनिएको छ ।