काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अक्षयकोष स्थापनसँगै आत्मनिर्भर बन्दै सङ्घसंस्था

2.31K
shares

सामाजिक क्षेत्रमा योगदान पु-याउने उद्देश्यले जिल्लाका छवटा संस्थाले जनही करोडको अक्षयकोष स्थापना गरेका छन् । नेपाल पत्रकार महासङ्घ झापा शाखा, रुद्रगौरी श्री अम्बिका ओली प्रतिष्ठान, विवेकाश्रम नामक धार्मिक संस्था, पत्रकार महिलाहरूको छाता संस्था नारी सञ्चार गृह, समर्पण कार्यक्रमलगायत संस्थाले अक्षयकोष स्थापना गरेका हुन् । पत्रकारिता, शिक्षा र परोपकारका क्षेत्रमा ती अक्षयकोषले सहयोग गरिरहेका छन् ।

गम्भीर समस्या भएकाको उपचारमा सहयोग गर्न चन्दा उठाउने गरेका यहाँका पत्रकारहरू नेपाल पत्रकार महासङ्घ झापा शाखाले एक करोड ११ लाखको पत्रकारिता अक्षयकोष स्थापनापछि सोही कोषको ब्याजले आपत्विपद्मा सघाउन सक्षम भएका हुन् । महासङ्घले ६५ वर्षमाथिका ज्येष्ठ पत्रकारहरूलाई सामाजिक सुरक्षा योजनाअन्तर्गत वार्षिक भत्तासमेत प्रदान गर्दै आएको छ ।

 

शाखाका अध्यक्ष एकराज गिरीले विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको अक्षयकोषको ब्याजले बिरामी अवस्थामा रहेका पत्रकारहरूलाई उपचार सहयोग दिने गरिएको बताए । तीन वर्षमा महासङ्घले सोही कोषबाट प्राप्त भएको ब्याजबाट ४० जना पत्रकारलाई उपचार सहयोग र १९ जना ज्येष्ठ पत्रकारलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेको जानकारी दिए ।

“महासङ्घका सदस्य र दाताको सहयोगबाट अक्षयकोषमा रकम जुटाएका हौँ”, अध्यक्ष गिरीले भने, “दुर्घटना वा गम्भीर बिरामी भएका पत्रकारलाई यही कोषबाट उपचार सहयोग दिने गर्छौं । पत्रकार महिलालाई सुत्केरी खर्च र ज्येष्ठ पत्रकारलाई वार्षिक भत्ता दिने गरेका छौँ ।”

बिरामी भएका पत्रकारहरूको स्वास्थ्य अवस्थाको गम्भीरता अध्ययन गरेर नगदमा उपचार सहयोग दिइँदै आइएको जनाउँदै ६५ वर्षदेखि ७९ वर्षसम्मका ज्येष्ठ पत्रकारलाई वार्षिक १५ हजारका दरले सामाजिक सुरक्षा भत्ता दिने गरिएको बताए । ज्येष्ठ पत्रकारको उमेर ८० वर्षभन्दा माथि भए वार्षिक रूपमा २० हजार दिइने गरिएको छ ।

रुद्रगौरी श्री अम्बिका ओली प्रतिष्ठानले पनि जिल्लामा  करोडको अक्षयकोष स्थापना गरी सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएको छ । प्रतिष्ठानले समाज रुपान्तरणमा योगदान पु-याउने विभिन्न क्षेत्रका प्रतिभाहरूलाई बर्सेनि पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ । प्रतिष्ठानले अक्षयकोषको ब्याजबाट राष्ट्रिय प्रज्ञान पुरस्कारसहित आधा दर्जन बढी पुरस्कार वितरण गर्दै आएको छ ।

पाँच लाखको राष्ट्रिय प्रज्ञान पुरस्कारबाट प्रख्यात नेत्र चिकित्सक डा. सन्दुक रुइत समेत सम्मानित भएको छ । साहित्य, सामाजिक सेवा, विज्ञान, खेलकुद र पत्रकारिता क्षेत्रमा योगदान पु-याएका व्यक्तित्वहरूलाई प्रतिष्ठानले पुरस्कृत गर्दै आएको छ ।

विर्तामोडस्थित विवेकाश्रम नामक धार्मिक संस्थाले एक करोड दरका दुईवटा अक्षयकोष स्थापना गरेको छ । आश्रमका महासचिव पण्डित छन्दुराम भण्डारीले आश्रममा आवासीय भएर गुरुकुलमा अध्ययन गरिरहेका विद्यार्थीहरूको भरणपोषण, भोजानलगायत क्षेत्रमा सहयोग पु-याउन एक करोडको एउटा र नित्य पूजा, उपासना, गौसेवा, कर्मचारीको तलब, हवनलगायत क्षेत्रका लागि एक करोडको अर्को अक्षयकोष स्थापना गरी सञ्चालन भइरहेको जानकारी दिए ।

आश्रमको गुरुकुलमा एक सय ८६ जना आवासीय विद्यार्थी रहेका जनाउँदै विद्यार्थीको खाने, बस्ने, पढ्नेलगायत सम्पूर्ण खर्च सोही अक्षयकोषको ब्याजबापत आएको रकमबाट बेहोर्ने गरिएको आश्रमका महासचिव भण्डारीले बताए । “खर्चको आवश्यकताअनुसार कोषको ब्याजले धान्न सक्ने अवस्था छैन । अक्षयकोषमा रकम अझै अपुग भइरहेको छ ।”

जिल्लामा पत्रकार महिलाहरूको छाता संस्था नारी सञ्चारगृहले  ५० लाखको अक्षयकोष स्थापना गरेको छ । पत्रकार महिलाहरूलाई पत्रकारिता पेसाप्रति आकर्षित गर्ने, टिकाइ राख्ने, सम्मानित गर्ने र प्रशिक्षित गर्ने उद्देश्यसहित स्थापना गरिएको उक्त अक्षयकोषमा थप ४७ लाख रकम जुटिसकेको गृहकी अध्यक्ष रेजिना गौतमले जानकारी दिए ।

 

कोषको ब्याजबापत आउने रकमबाट हरेक दुई वर्षमा एकजना पत्रकार महिलालाई एक लाखको ‘नारी साधना पत्रकारिता पुरस्कार’ र २५ हजारको ‘नारी प्रोत्साहन पत्रकारिता पुरस्कार’ प्रदान गरिरहेको जानकारी दिए । अक्षयकोष वृद्धिका लागि संस्थाले दाताको सहयोग लिनाका साथै देउँसीभैलो कार्यक्रमसमेत गर्दै आएको  बताए ।

सहकारी अभियन्ता महेन्द्र गिरीको नेतृत्वमा जिल्लामा ‘एकका लागि एक’ अभियानअन्तर्गत समर्पण कार्यक्रम सञ्चालन गरी एक करोड रकम जुटाएर अक्षयकोष स्थापना गरिएको थियो । सोही कोषको ब्याजबाट आएको रकमले कनकाई कोटीहोम क्षेत्रमा व्यवस्थित आर्यघाट र मलामीगृह निर्माण गरिएको छ । कोरोनाकालमा सोही अभियानमार्फत जुटेको रकमले कोरोना सङ्क्रमितका लागि सहयोग पनि गरिएको थियो ।

करोड रकमका अक्षयकोष निर्माण अभियानमा विर्तामोड उद्योग वाणिज्य सङ्घ र मानव आश्रम मेचीनगरसमेत जुटिरहेका छन् । उद्योगी व्यवसायीहरूलाई विपद्का बेला सहयोग जुटाउन गत वर्षदेखि एक करोडको अक्षयकोष स्थापना गरी सञ्चालनमा ल्याइएको सङ्घका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए। अक्षयकोषमा थप सहयोग रकम जुटाउने क्रम जारी रहेको बताए ।

मेचीनगर–४ स्थित बाहुनडाँगीमा हालै सञ्चालनमा आएको मानव आश्रमको शाखाले पनि असहायहरूको भरणपोषण खर्चका लागि रु एक करोडको अक्षयकोष जुटाउने घोषणा गरेको छ । आश्रमको उद्घाटनका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कोषका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोगस्वरुप दिने घोषणा गरेको थियो ।

मेचीनगर–१५ स्थित ओमकारेश्वर गुरुकुलका प्राचार्य निरोज खनालले झापाका गुरुकुलहरूले सरकारी निकायबाट पर्याप्त सहयोग पाउन नसकेपछि आत्मनिर्भरताका लागि अक्षयकोष स्थापनामा जोड दिनुपरेको बताए । दातासँग सहयोग सङ्कलन गरी अक्षयकोष स्थापना भएमा गुरुकुलमा अध्यापन गराउने शिक्षकको पारिश्रमिक भुक्तानीदेखि विद्यार्थीहरूको भरणपोषणलगायत क्षेत्रमा कोषको ब्याजले सहयोग पुग्ने धारणा राखे ।

जिल्लाका अधिकांश धार्मिक विद्यालयहरूले पछिल्लो समय अक्षयकोष स्थापनाका लागि सहयोग सङ्कलन गर्न लागिरहेका प्राचार्य खनालले उल्लेख गरे। अक्षयकोषको रकमले सामाजिक दायित्व पूरा हुनुका साथै अफ्ठयारोमा परेकाले सहयोग प्राप्त हुने भन्दै यसमा सरकार तथा अन्य सरोकार भएका निकायले पनि समन्वय गर्नुपर्नेमा जोड दिए ।