global ime bank Long Banner Ad

गृहपृष्ठ पर्यटकीय गाउँ चित्रे पुग्ने सडक स्तरोन्नतिको काम सुरु

पर्यटकीय गाउँ चित्रे पुग्ने सडक स्तरोन्नतिको काम सुरु

पर्यटकीय गाउँ चित्रे पुग्ने सडक स्तरोन्नतिको काम सुरु

पर्वत, कास्की र स्याङ्जाको सिमानामा अवस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेसँग जोडिएको गण्डकी प्रदेशकै नमुना पर्यटकीय गाउँ चित्रे जोड्ने सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

पर्वतको मोदी गाउँपालिका–६ रतीखोलादेखि वडा नं ८ चित्रेसम्मको १२ किलोमिटर सडक स्तरोन्नति गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत यो रतीखोला–दराक–चित्रे–गँगटे सडक स्तरोन्नतिका लागि ४४ करोडमा सम्झौता भएको थियो ।

सडक स्तरोन्नति तथा कालोपत्रसहित ३० महिनामा सम्पन्न गर्नेगरी गत असारमा सम्झौता भएको हो । सडक निर्माणको जिम्मा ओएशिस इञ्जिनियरिङ विल्डर्स, पूर्ण लक्ष्मी प्रालि जेभीले पाएको छ ।

उक्त सडकअन्तर्गत दुई खण्डमा विभाजन गरेर धमाधम निर्माण कार्य थालिएको निर्माण कम्पनीका साइड इञ्चार्ज लाक्पा तामाङले जानकारी दिए । अहिले ९० जना मजदुर र पर्याप्त यन्त्र उपकरण परिचालन गरेर द्रुत गतिमा काम भइरहेको छ । सडक मापदण्डानुसार चक्ल्याउने, ग्याविन जाली भर्ने, नाली तथा टेवा पर्खाल निर्माणजस्ता काम भइरहेको तामाङको भनाइ छ ।

सडक निर्माणका लागि ढुङ्गाको भने समस्या रहेको छ । स्थानीय रतीखोलाबाट पर्याप्तमात्रामा ढुङ्गा निकाल्न नपाउँदा कामको गति बढाउन समस्या भएको भनाइ छ । गाउँपालिका र स्थानीयसँग सहमति गरेर खोलाको ढुङ्गा प्रयोगमा ल्याउने तयारी भइरहेको छ । निर्माण सामग्रीको पर्याप्तता र अन्य कुनै अवरोध नभएमा अबको २५ महिनामै सडक कालोपत्र गरिसक्ने दाबी निर्माण कम्पनिको रहेको छ ।

सडक खण्डअन्तर्गत आठ किलोमिटरमा ग्याबिन जाली भर्ने र अन्य पूर्वाधारको काम भइरहेको छ भने तीन किलोमिटर कटिङ गरिसकिएको छ । गत असारमा पूर्वाधार विकास कार्यालयसँग निर्माणको सम्झौता भए पनि वर्षायाम रोकिएपछि मात्र काम सुरु भएको थियो । सडक स्तरोन्नति नहुँदा गण्डकी प्रदेशमै प्रख्यात चित्रे ९होमस्टे० घरबासमा आउने आन्तरिक तथा बाह्य पर्यटका साथै स्थानीयले आवतजावतमा सास्ती व्यहोर्दै आएका थिए ।

यहाँका बासिन्दा छिमेकी वडा राम्जादेउराली, आर्थरडाँडाखर्क हुँदै सदरमुकाम र डिमुवा बजारमा आउन बाध्य भएका थिए । अब भने मोदी गाउँपालिकाको केन्द्र रहेको मध्यपहाडी लोकमार्गमा जोडिने पातीचौरसम्म सिधा सडक सम्पर्कले जोडिने स्थानीय घरबास व्यावसायी शुशिलादेवी गुरुङले बताए । स्थानीयवासीका साथै घरबासमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने भएको छ ।

विगत दुई दशकदेखि यहाँ व्यावसायिक रुपमा घरबास सञ्चालनमा रहेको छ । यहाँका एक दर्जनभन्दा बढी घरमा होमस्टे सञ्चालन छन् । दैनिक एक सय जनाभन्दा बढी पर्यटक राख्न सकिने क्षमता रहेको चित्रेमा नेपालका विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन् । यामको बेला दैनिकजसो पर्यटकले भरिभराउ हुने गरेको गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बताए । यो गुरुङ समुदायको बाहुल्यता रहेको गाउँसमेत हो ।

यसैबीच निर्माणाधीन उक्त सडक पर्वतबाट निर्वाचित सङ्घीय सांसद तथा पूर्वमन्त्री पद्म गिरीले अनुगमन गरेको छ । सो क्रममा सांसद गिरीले गुणस्तरीय काम गर्न आग्रह गरे । तोकिएकै समयमा निर्धारित गुणस्तरअनुसारको काम गरेर सडक हस्तान्तरण गर्न निर्माण व्यावसायी र सम्बन्धित कार्यालयलाई आग्रह गर्दै उहाँले कुनै समस्या आइलागेमा आवश्यक समन्वय गर्नसमेत सुझाव दिए ।

प्रकाशित समय : १५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु