गृहपृष्ठ म्यानमारको अर्को शहर विद्रोहीको कब्जामा

म्यानमारको अर्को शहर विद्रोहीको कब्जामा

म्यानमारको अर्को शहर विद्रोहीको कब्जामा

म्यानमारमा यतिबेला सरकारविरुद्ध हतियार उठाएका संगठनहरू एकपछि अर्को राज्य र शहर कब्जा गर्ने अभियानमा छन् । जसले बर्मेली सैनिक शासकलाई धक्का पुगेको छ भने धेरै राज्यबाट सेनाले ज्यान जोगाउन ब्यारेक छाडेर भाग्नुपरेको छ ।

सैनिक शासनको विरोधमा हतियार उठाएको विद्रोही समूह आराकान आर्मीले बंगलादेशसँग सीमा जोडिएको म्यानमारको माउङ्गदावमाथि पनि कब्जा गरेको छ । माउङ्गदाव आराकान राज्यको उत्तरी इलाका हो । यसको सीमा बंगलादेशको कक्स बजारसँग जोडिन्छ । यो क्षेत्रमा बंगलादेश र म्यानमारबीच २७१ किलोमिटर लामो सीमा छ ।

समाचार एजेन्सी एपीका अनुसार आराकान आर्मीका प्रवक्ता खैङ्ग थुखाले माउङ्गदावमा रहेको अन्तिम सैन्य चौकीमाथि समेत कब्जा जमाएको दाबी गरेका छन् । यस क्रममा उनीहरूले त्यहाँबाट भागिरहेका जनरल थुरिन तुनलाई समेत समातेका छन् । म्यानमारको सैन्य सरकारले भने विद्रोहीको कब्जामाथि कुनै टिप्पणी गरेको छैन ।

माउङ्गदाव म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मान्डलेबाट करिब ४ सय किलोमिटर दक्षिण पश्चिममा पर्छ । यो इलाका गत जुनदेखि आराकान आर्मीको निसानामा छ । आराकान आर्मीले यो वर्षको सुरुमा बंगलादेशको सीमा नजिकका शहर पलेतवा र बुथिदौङ्गमाथि कब्जा गरेको थियो ।

यसअघि आराकान आर्मीले नोभेम्बर २०२३ मा रखाइन राज्यमा १७ मध्ये ११ शहरमा कब्जा जमाएको थियो । योसँगै चीन राज्यमा पनि आक्रमण गरेर अर्को शहरमाथि नियन्त्रण कायम गरेको थियो ।

रखाइनको ऐन राज्यमा म्यानमार सेनाको सैन्य बेस छ । यहाँबाट देशको पश्चिमी क्षेत्रमा निगरानी गर्न सकिन्छ । रिपोर्टअनुसार ऐन शहरमाथि आराकान आर्मीले छिट्टै नियन्त्रण कायम गर्न सक्छ । रखाइन सेनाले सामाजिक सञ्जालमा ऐन शहरमा सेनाको पश्चिमी कमान्डलाई छोडेर ३० भन्दा बढी सैन्य चौकी कब्जा गरेको उल्लेख गरेको थियो ।

प्रकाशित समय : २०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु