global ime bank Long Banner Ad

गृहपृष्ठ मानवअधिकारको रक्षा गर्नु हामी सबैको दायित्व होः प्रधानन्यायाधीश राउत

मानवअधिकारको रक्षा गर्नु हामी सबैको दायित्व होः प्रधानन्यायाधीश राउत

मानवअधिकारको रक्षा गर्नु हामी सबैको दायित्व होः प्रधानन्यायाधीश राउत

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले लोकतन्त्रमा मानवअधिकारको संरक्षण गर्नु न्यायकर्मीको मात्र नभई सबैको दायित्व हुने बताएका छन् ।

नेपाल बार एसोसिएसनद्वारा आज पोखरामा आयोजित मानवअधिकारसम्बन्धी राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले मानवअधिकारलाई कुनै भूगोल र सीमाले रोक्न नसक्ने बताए। वैयक्तिक स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका र मानवअधिकारप्रति न्यायपालिका सधैँ प्रतिबद्ध रहेको भन्दै प्रधान न्यायाधीश राउतले मानवअधिकारसम्बन्धी विश्वव्यापी मान्यतालाई पालना गर्दै अगाडि बढ्नुको विकल्प नरहेको धारणा राखे ।

कानुन व्यवसायीको सहयोगबाट नै न्यायपालिकाको मुहार फेर्न सकिने भएकाले बार र बेञ्चको सम्बन्धलाई बलियो बनाउने पक्षमा आफू रहेको उनको भनाइ थियो । कानुन व्यवसायीले आफ्नो व्यावसायिकतालाई ध्यान दिन जरूरी र जनतालाई न्यायको पहुँचसम्म पुर्‍याउन कानुन व्यवसायीले निःशुल्क कानुनी सेवा सहायता दिने कार्यलाई तीव्रता दिनुपर्नेमा प्रधानन्यायाधीश राउतले जोड दिए। उनले सर्वोच्च अदालतमा दैनिक ८० भन्दा बढी मुद्दा पर्ने गरेका र अदालतमा हुने गलत क्रियाकलाप हटाउन गोलाप्रथाद्वारा न्यायाधीशलाई मुद्दा हेर्ने व्यवस्था गरिएको बताए ।

गण्डकी प्रदेशका ऊर्जा, खानी तथा जलस्रोतमन्त्री फणीन्द्र देवकोटाले जनताले सहज र सर्वसुलभ न्याय पाउने व्यवस्था र न्यायको अनुभूति हुने गरी न्यायपालिकाले न्यायसम्पादन गर्नुपर्नेमा जोड दिए । लोकतन्त्रसँगै मानवअधिकारको संरक्षण गर्ने दायित्व सरकार र न्याय क्षेत्रका संस्थाको भएको उनले बताए ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले लोकतन्त्रमा बोल्ने र न्यायका पक्षमा आवाज उठाउन अधिकार सबैलाई रहेको बताए । नेपाल बारका पूर्वअध्यक्ष हरिहर दाहालले न्यायाधीशमा राजनीतिक हस्तक्षेपका आधारमा नभई सक्षम व्यक्तिलाई नियुक्त गर्नुपर्नेमा जोड दिए । नेपाल बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारका अध्यक्षलाई लगाइएको अपहेलनाको मुद्दाले बारका सम्पूर्ण सदस्यको मनोबल गिरेको बताए । उक्त कार्यक्रमको सभापतित्व बारका वरिष्ठ उपाध्यक्ष बालकृष्ण देवकोटाले गरेका थिए।

प्रकाशित समय : २०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु