गृहपृष्ठ उद्योगी भने, बजारमा चिनीे तस्करी हुँदा स्वदेशी उद्योगले किसानलाई भुक्तानी दिन नसक्ने अवस्था
उद्योगी भने, बजारमा चिनीे तस्करी हुँदा स्वदेशी उद्योगले किसानलाई भुक्तानी दिन नसक्ने अवस्था
नेपाल चिनी उद्योग संघले आज (मंगलबार) राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी बजार तस्करीबाट भित्रिएको चिनीले चलेको आरोप लगाएको हो ।
संघका अध्यक्ष शशिकान्त अग्रवालले तस्करीको चिनी बजारमा बिक्री हुँदा स्वदेशी चिनीले बजार नपाउँदा किसानलाई भुक्तानी दिन ठूलो समस्या पर्ने बताए ।
‘तस्करीबाट ५० देखि ६० हजार मेट्रिक टन भित्रिएको चिनीका कारण स्वदेशी उद्योगीले उत्पादन गरेको चिनी गोदाममै थन्किएको छ, आधिकारिकरुपमा भन्सारबाट पनि खासै चिनी आयात भएको छैन,’,‘तैपनि बजारमा चाहिएको परिमाणमा छ्यापछ्याप्ती चिनी उपलब्ध छ । हाम्रो चिनी बिक्री नहुँदा अहिले सुरु भएको क्रसिङ्गमार्फत् किसानलाई भुक्तानी ठूलो समस्या आएको छ, ’अग्रवालले भने ।
उनका अनुसार अहिले उखुको नयाँ क्रसिङ्ग (कारखानामा उखु पेलेर चिनी उत्पादन) सुरु भइसकेको छ । यो वेला सबै उद्योगको चिनी बिक्री हुनुपर्ने थियो । तर गोदाममा अझै चिनी थन्केर बसेको छ । अग्रवालले भने ।
चाडवाडको मागसहित नेपालमा वार्षिक २ लाख ८५ हजार मेट्रिक टन चिनीको माग छ । त्यसमध्ये गत् वर्षको क्रसिङ्ग सिजनमा १३ वटा स्वदेशी चिनी उद्योगबाट १ लाख ७८ हजार ७ सय १७ मेट्रिक टन चिनी उत्पादन भएको थियो ।
भन्सारमार्फत् औपचारिक रुपमा १५ हजार टन आयात भएको थियो । यस्तै साल्ट ट्रेडिङ्ग कर्पोरेशनले २० हजार मेट्रिक टन चिनी बिक्री गरेको थियो ।
यसरी स्वदेशी उद्योगले उत्पादन गरेको, बैद्य रुपमा आयात भएको र साल्टले बिक्री गरेको चिनी गरी २ लाख १३ हजार ७ सय १७ हजार मेट्रिक टन चिनीको उपलब्धता भएपनि माग अनुसार अपुग भएको करिब ७० हजार मेट्रिक टन चिनी तस्करी भएर बजारमा भित्रिएको संघको भनाइ छ ।
बजारमा स्वदेशी चिनी उद्योगबाट उत्पादित चिनीले बजार नपाउँदा सबै उद्योगगरी १० हजार मेट्रिक टन गोदाममा थन्किएको छ । स्वदेशी उद्योगबाट उत्पादन हुने चिनीमध्ये ७० प्रतिशत औद्योगिक क्षेत्र र ३० प्रतिशत घरायसी प्रयोजनमा खपत हुन्छ ।
नेपालको तुलनामा भारतबाट आएको सस्तो मूल्यको चिनीले बजार पाउँदा स्वदेशी चिनी उद्योगको चिनी बिक्री हुन नसकेको संघले जनाएको छ । उनका अनुसार वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, बिराटनगरलगायतका सीमा क्षेत्रबाट ठूलो परिमाणमा चिनी तस्करी भइरहेको छ ।
एक प्रश्नको जवाफमा उनले चिनी उद्योगीले आफैं चिनीको तस्करी नगरेको दाबी गरे । स्वदेशी उद्योगीले आफैं तस्करीमा संलग्न भएको प्रमाणसहित पुष्टि गर्न सके उद्योग झुण्डिन तयार रहेको उनले स्पष्ट पारे ।
‘उद्योगी आफैं तस्करी गरेर आफ्नो खुट्टामा बन्चरो हान्दैनन् नि,’ उनले भने,‘एउटा चिनी उद्योगीको उद्योगमा कम्तिमा ५ अर्ब रुपैयाँको लगानी छ । यसरी ठूलो लगानी गरेर उत्पादन गरेको आफ्नै चिनी कुहाउन उद्योगी आफैंले तस्करी गरेको छैन । कसैले प्रमाणसहित तस्करीमा उद्योगीको संलग्नता छ भनेर पुष्टि गरे हामी झुण्डिन तयार छौं ।’
गत वर्षको उखु क्रसिङ्ग सिजनमा २ करोड ३८ हजार ७ सय ५५ क्वीन्टल उखु पेलेर १ लाख ७८ हजार ७ सय १७ मेट्रिक टन चिनी उत्पादन भएको थियो । चालु आर्थिक वर्षको उखु क्रसिङ्गबाट २ लाख २० हजार मेट्रिक टन चिनी उत्पादन गर्ने लक्ष्य रहेको संघले जनाएको छ ।
प्रकाशित समय : १९:५४ बजे


















