गाजाको अवस्था ‘भयावह र सर्वनाशकारी’ – संयुक्त राष्ट्रसङ्घीय प्रमुख
वि.सं.२०८१ मंसिर १७ सोमवार १९:५०
shares

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार युद्धग्रस्त गाजाको अवस्था ‘भयावह र सर्वनाशकारी’ भएको बताएको छ । प्यालेस्टिनीहरूले भोग्नुपरेको अवस्था सबैभन्दा ‘गम्भीर अन्तर्राष्ट्रिय अपराध’ हुनसक्ने चेतावनी दिए ।
मानवीय सहायता बढाउने उद्देश्यले कायरोमा आयोजित सम्मेलनमा तर्फबाट पढिएको टिप्पणीमा अन्तर्राष्ट्रिय समुदायलाई ‘गाजा र मध्यपूर्वमा दिगो शान्तिको आधार निर्माण गर्न’ आग्रह गरे।
गाजामा युद्ध सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी उग्रवादी समूह हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि सुरु भयो । हमासको आक्रमणमा एएफपीको तथ्याङ्कअनुसार अधिकांश सर्वसाधारणसहित एक हजार २०८ को मृत्यु भएको थियो ।
इजरायली प्रतिशोधात्मक अभियानले गाजामा गाजाका स्वास्थ्य मन्त्रालयका अनुसार ४४ हजार ४२९ व्यक्तिको मृत्यु भएको छ । यो आँकडालाई संयुक्त राष्ट्रले विश्वसनीय मान्छ ।
गुटेरेसले द्वन्द्वको विनाशकारी क्षति र अन्तर्राष्ट्रिय कारबाहीको तत्काल आवश्यकतामाथि जोड दिए । “कुपोषण व्याप्त छ।।। अनिकाल सन्निकट छ । यसैबीच स्वास्थ्य प्रणाली ध्वस्त भएको छ”, उनले भने, “गाजामा अहिले संसारको कुनै पनि ठाउँमा प्रतिव्यक्ति अपाङ्गता भएका बच्चाहरूको सङ्ख्या सबैभन्दा बढी छ, “धेरै जसो बिना एनेस्थेसिया शल्यक्रिया गरिएका छन् ।”
महासचिव गुटेरेसले सहायता वितरणमा लगाइएको कडा प्रतिबन्धको पनि आलोचना गर्दै हालको स्तरलाई ‘अत्यन्त अपर्याप्त’ भने।
संयुक्त राष्ट्रसङ्घीय प्यालेस्टिनी शरणार्थी एजेन्सी ९युएनआरडब्लुए० का अनुसार युद्धपूर्वको औसत ५०० को तुलनामा गत महिना प्रतिदिन ६५ वटा सहायता ट्रक मात्र गाजामा प्रवेश गर्न सक्षम भएका थिए ।
अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले गाजाको बिग्रँदै गएको अवस्थाबारे बारम्बार चेतावनी दिँदै नागरिकहरू अनिकालको सँघारमा रहेको चेतावनी दिएका छन् । उनीहरूले गाजामा प्रवेश गर्ने सहायता ढुवानी युद्धको सुरुआतदेखि सबैभन्दा कम भएको बताएका छन् ।
द्वन्द्वको सुरुमा हमास शासित इलाकामा एक अवधिका लागि पूर्ण घेराबन्दी लगाएको इजरायलले सहायता समस्याको दोष राहत सङ्गठनहरूले ठूलो मात्रामा सहायता सम्हाल्न र वितरण गर्न असमर्थ भएकोमा लगाएको छ ।
राष्ट्रसङ्घीय महासचिव गुटेरेसले सोमबार गाजामा सहायता अवरोध ‘रसदको सङ्कट होइन’ बरु ‘राजनीतिक इच्छाशक्ति र अन्तर्राष्ट्रिय मानवीय कानूनको आधारभूत सिद्धान्तहरूको सम्मानको सङ्कट’ भएको बताए।
युएनआरडब्लुएले उत्तरी गाजामा सहायता पुर्याउने सबै प्रयास सन् २०२४ अक्टोबर ६ देखि नोभेम्बर २५ सम्म ‘अस्वीकार’ वा ‘बाधा’ गरिएको बताएको छ । उक्त क्षेत्रमा तीव्र युद्ध जारी छ ।
गुटेरेसले भने, “यदि युएनआरडब्लुए बन्द गर्न बाध्य भयो भने यसको महत्त्वपूर्ण सेवाहरू प्रतिस्थापन गर्ने जिम्मेवारी, इजरायलको हुनेछ ।”
सम्मेलनमा युएनआरडब्लुए प्रमुख फिलिप्प लाजारिनीले संस्था ‘गाजामा मानवीय प्रतिक्रियाको मेरुदण्ड बनेको’ बताए ।
गाजामा मानवीय सहायताको निरन्तरता सुनिश्चित गर्न ‘एउटा बलियो अन्तर्राष्ट्रिय कानूनी र राजनीतिक ढाँचा’ को प्रयोग गर्न पनि आह्वान गरे । “यो बिना मानवतावादीहरू जति नै निस्वार्थ र साहसी भए पनि बस्न र वितरण गर्न सक्नेछैनन्”, उनले भने ।
























