गृहपृष्ठ मंसिर २२ देखि साइन्स ओलम्पियाड हुने
मंसिर २२ देखि साइन्स ओलम्पियाड हुने
इटहरीस्थित सुष्मा गोदावरी कलेजले पाँचौं संस्करणको साइन्स ओलम्पियाड प्रतियोगिता आयोजना गर्ने भएको छ। विगत चार वर्षदेखि सुनसरी र मोरङका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरूको सहभागितामा सञ्चालन हुँदै आएको यस प्रतियोगितालाई कलेजले निरन्तरता दिने जनाएको छ।
मंसिर २२ गतेदेखि सुरु हुने यस पाँचौं साइन्स ओलम्पियाडमा २ सय विद्यालयका करिब ८ सय विद्यार्थीको सहभागिता रहने अनुमान गरिएको छ। समितिका संयोजक श्याम घिमिरेका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ। साथै, १० जना विद्यार्थीलाई जनही १ हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार पनि दिइनेछ।
विद्यार्थी तथा अभिभावकलाई विज्ञानको महत्व, यसको अध्ययनको आवश्यकता र विकास निर्माणमा विज्ञानको भूमिकाबारे जानकारी दिन कलेजले यो प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको कलेजका प्राचार्य बोधराज नेपालले जानकारी दिए। उनले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा समेत विद्यार्थीहरूको सहभागिता सुनिश्चित गर्न प्रयास भइरहेको बताए। गत वर्षको चौथो सुष्मा साइन्स ओलम्पियाड २०८० मा तरहरास्थित प्याराडाइज स्कुलका छात्र अनुरोध घिमिरे प्रथम बनेका थिए।
प्रकाशित समय : १०:१२ बजे