गृहपृष्ठ गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु
गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजामा विगत एक वर्षदेखि जारी युद्धमा ४३ हजारभन्दा बढीको मृत्यु भएको जानकारी दिएको छ । जसमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो दुई दिनमा अस्पतालमा ल्याइएका ९६ जनाको मृत्यु भएको छ । यसैबीच, इजरायली सेना (आईडीएफ) ले उत्तरी गाजामा गत साताको अन्त्यमा अस्पतालमा भएको आक्रमण सहितको अपरेशन सुरु गरेको बताएको छ । सेनाले अस्पतालमा शुक्रबारको क्र्याकडाउन पछि १०० संदिग्ध हमास लडाकुलाई पक्राउ गरेको जनाएको छ।
यद्यपि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इजरायलले अस्पतालका ४४ कर्मचारीलाई हिरासतमा लिएको आरोप लगाएको छ । प्यालेस्टिनी चिकित्सा अधिकारीहरूले यो अस्पताल आक्रमणमा गम्भीर क्षति भएको बताएका छन् । अस्पतालमा करिब दुई सय बिरामीको उपचार भइरहेको थियो । आइडीएफले हमास र अन्य चरमपन्थीहरूले सैन्य उद्देश्यका लागि अस्पतालहरू प्रयोग गरिरहेको बताएको छ । जबकि प्यालेस्टिनी चिकित्सा अधिकारीहरूले यी आरोपहरूलाई अस्वीकार गर्दै इजरायली सेनाले जानाजानी नागरिकहरूको जीवनलाई खतरामा पारेको आरोप लगाएका छन् ।
यस महिनाको सुरुमा, संयुक्त राष्ट्र संघले कम्तिमा ४ लाख मानिसहरू अझै उत्तरी गाजामा फसेको र मानवीय सहायताको कमीको कारण भोकमरीमा परेको बताएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ मा सुरु भएको युद्धमा कम्तिमा ४३ हजार २० जनाको मृत्यु भएको छ । त्यस्तै एक लाख एक ग्जार ११० जना घाइते भएका छन् । हमास लडाकुले अक्टोबर ७ मा इजरायलको सुरक्षा बार तोडेर घुसपैठ गरेपछि युद्ध सुरु भएको थियो । जसमा करिब १२ सय जनाको ज्यान गएको थियो । तीमध्ये अधिकांश इजरायलका नागरिक थिए । साथै दुई सय पचास जना अपहरणमा परेका थिए, जसमध्ये अझै करिब सय जनाको अवस्था अज्ञात रहेको छ ।
प्रकाशित समय : ०९:३६ बजे


















