गृहपृष्ठ स्याङबोचेभन्दा माथि हेलिकोप्टर उडाउन निषेध
स्याङबोचेभन्दा माथि हेलिकोप्टर उडाउन निषेध
सगरमाथा राष्ट्रिय निकुञ्जले तीन हजार ८०० मिटरको उचाइमा पर्ने स्याङबोचेभन्दा माथि हेलिकोप्टर उडाउन निषेध गरेको छ।
निकुञ्जले कात्तिक ८ मा नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र नेपाल प्रहरी लगायतका सरोकारवाला पक्षलाई पत्राचार गरी हेलिकोप्टर उडानमा रोक लगाएकोे हो। निकुञ्ज क्षेत्रमा दैनिक ५० भन्दा बढी हेलिकोप्टर उडान भइरहेकाले ध्वनि प्रदूषण भई जनावरको आनीबानीमा समेत असर पर्नुका साथै वातावरणमा प्रतिकूल असर परेको जनाउँदै हेलिकोप्टर उडानमा निषेध गरिएको पत्रमा उल्लेख छ।
निकुञ्जले सगरमाथा क्षेत्रको सुरक्षार्थ नाम्चेमा रहेको नेपाली सेनाको भगवती प्रसाद गुल्म, नाम्चे इलाका प्रहरी कार्यालय, स्थानीय खुम्बु पासाङ गाउँपालिका र मध्यवर्ती क्षेत्र व्यस्थापन समितिलाई समेत पत्राचार गरेर हेलिकोप्टर उडानमा रोक लगाउने निर्णय कार्यान्वयन गर्न अनुरोध गरेको छ।
आरोहणको समय बाहेक पनि पर्यटकलाई आधारशिविरसम्म ट्रेकिङको लागि जाने क्रममा हेलिकोप्टर उडान हुँदै आएको छ। जसले गर्दा वातावरणमा प्रभाव परेको निष्कर्षका साथ अहिले निकुञ्जले कडाई गरेको जनाइएको छ।
प्रकाशित समय : २०:०८ बजे



















