गृहपृष्ठ गाजाको विद्यालयमा इजरायली आक्रमण, कम्तीमा १७ जना मारिए
गाजाको विद्यालयमा इजरायली आक्रमण, कम्तीमा १७ जना मारिए
इजरायली सेनाले मध्य गाजाको विद्यालयमा बिहीबार गरेको हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । आक्रमणमा ४२ जना घाइते भएका अल–अव्दा अस्पतालका अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
नुसेरात शरणार्थी शिविरमा रहेको अल–शुहादा विद्यालयमा इजरायली सुरक्षा बल (आईडीएफ) ले हवाई आक्रमण गरेको हो । आक्रमणमा मारिएकामध्ये अधिकांश बालबालिका र वृद्ध छन् ।
आईडीएफले आइतबार उत्तरी गाजामा गरेको आक्रमणमा कम्तीमा ८५ जना मारिएका थिए । आईडीएफका पछिल्ला आक्रमणका कारण उत्तरी गाजा लगायतका क्षेत्रमा दूरसञ्चार र इन्टरनेट सेवा अवरुद्ध भएको जनाइएको छ ।
गाजामा एक वर्षयताको इजरायली आक्रमणमा कम्तीमा ४३ हजार जनाको ज्यान गइसकेको छ । दसौं हजार घाइते छन् ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा १२ सय जना मारिएका थिए । त्यसका साथै, हमासले २५१ जनालाई बन्धक बनाएर लगेको थियो । त्यसयता इजरायलले गाजामा निरन्तर आक्रमण गर्दै आएको छ ।एजेन्सी
प्रकाशित समय : १७:३३ बजे



















