गृहपृष्ठ राष्ट्रिय सभा अध्यक्ष दाहालसँग आईपीयू अध्यक्षको भेट
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग आईपीयू अध्यक्षको भेट
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा. तुलिया अक्सन र महासचिव मार्टिन चुङगोङसँग भेटवार्ता गरेका छन् ।
भेटमा नेपालको संघीय संसद् र अन्तर व्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदान प्रदान, लोकतन्त्रका लागि संसदीय भूमिकालगायतका विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ ।
भेटमा अध्यक्ष दाहालले आईपीयूका विभिन्न सभा तथा कार्यक्रमहरूले लोकतन्त्र, मानवअधिकार, लैंगिक समानता, युवा सशक्तिकरण, दिगो विकास लगायतका सवालमा संवाद, सहकार्य र असल अभ्यासहरूको आदानप्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए ।
अध्यक्ष दाहालले संसदीय अभ्यास थप परिष्कृत गर्न र लोकतान्त्रिक संस्थाहरू थप सुदृढ गर्न अन्तर व्यवस्थापिका संघसँग आफूहरूले बलियो र घनिष्ठ सहकार्य गर्न इच्छुक रहेको बताए । सो अवसरमा उनले आईपीयूसँग सिधा सम्पर्कमा रहन यसको सचिवालयमा नेपालको पनि सहभागिता गराउनतर्फ सोच्न आग्रह गरेका थिए ।
संविधान सभाबाट जारी संविधानमार्फत् नेपालले महिला, अल्पसंख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको भन्दै अध्यक्ष दाहालले संघीय संसदमा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधिका रूपमा सहभागी रहेको जानकारी गराएका थिए ।
प्रकाशित समय : १३:१७ बजे


















