global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ह्युमपाइपले जोडियो तातोपानी नाका

ह्युमपाइपले जोडियो तातोपानी नाका

ह्युमपाइपले जोडियो तातोपानी नाका

गत साताको अविरल वर्षासँगै आएको बाढीपहिराले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ ।

तीन दिनदेखि अस्थायी ह्युमपाइप राखेर सडक बनाउन खोजिए पनि भोटेकोशी नदीमा जलसतह बढेकाले कठिनाइ भएको थियो । त्यसैले गत शनिबार साँझ ५ बजे ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याइएको भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिए ।

उनका अनुसार ह्युमपाइप राखेर साना सवारी आवतजावत गराए पनि ठूला सवारी भने तत्काल सञ्चालन गर्न सकिएको छैन ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार ह्युमपाइप राखिएसँगै तातोपानीमा रोकिएका सयौँ साना सवारीसाधन पास गराइएको छ । उनका अनुसार लार्चामा ह्युमपाइप राखेर सडक सामान्य अवस्थामा सञ्चालन गरे पनि कोदारीको पहिरो तथा लिपिङ खोलाको पुल राख्न अझै बाँकी छ ।

लार्चामा राखिएको ह्युमपाइप निकै गहिरो स्थानमा राखिएकाले ठूला सवारीहरू आवतजावत गराउन कठिनाइ भएको भोटेकोशी गाउँपालिका–३ का अध्यक्ष निमासोना शेर्पाको भनाइ छ ।

भोटेकोशी बाढीले बगाएको लार्चा पुल भएको स्थानमा मानव आवतजावतका लागि तुइनसमेत राखिएको छ । भोटेकोशी गाउँपालिका–२ लार्चामा रहेको बेलीब्रिज बगाएपछि सीमाक्षेत्र लिपिङका स्थानीय सडक सम्पर्कविहीन भएका थिए । पुल बगेपछि ठप्प बनेको तातोपानी नाकालाई लार्चामा तुइन बनेपछि स्थानीयले आवातजावत गर्न सहज भएको थियो । तुइन असुरक्षित हुने भएपछि सोही ठाउँमा फड्के राखिएको थियो ।

तातोपानी नाका अवरुद्ध हुँदा दसैँका लागि चीनबाट फलफूल र लत्ताकपडा बोकेर आएका करिब नौ सयभन्दा बढी कन्टेनरका सामान चीन र नेपालको भू–भागमा अलपत्र परेको नेपाल ट्रक कन्टेनर मजदुर सङ्घका अध्यक्ष अर्जुन सापकोटाले बताए ।

प्रकाशित समय : ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु