गृहपृष्ठ कोशी आम सञ्चार विधेयक मस्यौदाका लागि सुझाव सङ्कलन
कोशी आम सञ्चार विधेयक मस्यौदाका लागि सुझाव सङ्कलन
आम सञ्चारमाध्यमलाई व्यवस्थापन गर्न कोशी प्रदेशमा बनेको विधेयकको मस्यौदाका लागि झापाबाट सुझाव सङ्कलन सुरु गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासङ्घ झापा शाखाको संयोजनमा सुझाव सङ्कलन गरिएको हो । छलफल तथा सुझाव सङ्कलन कार्यक्रममा आज मन्त्रालयका उपसचिव विश्वदीप बेस्राले विधेयकको मस्यौदाका मुख्य विषयबारे जानकारी गराएको थियो । मन्त्रालयले तयार पारेको विधेयकको ६५ बुँदे मस्यौदामा न्यू मिडिया, युट्युब, विज्ञापन एजेन्सीलगायतका विषय समेटिएको छ ।
कार्यक्रममा पत्रकार महासङ्घ झापा शाखाका पूर्वअध्यक्ष तारामणि सापकोटाले विधेयकलाई समावेशी बनाउनुपर्नेमा जोड दिए । विविधतालाई सम्बोधन गर्न सक्ने विधेयक बन्नुपर्नेमा उनको जोड थियो ।
सहभागीले स्वरोजगारमूलक सञ्चारमाध्यमलाई स्थानीयस्तर मै दर्ता र सञ्चालन गर्न सक्ने प्रावधान ल्याउनुपर्ने सुझाव दिएका छन् । सहभागीले मस्यौदामा रहेका विवादास्पद शब्दलाई यकिन गर्न सुझाव दिए ।
विभिन्न जातजाति, भाषाभाषीसँग सम्बन्धित सञ्चारमाध्यमलाई विशेष प्राथमिकता दिनुपर्ने सहभागीको सुझाव छ । स्थानीयस्तरका पत्रपत्रिका स्थानीय तहमै दर्ता गर्ने व्यवस्था गर्नुपर्ने उनीहरुको सुझाव थियो ।
कार्यक्रममा पत्रकार गोविन्दचन्द छेत्री, राजेन्द्र गौतम, मनकुमार गदाल, लीलाराज खड्का, ज्ञानेन्द्र निरौला, इन्द्रजीत मुखिया, गणेशमान मुखिया, केशव आचार्य, दिपीन राई, सुब्रत न्यौपाने, सावित्रा दाहाललगायतले मस्यौदामा समेट्नुपर्ने विषय औँल्याए ।
प्रदेशभित्र स्थापना तथा सञ्चालनमा रहेका सञ्चारमाध्यमको दर्ता, नवीकरण र नियन्त्रण गर्न तथा स्वतन्त्र निष्पक्ष मर्यादित, व्यावसायिक र नागरिकप्रति जवाफदेही सञ्चारमाध्यमको विकास र प्रवर्द्धन गर्न कोशी प्रदेश आम सञ्चारमाध्यम व्यवस्थापन ऐन २०८१ निर्माण गर्न लागिएको मन्त्रालयका प्रदेश सचिव कमलबहादुर थापाले बताए ।
उनले प्राप्त सुझावलाई विधेयकमा समेटिने बताए । थप सुझाव इमेलमार्फत् पठाउन सकिने उनको भनाइ छ । सरोकारवालासँग सुझाव लिएर विधेयक बनाउँदा प्रभावकारी हुने भएकाले जिल्लास्तरमा गएर सुझाव सङ्कलन गरिएको उनले बताए ।
प्रकाशित समय : १९:१७ बजे



















