global ime bank Long Banner Ad

गृहपृष्ठ चितवनको माडीमा अत्यधिक वर्षा, सतर्क रहन आग्रह

चितवनको माडीमा अत्यधिक वर्षा, सतर्क रहन आग्रह

चितवनको माडीमा अत्यधिक वर्षा, सतर्क रहन आग्रह

चितवनको माडी क्षेत्रमा आज बिहानदेखि अत्यधिक वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा माडी र आसपासका क्षेत्रमा अति ठूलो वर्षा भएको र यो क्रम जारी रहने अनुमान गरिएको छ ।

परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले रिउ खोला र यसका सहायक नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवले नदी तटीय क्षेत्र र हाेचाे भूभागमा बस्ने नागरिकहरूलाई दिउँसो २ बजेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।

कल्याणपुर वर्षा मापन केन्द्रका अनुसार माडी क्षेत्रमा अझै भारी वर्षाको सम्भावना रहेको छ । खास गरी रिउ खोला र यसका सहायक नदीहरूमा अचानक बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको प्रजिअ यादवले जानकारी दिए ।

माडी क्षेत्रमा खहरे खोलाहरूले वार्षिक रूपमा ठूलो क्षति पुर्‍याउने गरेको स्थानीयहरू बताउँछन्। यहाँ सामान्य वर्षामा पनि साना खोलाहरू एक्कासि उर्लिने गर्दछन्, जसले गर्दा बाढी र डुबानको जोखिम बढ्छ ।

यसैबीच, भरतपुरमा पनि बिहानदेखि नै मुसलधारे पानी परिरहेको छ । स्थानीय प्रशासनले सम्पूर्ण जिल्लावासीलाई सतर्क रहन र आवश्यक सुरक्षा उपायहरू अपनाउन आग्रह गरेको छ ।

मौसम विभागले यस क्षेत्रमा अझै केही दिन वर्षा जारी रहने पूर्वानुमान गरेको छ । नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न र आपतकालीन सूचनाहरूलाई ध्यान दिन अनुरोध गरिएको छ ।

प्रकाशित समय : ११:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु