माओवादी बैठकः स्थानीय तहमार्फत सामाजवादको आधार तयार गर्नुपर्नेमा जोड
News karobar
वि.सं.२०८१ साउन २७ आइतवार १९:३६
3.44K shares
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा सदस्यले स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिएका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकका धारणा राख्ने सदस्यले जनताका समस्या र मुद्दामा केन्द्रित भएर जनपरिचालनको कार्यक्रम ल्याउनुपर्ने बताए ।
उनीहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले थालेका सुशासन र समृद्धिका अभियानबाट वर्तमान सरकारलाई पछि हट्न नदिन खबरदारी गर्नुपर्ने धारणा राखेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
आजको बैठकमा १४ सदस्यले धारणा राखेका थिए । बैठकमा कमला रोका, पम्फा भसाल, उर्मिला अर्याल, शक्तिबहादुर बस्नेत, शशी श्रेष्ठ, हितमान शाक्य, ओनसरी घर्ती, पूर्णाकुमारी सुवेदी, कालीबहादुर मल्ल, महेश्वर गहतराज, प्रह्लाद बुढाथोकी, हकीकुल्ला खाँ, जयपुरी घर्ती र जोखमबहादुर महरलाले धारणा राखेका थिए । बैठक भोलि पनि चल्नेछ ।