गृहपृष्ठ बाणिज्य बैंक : कुन बैंकको लाभांश क्षमता कति ?
बाणिज्य बैंक : कुन बैंकको लाभांश क्षमता कति ?
२० वटा बाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । २० मध्ये १९ वटा बैंकहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छन् ।
आर्थिक वर्ष सकिएको २१ दिनभित्र विवरण पेश गर्नुपर्ने नियामकीय व्यवस्थाअनुसार अधिकांश बैंकहरूले आज प्रतिवेदन पेश गरेका छन् । १० वटा बैंकले नाफा कमाउँदा १० वटाको भने नाफा घटेको छ । १५ वटा बैंकको लाभांश क्षमता सकारात्मक देखिएको छ । यसमा पनि ६ वटा बैंकको लाभांश क्षमता १० प्रतिशतभन्दा बढी छ । लाभांश क्षमता हुनेबित्तिकै लाभांश वितरण गर्छन् भन्ने हुँदैन । चारवटा कम्पनीको लाभांश क्षमता छैन ।
लाभांश क्षमता ऋणात्मक भएकाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंकका लगानीकर्ताले लाभांश नपाउने देखिएको छ । एनआइशी एशियाको नाफामासमेत गिरावट आएको छ । कुमारी, प्रभु र एनआईसी एशिया बैंकले आव २०८०/८१ को मुनाफाबाट लाभांश दिन नपाउने भएका छन् । कुमारी, प्रभु र एनआईसी एशिया बैंकको प्राथमिक पुँजी नपुगेका कारण यो वर्ष लाभांश दिन नपाउने गत पुस मसान्तकै विवरणले तय गरिसकेको थियो ।
कुमारी बैंकले गत असोजमै आवश्यकता अनुसार प्राथमिक पुँजी अनुपात कायम गरेको थिएन । पुसमा कुमारीसँगै प्रभु र एनआईसी एशिया बैंक पनि थपिएका थिए । चैत मसान्तको तथ्यांकअनुसार सबैभन्दा कम प्राथमिक पुँजी अनुपात कुमारीको ८।०३३ प्रतिशत छ । यस्तै एनआईसी एशियाको ८।२५ प्रतिशत छ भने, प्रभुको ८.८५ प्रतिशत थियो । कुनै एक त्रैंमासमा पुँजीकोष अनुपात कायम नभएको बैंकले उक्त आर्थिक वर्षको नाफाबाट लाभांश बाँड्न पाउँदैनन् ।
बैंक तथा वित्तीय संस्थाहरूलाई असारसम्मको वित्तीय विवरणमा साउन अन्त्यसम्म उठ्ने ब्याजसमेत जोड्न सक्ने सुविधा राष्ट्र बैंकले दिएको छ । बैंकहरूले अहिले सार्वजनिक गरेको वित्तीय विवरण अपरिष्कृत भएकाले केन्द्रीय बैंकलाई बुझाउने परिष्कृत वित्तीय विवरणमा ५ प्रतिशतसम्म केही सूचक बढ्न सक्ने अवस्था रहन्छ ।एभरेष्ट बैंकको लाभांश क्षमता सबैभन्दा धेरै देखिएको छ । यस बैंकले शेयरधनीलाई २९.८६ प्रतिशत प्रतिफल दिन सक्ने वित्तीय विवरणमा उल्लेख छ । एभरेष्ट बै्कको अघिल्लो वर्ष योभन्दा धेरै लाभांश क्षमता रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै ३८.४२ प्रतिशत थियो । तर, यस बैंकले २०.५३ प्रतिशत लाभांश आफ्ना शेयरधनीलाई बाँडेको थियो । १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद लाभांश गरी २०.५३ प्रतिशत लाभांश शेयरधनीलाई बाँडेको थियो ।
यस्तै दोस्रो बढी लाभांश क्षमता स्टान्डर्ड चार्टर्ड बैंकको देखिएको छ । यस बैंकको २६।५० प्रतिशत लाभांश क्षमता रहेको बैंकले जनाएको छ । अघिल्लो वर्ष (२०७९/८०) २८.७५ प्रतिशत लाभांश क्षमता हुँदा यस बैंकले १९ प्रतिशत नगद लाभांश दिएको थियो ।तेस्रो बढी लाभांश क्षमता सरकारी स्वामित्वको कृषि विकास बैंकको १७.३७ प्रतिशत देखिएको छ । अघिल्लो वर्ष यस बैंकको लाभांश क्षमता ९.२४ प्रतिशत हुँदा लगानीकर्तालाई कुनै पनि लाभांश वित्तरण गरेको थिएन ।सबैभन्दा धेरै नाफा कमाएको नबिल बैंकको लाभांश क्षमता भने १४.२६ प्रतिशत देखिएको छ । अघिल्लो वर्ष यस बैंकको लाभांश क्षमता ११.७८ प्रतिशत हुँदा ११ प्रतिशत नगद लाभांश आफ्ना सेयरधनीलाई बाढेको थियो ।
यता नेपाल एसबीआई बैंकको १०.७६ प्रतिशत लाभांश बाढ्ने क्षमता देखिएको छ । अघिल्लो वर्ष १०.५८ प्रतिशत लाभांश बाढ्ने क्षमता हुँदा १०.५५ प्रतिशत लाभांश बाढेको थियो ।सानिमा बैंकको १०.४० प्रतिशत लाभांश क्षमता छ । अघिल्लो वर्ष १७.७८ प्रतिशत लाभांश दिने क्षमता हुँदा सानिमाले आफ्ना शेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिएको थियो ।अहिले लाभांश क्षमता नकारात्मक भएका हिमालयन बैंक, कुमारी बैंकले अघिल्लो वर्ष पनि लाभांश दिएका थिएनन् ।यता, एनआईसी एशिया बैंकले ३०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेपनि राष्ट्र बैंकको सुपरीवेक्षण विभागले बैंकको क्यापिटल कर्जभेसन बफर पर्याप्त नदेखिएको जनाउँदै प्रस्तावित लाभांश रद्द गरेको थियो । यो बैंकले अघिल्लो वर्ष पनि लाभांश बाढ्न पाएको थिएन ।
प्रकाशित समय : १७:४५ बजे



















