गृहपृष्ठ पीजी सुज उत्पादक पारागन फुटवेयर २८औं वर्षमा प्रवेश, स्वदेशी जुत्तालाई अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी
पीजी सुज उत्पादक पारागन फुटवेयर २८औं वर्षमा प्रवेश, स्वदेशी जुत्तालाई अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी
काठमाडौं । पीजी सुज ब्राण्डअन्तर्गत नेपाली जुत्ता उत्पादन गर्दै आएको पारागन फुटवेयर इन्डस्ट्रिज २८औं वर्षमा प्रवेश गरेको छ। कम्पनी २०५५ साल असार १७ गते स्थापना भएको हो।
नेपाली सीपको उपयोग गरी उत्पादन गरिएका छालाका जुत्ता र छालाजन्य वस्तुहरु नेपाली उपभोक्ता माझ पहिचानका साथ सेवा पु-याउँदै आएको छ। कम्पनीका प्रबन्ध निर्देशक रामहरी तोलाङ्गका अनुसार स्थापनाको सुरुवाती चरणमा अधिकांश उत्पादन हातबाट हुने गरे पनि अहिले उद्योग आधुनिक मेसिन प्रविधिमा आधारित उत्पादन प्रणालीमा पुगेको छ।
उनका अनुसार उद्योगले बालबालिका, युवा, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी विभिन्न प्रकारका छालाका जुत्ता उत्पादन गर्दै आएको छ। चन्द्रागिरि नगरपालिका–९ स्थित उद्योगमा पार्टी, क्याजुअल, विद्यालय तथा कलेजका विद्यार्थीका लागि स्पोर्ट्स जुत्तालगायत विभिन्न प्रकारका उत्पादन हुँदै आएका छन्।
कम्पनीले सुरुवाती चरणमा दैनिक १५ देखि २० जोर जुत्ता उत्पादन गर्ने गरेकामा अहिले उत्पादन देशव्यापी बजारसम्म विस्तार भएको जनाएको छ। उद्योगदेखि शोरुमसम्म करिब एक सय जना प्रत्यक्ष र साढे तीन सयभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी उपलब्ध गराएको कम्पनीको दाबी छ।
प्रबन्ध निर्देशक तोलाङ्गले स्वदेशी उत्पादनको गुणस्तर सुधार गर्दै आयातित जुत्ताको प्रतिस्थापन र भविष्यमा निर्यात विस्तार गर्ने लक्ष्यका साथ काम भइरहेको बताए।
कम्पनीका मार्केटिङ प्रमुख राजेन्द्र तोलाङ्गले स्थानीय कच्चा पदार्थ र दिगो उत्पादन प्रणालीमा आधारित व्यवसायलाई थप सुदृढ बनाउँदै पीजी सुज ब्राण्डलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार पारागन फुटवेयरले परम्परागत सीप र आधुनिक प्रविधिको संयोजनबाट नेपाली उपभोक्ताको आवश्यकता तथा क्रयशक्तिअनुसार जुत्ता उत्पादन गर्दै आएको छ। सामान्य उपभोक्तादेखि विद्यार्थी, कर्मचारी, सेना र प्रहरीसम्मलाई लक्षित गरी उत्पादन विस्तार गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नेपाली जुत्ता उद्योगले नयाँ प्रविधि, गुणस्तर र आकर्षक डिजाइनमा निरन्तर लगानी गर्न सके विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने पर्याप्त सम्भावना रहेको छ।
प्रकाशित समय : २०:२५ बजे



















