गृहपृष्ठ पोखराको राजस्व सङ्कलन सात प्रतिशतले वृद्धि
पोखराको राजस्व सङ्कलन सात प्रतिशतले वृद्धि
आन्तरिक राजस्व कार्यालय पोखराको अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व सङ्कलन सात प्रतिशतले वृद्धि भएको छ । विशेषगरी गत वर्ष यहाँको पर्यटकीय क्षेत्र चलायमान हुँदा यसको प्रभाव राजस्व वृद्धिमा देखिएको हो । गत आवमा पाँच अर्ब ५७ करोड ५५ लाख राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।
कार्यालयले गत वर्ष छ अर्ब ३९ करोड ४७ लाख राजस्व उठाउने लक्ष्य राखेकामा लक्ष्यको ८७ दशमलव १९ प्रतिशत प्रगति भएको कार्यालय प्रमुख एवं प्रमुख कर अधिकृत शिव शर्माले जानकारी दिए । कार्यालयको अघिल्लो वर्षको तुलनामा सात प्रतिशतले राजस्व वृद्धि भएको छ ।कार्यालयले आव २०७९/८० मा रु पाँच अर्ब २२ करोड ६० लाख राजस्व उठाएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष ३४ करोड ९५ लाख बढी राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालय पोखराले गत आवमा आयकरतर्फ तीन अर्ब ६६ करोड ८७ लाख, मूल्यअभिवृद्धि कर(भ्याट)बाट एक अर्ब ७३ करोड ३६ लाख र अन्तःशुल्कतर्फ १६ करोड ६७ लाख आम्दानी गरेको थियो ।
कार्यालय प्रमुख शर्माले राजस्व सङ्कलनको लक्ष्य पूरा नभए पनि अघिल्लो वर्षको तुलनामा वृद्धि हुनु सकारात्मक भएको बताए । अर्थतन्त्र चलायमान नभइरहेको अवस्थामा राजस्व वृद्धि हुनु राम्रो भएको बताए।“पोखरामा राजस्व वृद्धिमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ । पर्यटन चलायमान बनेकाले सहयोग पुग्यो”, कार्यालय प्रमुख शर्माले भने
प्रकाशित समय : २०:४३ बजे



















