Nepalese Flag २०७८ कार्तिक ८ गते सोमबार   |   October 25, 2021

हिजो जान हतार, आज फर्किन हतार

डीआर आचार्य काठमाडौँ वैशाख १४, २०७७       

jeewan-bima-jaruri-chha हिजो जान हतार, आज फर्किन हतार

दोलखाकी संघीय सांसद शान्तिमाया तामाङ पाख्रिनले वैशाख ७ गतेको लामो कुराकानी क्रममा भनेकी थिइन्, 'मान्छेहरू गाउँ जानका लागि यति धेरै किन अतालिइरहेका छन् ? मैले बुझ्न सकेको छैन, थोरै कमाउने मान्छेले पनि एक महिनाजतिका लागि जोहो गरेकै हुन्छ, केही मानिसलाई तत्कालै राहत आवश्यक थियो, उनीहरूलाई लक्षित गरी वडा कार्यालयहरूले वितरण गरिरहेकै छन्, राहत नपाएको गुनासो आए हामीले पनि संयोजन गरिरहेकै छौँ, सरकारले मात्रै सबै गर्नुपर्छ भनेर बसेका छैनौँ, वास्तविकताभन्दा बढी कुरा बाहिर आइरहेजस्तो पनि लाग्छ हो भाइ मलाई त !' 'अहिले सामाजिक सञ्जाल अलि बढी नै स्वतन्त्र र क्रियाशील छ, उत्तेजित भएर लेख्ने, होच्याउने, बिगार्ने, बनाउने सबै गर्ने थलो भएको छ, यथार्थभन्दा बढी पनि बाहिरिन सक्छ दिदी तर लामो समयको लकडाउनले त धेरैलाई बिजोग बनाउने स्थिति छ है !' मैले भनेको थिएँ । 'लोकन्थलीमा लालाबालासहित अलपत्र परेका २१ जना'का विषयमा समाचार सम्प्रेषण गरेपछिको वार्तालाप थियो यो । सोही दिन बेलुका प्रधानमन्त्री केपी शर्मा आलीको भर्सन आयो, ‘धादिङबाट मान्छे आफ्नो घर जान निस्कन्छन् । एउटा कुरा, पत्रकारचाहिँ त्यहाँ कसरी पुगिसक्छ ? त्यहाँको प्रहरीलाई थाहा छैन, सिडिओलाई थाहा छैन । तर, मान्छे हुरुरु निस्केर गन्तव्यतिर लाग्दा पत्रकारलाई थाहा हुन्छ र काठमाडौँबाट क्यामेरा बोकेर पुग्या हुन्छ त्यहाँ । कसरी ? रहस्यपूर्ण छैन र !’ प्रधानमन्त्रीको पितुर्क्याइँयुक्त भर्सनप्रति मैले त्यसबेला खासै चासो राखिन । म पनि त्यस दिन अरु नै समाचार संकलनको सिलसिलामा घरबाट निस्किएको थिएँ । अरनिको राजमार्गनजिकै सडक फुटपाथमा लालाबालासहित मानिसहरू बसेको देखेपछि कारण सोधेँ । 'काठमाडौँमा राहत नपाएपछि ज्यान बचाउन दोलखा र रामेछाप हिँडेको' उनीहरूले बताएपछि फटाफट फोटो खिचेँ । जिरी नगरपालिका प्रमुख टंकबहादुर जिरेललाई फोन गरेँ । सुरूमा उनले गैरजिम्मेवार जवाफ दिए । अलि कडा कुरा गरेपछि 'प्रदेश सांसद विशाल खड्काले समन्वय गर्नुहुन्छ' भन्दै फोन राखे र नम्बर म्यासेज गरे । मैले सांसद खड्कालाई फोन गरेँ । 'मैले पनि केही गर्न सक्दिन, अस्पतालमा छु' भनेर पन्छिए । प्रधानसम्पादक दाजुलाई फोने गरेर समाचार टिपाएँ । फोटो पठाइदिएँ । बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईसँग कुरा गर्‍यौँ र दिउँसो २:२३ बजे समाचार प्रकाशित भयो । केही बेरपछि सांसद खड्काले 'भक्तपुर जगातीका प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई भनिसकेको छु, उहाँले दोलखा पुर्‍याउने व्यवस्था गर्नुहुन्छ' भन्दै कल ब्याक गरे । 'उहाँहरूलाई गठ्ठाघरमा खाना खाने व्यवस्था छ, भनिदिनुहोला' पनि भने । मैले सबैलाई भनेँ । सांसद खड्काको कुरा गराइबाट उनी स्वयं बिरामी रहेछन् भन्ने लागेको थियो । पछि बताए‑ अरु नै बिरामी भएर अस्पताल गएका रहेछन् । मैले यति धेरैतिर कुरा गरिरहँदा सुनिरहने ती २१ मध्येका केहीले भने, 'यो सबै तपाईंले गरेर भइरहेको छ, नत्र कसैले चासो राख्ने थिएनन्, हामीलाई विश्वास भइसक्यो, अब सकुशल घर पुग्नेछौँ ।' एउटा पत्रकार समाचारका लागि यति जिम्मेवार हुन्छ । समाचार प्रकाशित गर्नुअघि त्यसका अंग कसरी पूरा हुन्छ, त्यसप्रति सचेत रहन्छ । लाइसेन्स चेक गर्न सडकमा बसेका ट्राफिक प्रहरीले जसरी रक्सी पिएकालाई पनि छाड्दैनन्, त्यस्तै हुन्छन् पत्रकार । अरु नै समाचार संकलनका लागि जाँदै गरेका पत्रकारले बीचका घटना पनि टिपिहाल्छन्, अनलाइन र टेलिभिजनले तत्कालै प्रकाशन, प्रसारण गर्छन्, पत्रपत्रिकाले एक दिन लगाउँछन् । र, प्रधानमन्त्रीज्यू ! धादिङमात्र होइन, दार्चुला र कञ्चनपुर अनि ताप्लेजुङ र झापासम्मका समाचार टिप्न पत्रकार काठमाडौँदेखि जानु पर्दैन । त्यहीँ सम्बन्धित मिडिया हाउसका संवाददाता हुन्छन् । मेरो रिपोर्टिङ र प्रधानमन्त्रीको आक्रोश एकैदिन परेकाले जोड्न चाहेको मात्र हुँ । अरु धेरै पत्रकारको पनि अवश्य यस्ता सन्दर्भ मिलेका छन् । ००० त्यो समाचार टिपाएर म आफ्नो बाटो लागेँ । केहीछिनमै सांसद पाख्रिनबाट फोन आएको थियो । उनले आफैँ पनि जुटेर राहत वितरण गरिरहेको, राहतको पहल गरेको र खान नपाएकाहरुको उद्धार गरिरहेको बताइन् । कुराकानीका क्रममा उनले दोहोर्‍याइरहिन्, 'मानिस किन गाउँ जान खोजिरहेका छन् मैले बुझेको छैन ।' मैले भने, 'गाउँमा भए, कुटोकोदालो गरेर पनि खान पाइन्छ भन्ने होला नि !' 'अनौपचारिक है' भन्दै गरिएका कतिपय कुरा मैले यहाँ राख्न चाहिन । उनीबाट थाहा भयो‑ दोलखा जनप्रतिनिधिहरूले फेसबुकमा एउटा च्याट ग्रुप बनाएका रहेछन् । त्यहाँ सबै गतिविधि अपडेट गर्ने र समाधान खोज्ने पहल हुँदो रहेछ । वैशाख ७ गते पनि त्यही भयो । अलपत्र परेका मान्छेलाई बाहिरिन सहयोग गरेको खबर पाएपछि सोही साँझ मलाई एउटा कल आयो । 'सर ! तपाईंले बाहिरिन सहयोग गर्नुभा र'छ । यहाँ ४० जनाजति अफ्ठ्योमा परेका छन्, घर जान चाहन्छन्, लौ न सहयोग गर्नुपर्‍यो ।' 'तपाईं को बोल्नुभएको ?' म अमृत कार्की । घर जिरी नगरपालिका ४, दोलखा । 'म पनि खानबस्न त केही सहयोग गरिरहेको छु तर व्यक्तिगत तर्फबाट धेरै त कसरी धान्न सकिन्छ र !' उनी साँगा लहरीखर्क ग्रिन गार्डेन रिसोर्ट एन्ड पार्टी प्यालेसका सञ्चालक रहेछन् । 'हुन्छ, भोलि कुरा गरौँला' भन्दै मैले फोन राखेँ । पर्यटन व्यवसायी कार्कीलाई मैले बिहान फोन गरेँ । उनले त रातभरमा ती ४० जनालाई नै दोलखा पुर्‍याइसकेछन् । म छक्क परेँ । सोधेँ, 'कसरी ?' 'तपाईंकै आडमा पठाइयो नि बूढा,' उनी चिरपरिचितझैँ गफिए । लोकन्थलीमा अलपत्र पर्नेमा उनले चिनेका मान्छे पनि रहेछन्, उनीहरूसँगै कार्कीले मेरो नम्बर  लिएका रहेछन् । 'आड'को कारण यही रहेछ । उनले वृतान्त बताए र अब निरन्तर मान्छे बाहिरिने कुरा सुनाए । मलाई डर के थियो भने अहिलेसम्म रातिराति मान्छे गइरहेका थिए । सात दिन, १० दिन लगाएर झापादेखि कञ्चनपुरसम्म मान्छे हिँडेर गइरहेका थिए । तर, अब पुरै कोचिएर गाडीका गाडी मानिस गए भने सँगै कोरोना संक्रमण पनि जान सक्छ, गाउँमा कोरोना फैलिए स्थिति नियन्त्रणबाहिर जान सक्छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश कमिटीहरूले राहत तथा कोरोना नियन्त्रणका लागि नेता कार्यकर्ता परिचालन गर्ने 'निर्णय' लिएका थिए । नभन्दै वैशाख ९ गते बेलुका अर्घाखाँचीका प्रभावशाली नेता एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले कलंकीबाट बसका बस मान्छे गाउँ पठाए । जडिबुटी, लोकन्थली र कौशलटार चोक‑चोकमा सयौँ मानिस भेला गरेर पूर्वतिर लगियो । काठमाडौँ छाड्नेहरुको लर्को लाग्यो । रातारात मान्छे पठाउने कामले अहिले पनि निरन्तरता पाइरहेको छ । जानेहरूको तर्क थियो‑ काठमाडौँमा खान नपाएर मरिने भो, मर्नैपरे गाउँमै मरौँला । राहत नबाँडेको र मान्छेको बिजोग भइरहेको खबर कम हुँदै गएपछि सरकारलाई पनि हाइसञ्चो हुँदै गएको छ । धन्य ! अहिलेसम्म काठमाडौँबाट जानेहरुमा कोरोना संक्रमण देखिएका खबर आएका छैनन् । अनाहकमा काठमाडौँको यात्रा काठमाडौँमा मानिस बस्ने कारण धेरै छन् । अध्ययन र जागिरका सिलसिलामा काठमाडौँ बस्नेहरू छन् । हामीसँग यकिन तथ्यांक छैन तर तिनीहरूमध्ये ९९ प्रतिशत एक‑दुई महिनामै अफ्ठ्यारोमा परिहाल्दैनन् । अफ्ठ्यारोमा पर्ने त ती हुन्, जसको नियमित आम्दानी छैन, निर्माण र यातायात व्यवसायीले 'दैनिक हजार रुपैयाँ कमाउँछस्' भन्दै काठमाडौँ ल्याएका छन् । यस्ता मानिस काठमाडौँ उपत्यकासँग जोडिएका र नजिक रहेका बढी छन् । दोलखा, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, काभ्रेलगायत जिल्लाबाट ल्याइएका अधिकांश दैनिक ज्यालादारी काम गर्छन् । उच्च शिक्षा हासिल नगरेका उनीहरु अव्यवस्थित क्षेत्रमा काम गर्ने र वचत नगर्ने/गर्न नसक्ने स्थितिका छन् । काठमाडौँमा बस्ने ठाउँ छँदै छ भनेर बिनाकाम आउनेहरू पनि यहीँ आएर फस्ने गर्छन् । कतिपय यतैबाट विदेश पनि जान्छन्, कतिपय दलालको चंगुलमा फसेर चालक, सहचालक, ज्यामी बन्छन् । भक्तपुरको ठिमीमा मानव सेवा आश्रमले नियमित खाना खुवाइरहेका मान्छेहरू यस्तै थिए । वैशाख २ गते ठिमीमा भेटिएका सिन्धुपाल्चोकको साविक यमुना गाविसका ४८ वर्षीय डम्मर तामाङ, ओखलढुंगाको लिखु गाउँपालिकाका प्रकाश बस्नेतलगायत आफन्तको पछि लागेर काठमाडौँ आउँदा दुःख पाएको बताएका थिए । उनीहरू भन्थे, 'गाउँमा खान पुग्ने जग्गा हुँदाहुँदै बहकाउमा काठमाडौँ आएर बेकार दुःख पाइयो ।' उनीहरू दुवै ज्याला मजदुरी गर्छन् । राजधानी सहर काठमाडौँमा धेरै खालका मानिसको बसोबास छ । देशभरका ७४ जिल्लाका मानिस बस्न चाहने काठमाडौँ उपत्यकामा विविधता त हुनै नै भयो । कतिपय श्रीमान विदेश गएपछि वृद्ध सासूससुरासँग 'बस्न नसकेर' पनि काठमाडौँ आएका छन् । कतिपय बेसहारा भएर पनि काठमाडौँ आइपुगेका होलान् । अहिले फर्किन हतार काठमाडौँबाट नेता, जनप्रतिनिधि र समाजसेवीलाई भनेर गाउँ पुगेकाहरूलाई यतिखेर फर्किन हतार भइसकेको छ ।  उनीहरू कहिले लकडाउन खुल्ला र काठमाडौँ फर्किन पाइएला भनेर दिनदिनै यहाँ भएकाहरूलाई फोन गरिरहेका छन् । [caption id="attachment_152296" align="alignright" width="200"] अमृत कार्की[/caption] उनीहरूमध्ये धेरैलाई गाउँ जाँदा के‑के नै भइहाल्छ भन्ने थियो । श्रीमान विदेश गएपछि छोराछोरीसहित काठमाडौँ आएर बसेकाहरू अनि दिनभर फेसबुक र युट्युब चलाएर समय बिताउनेहरू गाउँ पुगेपछि आत्तिएका छन् । जिरीका कार्कीलाई नै दिनमा सय कलभन्दा बढी फोन आउँछ । 'के के नै होला भनेर आइहालियो, यहाँ त झन् बिजोग पो भो ! के गर्ने होला ! न नेट चलाउन पाइन्छ,' उनीहरूको भनाइ उद्धृत गर्दै कार्कीले भने । 'गाउँमा खेत बाँझै छ । अन्न पर्याप्त छैन । बूढाबूढीले फलाउनै कति सक्छन् । आफूलाई पुग्ने रोपेका, फलाएका छन् । ग्याँस सबै ठाउँमा छैन । दाउरा बाल्नुपर्‍यो । काठमाडौँमा बच्चाले दिक्क लगायो भने एउटा चाउचाउ दियो, फेसबुक चलाउन थाल्यो, गाउँमा सबैतिर त्यो सम्भव हुन्न, अलेलि काम नगरे बूढाबूढीका अगाडि झन् अफ्ठ्यारो, मैले त निकै गाह्रो पो देखेँ है,' उनले थपे, 'एक महिनादेखि लकडाउनका कारण कृषक बारीमा पनि निस्किएनन् । अन्न फल्न पनि त समय लाग्छ । तरकारी पनि रोपेपछि न फल्ने हो ।' मलाई सोचिरहेछु‑ मर्नैपरे गाउँमा मरौँला भन्दै जानेहरू एक साता पनि गाउँमा बाँच्न नसक्ने भएछन् । वृद्ध बाबुआमा वर्षौंदेखि कसरी बसिरहेका होलान् !

सम्बन्धित खबरहरु