गृहपृष्ठ शिक्षा समितिबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ पारित

शिक्षा समितिबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ पारित

शिक्षा समितिबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ पारित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक काठमाडौँ, ८ असोजः सिंहदरबारमा बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मस्यौदा प्रतिवेदनमाथि छलफल भएको थियो । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ लाई संशोधनसहित पारित गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित समितिको कक्षमा सभापति डा. ओजस्वी शेरचनको सभापतित्वमा बसेको बैठकले सांसदहरूले दिएका संशोधन र छलफलमा उठेका सुझावका आधारमा विधेयक पारित गरेको हो । समितिका सचिव दशरथ धमलाले पारित प्रतिवेदन अब प्रतिनिधिसभाको बैठकमा पेस गरिने जानकारी दिए ।

विधेयकले गम्भीर अपराधको न्याय निरूपणका लागि विश्वसनीय परीक्षण, अपराधको वर्गीकरण तथा प्रभावकारी अध्ययन–अनुसन्धानका लागि छुट्टाछुट्टै व्यवस्था गर्नेछ । पछिल्लो समय प्रविधिमा आधारित अपराध बढ्दै गएकाले जैविक तथा भौतिकसँगै डिजिटल अपराधको परीक्षण र अनुसन्धानलाई समेत विधेयकमा समेट्नुपर्नेमा सांसदहरूले जोड दिएका थिए ।

नमुना सङ्कलनपछि परीक्षणका लागि लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक जनशक्ति तथा प्रयोगशालाको उचित व्यवस्था कानुनमै सुनिश्चित गर्नुपर्ने सदस्यहरूको धारणा थियो । नेपालमा यस विषयसम्बन्धी जनशक्तिको अध्ययन तथा तालिमको पर्याप्त व्यवस्था नभएकाले प्रयोगशालामा काम गर्ने जनशक्तिको शैक्षिक योग्यता निर्धारण गर्ने विषयमा समितिमा सहमति भएको छ ।

छलफलका क्रममा समितिले नेपालमा विधि विज्ञानसम्बन्धी कति जनशक्ति कार्यरत छन् तथा अत्याधुनिक प्रयोगशाला सञ्चालनका लागि कति जनशक्ति र पूर्वाधार आवश्यक पर्छ भन्ने तथ्याङ्कसमेत माग गरेको थियो ।

विधेयकमाथि सांसद लीमा अधिकारी (आचार्य), अशोकुमार चौधरी र गोपाल शर्माले संशोधन दर्ता गराएका थिए । संशोधन तथा छलफलका क्रममा उठेका विषयमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले समितिलाई जवाफ दिएका थिए ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका अधिकारीहरूको समेत उपस्थिति थियो । राष्ट्रिय सभाको गत माघ २३ गतेको बैठकले पारित गरेको उक्त विधेयक प्रतिनिधिसभामा सन्देशसहित पठाइएको थियो ।

प्रकाशित समय : १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु