global ime bank Long Banner Ad

गृहपृष्ठ मुलुकको अर्थतन्त्र लयबाहिर जाँदा बैंक तथा वित्तीय क्षेत्रको खराब कर्जा अझै बढ्ने

मुलुकको अर्थतन्त्र लयबाहिर जाँदा बैंक तथा वित्तीय क्षेत्रको खराब कर्जा अझै बढ्ने

मुलुकको अर्थतन्त्र लयबाहिर जाँदा बैंक तथा वित्तीय क्षेत्रको खराब कर्जा अझै बढ्ने

मुलुकको अर्थतन्त्र लयबाहिर जाँदा बैंक तथा वित्तीय क्षेत्रको खराब कर्जा अझै बढ्ने जोखिम बढेको छ । अर्थतन्त्रलाई लयमा ल्याउन सरकार असफल हुँदा यसको असर बैंक तथा वित्तीय क्षेत्रमा पनि परेको हो । फलस्वरुप चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंक तथा वित्तीय क्षेत्रको खराब कर्जा अत्यधिक बढेको छ । खराब कर्जा अझै बढ्ने जानकारहरूले बताएका छन् भने सरोकारवाला पनि यसको चिन्तामा छन् ।

चालु आवको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूको औषतमा खराब कर्जा अनुपात साढे ३ प्रतिशत पुगेको छ । एउटा बैंकको खराब कर्जा अनुपात ५ प्रतिशत माथि छ भने आधा दर्जन बैंकको ५ प्रतिशत नजिक पुगेको छ । विकास बैंकहरूको पनि औषत खराब कर्जा अनुपात ६ प्रतिशतभन्दा माथि छ । वित्त संस्था र लघुवित्तहरूको खराब कर्जा अनुपात झनै माथि पुगेको छ । खराब कर्जा बढ्दा सबैको नाफा प्रभावित भएको छ ।

ऋण असुलीको क्रम नबढ्दा खराब कर्जा बढेर चिन्ता थपिएको हो । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा असुली हुन नसक्दा तेस्रो त्रैमासको वित्तीय विवरण निकै नकारात्मक देखिएको छ । अर्थतन्त्रमा आएको शिथिलताका कारण कर्जा असुली नभएको र अझै केही समय घट्ने सम्भावना नदेखिएको जानकारहरू बताउँछन् । पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीले अहिले अर्थतन्त्रको शिथिलताका कारण ऋणीले कर्जा तिर्न नसकेको र यो अवस्था अझै केही समय रहिरहने बताए । अहिले पनि खराब कर्जा बढेको भन्दै उनले यसले आगामी दिनमा बैंकहरूले कर्जा दिन सक्ने क्षमता थप घटाउने चिन्ता व्यक्त गरे । ‘अहिले त कर्जा नै माग नभएको अवस्था छ । तर, आगामी दिनमा कर्जा माग भयो भने पनि बैंकहरूले दिन नसक्ने अवस्था आउने देखियो,’ उनले भने ।

खराब कर्जा व्यवस्थापन गर्न नसक्दा सेयरधनीलाई लाभांश बाँड्न सक्ने क्षमतासमेत बैंक तथा वित्तीय संस्थाको घट्दो छ । अर्थतन्त्रमा आएको सुस्तता र सरकारले पुँजीगत खर्च बढाउन नसक्दा समस्या आएको क्षेत्रीले बताए । ‘कर्जा व्यवस्थापनको समाधान भनेको रिकभरी नै हो । अहिले नै यो निकै गाह्रो अवस्थामा छ,’ उनले भने । क्षेत्रीले अहिले राज्यले कुनै किसिमको सहुलियत वा छुट दिन सक्ने अवस्था नभएकाले खराब कर्जा अझै केही समय बढ्ने अनुमान गरे । उनले भने, ‘राज्यले खर्च बढाउँदै जाँदा विस्तारै सहज हुन सक्ने भए पनि खराब कर्जा कहिले घट्छ भन्ने अवस्था छैन ।’

सरकारले ऋण नै लिएर भए पनि विकास खर्च बढाउन सक्नुपर्नेमा उनको जोड छ । साथै सरकारले निजी क्षेत्रको मनोबल बढाउनेगरी काम गर्नुपर्ने उनले औंल्याए । खराब कर्जा उठाउनका लागि व्यवसाय राम्रो हुनुपर्ने र यसका लागि सरकारले मनोबल बढाउने काम गर्नुपर्नेमा उनको जोड छ । ‘जबसम्म व्यवसाय सुध्रँदैन, तबसम्म बैंकहरूको खराब कर्जा असुली हुने अवस्था आउँदैन,’ उनले भने ।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री खराब कर्जाको अवस्था बढ्दो क्रममा देखिँदा बैंक तथा वित्तीय संस्थालाई चिन्ता थपिएको बताउँछन् । सरकारको अवस्था नै कमजोर रहेकाले खराब कर्जाको अवस्था अझै केही समय बढ्ने उनको अनुमान छ ।

अर्थतन्त्र लयबाहिर जाँदा समग्र क्षेत्र प्रभावित भएको हो, जसको असर बैंक तथा वित्तीय क्षेत्रमा पनि देखिएको छ । सरकारले कुनै किसिमको सहुलियत दिएर अवस्था साम्य पार्न सक्ने अवस्था पनि नरहेको जानकारहरू बताउँछन् । पूर्वगभर्नर क्षेत्री सरकार आफैंले खर्च गर्ने रकम नपुगेको अवस्थामा अन्य क्षेत्रमा छुट दिने कल्पनासमेत गर्न नसकिने बताउँछन् ।

 

प्रकाशित समय : १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु