गृहपृष्ठ बालबालिका भुलाउने साधन बन्दै मोबाइल ,किन थपिदैछ चुनौती ?
बालबालिका भुलाउने साधन बन्दै मोबाइल ,किन थपिदैछ चुनौती ?
पछिल्लो समयमा बालबालिकाका लागि मोबाइल भुलाउने साधन मात्र नभई छाड्नै नसक्ने लत बन्दै गएको छ ।
सन्देश वा खबर आदनप्रदान गर्नकै लागि प्रयोगमा आएको मोबाइल बालबालिकाको लागि नराम्रो लत बन्दै गएपछि अभिभावकहरूको चिन्ता बढ्दै गएको छ ।
बालबालिकालाई खाना खुवाउनदेखि फकाईफुल्याई गर्न पनि मोबाइल नै देखाउनु पर्ने बाध्यता बन्दै गएको छ । हरेक अभिभावकका लागि बालबालिकाको मोबाइलप्रतिको आकर्षण चिन्ताको विषय बनेको छ । छुटाउनै नसक्ने लत मोबाइल बन्दा यसबाट बालबालिकाले ज्ञानबद्र्धक धेरै कुरा सिक्न सक्ने पनि विज्ञहरू बताउँछन् । तर कति समय मोबाइल प्रयोग गर्न दिने, कस्ता सामग्री हेर्न सुझाव दिने वा देखाउने लगायतका कुरामा अभिभावक स्वंयले ध्यान दिनुपर्ने जानकारहरू बताउँछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि मोबाइलको लतका कारण बालबालिकाको समग्र विकासमै नकारात्मक असर पर्ने र समस्या देखिने भन्दै पटकपटक सूचना नै जारी गरेर सचेत गराउने गरेको छ।
मानसिक समस्या :
अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई भुलाउनको लागि मोबाइल दिने गरेको पाइन्छ । आफू काम गर्नको लागि भए पनि बालबालिकाहरूलाई मोबाइल दिने अभिभावकहरू धेरै छन् । त्यसैले जति सानो उमेरमा, जति धेरै मोबाइल चलायो त्यति धेरै असर भइरहेको डाक्टरहरु बताउँछन् । निरन्तर मोबाइल हेरिरहँदा आँखाको दृष्टि गुम्न सक्ने, सानै उमेरमा चस्माको प्रयोग गर्नुपर्ने, राम्रोसँग हेर्न नसक्ने हुन सक्छ ।
आँखामा मात्रै होइन ब्रेनमा पनि असर पर्छ । बिस्तारै बालबालिकाको ब्रेनलाई सुस्त बनाइदिन्छ, जसले गर्दा बालबालिकाको अध्ययनमा समस्या देखिन्छ । यसरी धेरै मोबाइल हेर्ने बानी भएको बालबालिकामा डिप्रेशन पनि हुनसक्ने सम्भावना हुन्छ, बालबालिकाका आफ्ना सिर्जित गतिविधिहरू न्यून हुन्छन् जसका कारण दिमाग तेजिलो हुन पाउन्न यस्ता थुप्रै समस्याहरू देखा पर्छन् ।
धेरै मोबाइल प्रयोगले साना बालबालिकाहरूलाई मात्र होइन ठुला उमेर समूहका बालबालिकाहरूलाई पनि समस्या देखिने गर्छ । मोबाइलले गर्दा एक्लै बस्ने, आफ्नो परिवारको सदस्यसँग कुरा नगर्ने, एकोहोरो सोचको हुने जस्ता समस्याहरू लामो समयसम्म देखिन सक्छन् । बालबालिकाहरू प्राय एक्लै बस्न चाहने सामाजिक हुन नचाहनु पनि समस्या हो ।
शारीरिक समस्या:
बालबालिकाले सबै कुरा आफूले प्रत्यक्ष रूपमा गरेर अथवा आफू भन्दा ठुला व्यक्तिहसँग सिक्दै जाने हो । बालबालिकाको उमेर भनेको शारीरिक र सामाजिक रूपमा पनि विकास हुनुपर्ने समय हो । तर यस्तो महत्त्वपूर्ण समयमा बालबालिकाले मोबाइलको प्रयोग धेरै गर्ने हो भने धेरै कुरामा समस्या देखिन्छ । बालबालिकालाई मोबाइल खेल्न दिएपछि बोल्न जरुरी हुँदैन जसले गर्दा बालबालिकामा बोलीको विकास हुन पाउदैन् ।
हिँडाइमा समस्या हुन्छ । बालबालिकाको उमेर अनुसार विकास हुनुपर्ने हो त्यति भएको पाइँदैन । मोबाइल दिएका बालबालिका एकै ठाउँमा बसेर हेरिरहेका हुन्छन् जुन कुराले गर्दा बालबालिका हिँड्नु पर्ने समयमा हिँड्न सक्दैनन् ।
एकै ठाउँमा बसेर मोबाइल हेरेर खाना खाँदा उमेर अनुसारको तौल बढी हुने अथवा कम हुने,मोटोपनको सिकार हुने, बालबालिकाहरू सामाजिक बन्न नसक्नु, समयमा खाना नखाइदिने हुँदा बालबालिकाहरू शारीरिक रूपमा दुब्लो हुने सम्भावना पनि हुन्छ । जुन गतिमा बालबालिकाको विकास हुनु पर्ने हो त्यही गतिमा भएको पाईदैन् ।
प्रकाशित समय : १६:५२ बजे



















