global ime bank Long Banner Ad

गृहपृष्ठ बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार

बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार

बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार

राँझा(बाँके) बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरवास ९होमस्टे० मा आउने पाहुनालाई स्थानीय क्षेत्रमा उत्पादन भएका स्वादिला खानेकुराले स्वागत गर्ने गरिएको छ

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका गाभर भ्याली, खड्कवार सामुदायिक घरवास (होमस्टे) र राप्तीसोनारीको नयाँगाउँमा रहेका घरवासमा स्थानीय उत्पादन प्रवर्द्धनको लागि पाहुनालाई ढिक्री, घोँगी, सिद्राको अचार खुवाएर स्वागत गर्ने गरिएको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले
जानकारी दिए ।

गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ । यहाँबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ । थारू र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली घरवासमा दैनिक करिब ५०० आन्तरिक पर्यटक आउने गरेका छन् ।

यहाँ पाहुनालाई बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारी र जङ्गल सफारीको व्यवस्था छ । यहाँ आउने पाहुनाहरु स्थानीय उत्पादनसँगै प्राकृतिक दृश्यावलोकनमा आकर्षित हुने गरेको च्यामा घरवासका सञ्चालक गणेश दहितले बताउनुभयो ।

बाँके निकुञ्ज घुम्न आउने पर्यटक अहिले घरवासमा उपलब्ध हुने विभिन्न उत्पादनबाट तयार हुने खानेकुरा खान आर्कषित भएका नयाँगाउँ ७ नम्बर घरवास सञ्चालक शोभा थारूले बताए । यहाँ आएका पाहुनालाई स्थानीय जातका कुखुरा, ढिक्री, घोँगीलगायतका परिकारले सत्कार गर्ने गरिएको छ ।

नेपालगञ्जबाट करिब २५ किलोमिटरको दूरीमा रहेको नयाँगाउँ होमस्टे २०७२ सालमा सञ्चालनमा आएको हो । सुरुमा सात घरमा सञ्चालन गरिएको घरवास अहिले १३ घरमा सुरु भइसकेको छ ।

घरवास नजिकै वनस्पति उद्यान, ढकेरी वनभोजस्थल र बाँके राष्ट्रिय निकुञ्जको हात्तिसार रहेकोले आन्तरिक पर्यटकको चहलपहल हुनेगरेको नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारुले बताए ।

बाँकेका पाँच सामुदायिक घरवासमा ५० घरपरिवार आबद्ध छन् । २०७० सालमा सुरु भएको बाँकेको पहिलो गाभर भ्याली सामुदायिक अहिले नेपालकै नमूना घरवासका रुपमा चिनिन्छ ।

प्रकाशित समय : १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु