गृहपृष्ठ इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा सैन्य अभियान सुरु

इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा सैन्य अभियान सुरु

इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा सैन्य अभियान सुरु
इजराइली सेनाले गाजाको अल–शिफा अस्पतालको सीमित क्षेत्रभित्र लक्षित अभियान सुरु गरेको छ । गुप्तचर जानकारीलाई उद्धृत गर्दै सेनाले इजराइलविरुद्धको हमलाको समन्वयका लागि सुविधा उपयोग गर्ने वरिष्ठ हमास कार्यकर्ताहरू उक्त अस्पतालमा रहेको सङ्केत दिएको छ ।
इजराइल रक्षा बल (आइडिएफ) का प्रवक्ता आरएडिएम हगारीले अभियान ठोस गुप्तचरको जानकारीको प्रतिक्रिया भएको सोमबार बिहान बताए । उनले अभियानको उद्देश्य सर्वसाधारणलाई नोक्सान पुर्याउनुको सट्टा हमास लडाकूहरूसँग लड्नु रहेकामा जोड दिए ।
“हमासका वरिष्ठ लडाकूहरू अल–शिफा अस्पतालभित्र पुनः भेला भएका छन् र अस्पतालको प्रयोग इजराइलविरुद्ध हमला गर्नका लागि भइरहेको छ भन्ने हामीलाई थाहा छ”, उनले भने।
उनले नागरिकको हताहती कम गर्नका लागि सटीकता र सावधानीका साथ कारवाही गरिने बताए । आइडिएफले अस्पताल परिसरमा बिरामीको सहायताका लागि अरबी भाषा बोल्नेहरू र चिकित्साकर्मीहरू परिचालन गरेको छ र नागरिकहरूलाई मानवीय सहायता प्रदान गरिरहेको छ ।
“बिरामी र चिकित्साकर्मीहरूका लागि अस्पताल खाली गर्नुपर्ने कुनै बाध्यता नभए पनि त्यहाँबाट निस्कन इच्छुक नागरिकहरूका लागि एउटा मार्ग उपलब्ध छ”, उनले भने ।
हगारीले हमासका लडाकूहरूलाई आत्मसमर्पण गर्न आग्रह गरे । आतङ्कवादी गतिविधिका लागि चिकित्सा सुविधालाई कहिले पनि प्रयोग गर्न नहुने बताए ।
यसैबीच अल जजिराका अनुसार गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जारी इजराइली कारवाही सम्बन्धमा विज्ञप्तिमा भनेको छ, “हामी अल–शिफा मेडिकल कम्प्लेक्सभित्र मेडिकल स्टाफ, बिरामी र विस्थापित मानिसको जीवनका लागि इजराइली कब्जालाई जिम्मेबार मान्छौँ ।”
“कब्जा गर्ने शक्तिले जे गरिरहेको छ, त्यो अन्तर्राष्ट्रिय मानवीय कानूनको घोर उल्लङ्घन हो, इजराइली कब्जाले अझै पनि विश्वलाई धोका दिन र अल–शिफा मेडिकल कम्प्लेक्समा हमलालाई सही ठहर गर्न आफ्नो बनावटी कथाहरू प्रयोग गरिरहेको छ”, विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय : १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु