गृहपृष्ठ कालिका मन्दिरमा फागुनमा ३५ लाख भेटी सङ्कलन
कालिका मन्दिरमा फागुनमा ३५ लाख भेटी सङ्कलन
नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा गत फागुनमा ३५ लाख भेटी सङ्कलन भएको छ । मन्दिर व्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्दै आएको छ ।
कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले फागुनमा ३५ लाख ११ हजार पाँच सय ३५ भेटी सङ्कलन भएको बताए । जसमध्ये नगद, सहयोग रसिद र बिक्री गर्न मिल्ने जिन्सी सामान र वस्तुबापत उक्त रकम सङ्कलन भएको हो ।
फागुनमा कालिका मन्दिरबाट भेटीबापत नगद १९ लाख ८१ हजार एक सय, चामल बिक्रीबाट ५४ हजार नौ सय, बोकाबाट एक लाख ३० हजार छ सय, कुखुराबाट सात हजार दुई सय प्राप्त भएको छ । साथै राँगाबाट दुई हजार, भाडा रु तीन लाख १४ हजार चार सय, विवाहबाट १० हजार पाँच सय आर्थिक सहयोग तीन लाख ४२ हजार चार सय ८५, परेवा बिक्रीबाट छ लाख ५५ हजार दुई सय ५०, व्रतबन्ध नौ सय, पण्डितबाट १२ हजार दुई सय सङ्कलन भएको कोषाध्यक्ष रामबहादुर खड्काले बताए ।
यस्तै फागुनमा २७ लाख ३६ हजार आठ सय ९० खर्च भएको छ । फागुनमा रु सात लाख ७४ हजार छ सय ४५ बचत भएको समितिले जनाएको छ । यस्तै तलब रु तीन लाख ९७ हजार आठ सय, विद्युत् महसुल रु ५२ हजार आठ सय, अतिथि सत्कारमा रु ६७ हजार खर्च भएको छ । साथै आर्थिक सहयोग रु १५ हजार, पूर्वाधार विकास तथा निर्माणमा रु २१ लाख छ हजार, पोशाक तथा छपाइमा रु २१ हजार, खाद्यान्न तथा आवासमा रु ५४ हजार, विज्ञापनमा रु तीन हजार र सांस्कृतिक कार्यक्रम तथा भजनमा रु १६ हजार नौ सय खर्च भएको समितिको भनाइ छ । सङ्कलन भएको भेटी मन्दिर परिसरमा पूर्वाधार निर्माणमा खर्च हुने गरेको छ ।
समितिले हरेक वर्ष चैत्राष्टमी पर्वको अवसरमा ऐतिहासिक चैते दसैौ मेला आयोजना गर्दै आएको छ । यसपटक यहीँ चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म मेला सञ्चालन हुन लागेको समितिका अध्यक्ष कुमार खड्काले बताए ।
प्रकाशित समय : १५:११ बजे



















