गृहपृष्ठ लघुवित्त पीडितलाई विनासर्त रिहाई गर्न सरकारसँग एमालेको माग
लघुवित्त पीडितलाई विनासर्त रिहाई गर्न सरकारसँग एमालेको माग
नेकपा एमालेले संसद् भवन प्रवेश गरेर आन्दोलन गर्ने मिटरव्याज–लघुवित्त पीडितहरुलाई विनासर्त रिहाई गर्न सरकारसँग माग गरेको छ ।
बुधबार एमाले संसदीय दलले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग छलफल गर्दै सरकारको सुरक्षाकमजोरीका कारण मिटरव्याज–लघुवित्त पीडितहरु संसद भवन प्रवेश गरको भन्दै उनीहरुलाई विनासर्त रिहाई गर्दै मुद्दा नचलाउन माग गरेको हो ।
४८ जना महिला र एक जना पुरुष आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरि मुद्दा चलाउने तयारी गरेको छ ।
त्यस्तै, एमालेले सुरक्षा कमजोरी गर्नेलाई कारवाही गर्न माग गरेको छ भने मिटरव्याज–लघुवित्त पीडितको माग सम्बोधन गर्ने सुनिश्चितता गर्न समेत माग गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।
त्यस्तै बानेश्वर र सिंहदरबार वरिपरि फुथपातमा सर्वसाधारणलाई हिड्न समेत रोक लगाएर तारवार लगाएको भन्दै यस्तो काम बन्द गर्न माग गरेको उनले बताए ।
जवाफमा गृहमन्त्रीले मिटरव्याज–लघुवित्त पीडितहरुको विनासर्त रिहाई र मुद्दा नचलाउने गरि सहजीकरण गर्ने र मिटरव्याज–लघुवित्त पिडितको माग सम्बोधन हुने गरि वार्तामा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएको बर्तौलाले बताए ।
प्रकाशित समय : १८:३८ बजे


















