global ime bank Long Banner Ad

गृहपृष्ठ सर्लाहीका उखु किसानले पाए एक वर्षपछि अनुदानबापतको रकम

सर्लाहीका उखु किसानले पाए एक वर्षपछि अनुदानबापतको रकम

सर्लाहीका उखु किसानले पाए एक वर्षपछि अनुदानबापतको रकम

सर्लाहीका उखु उत्पादक किसानले एक वर्षपछि अनुदानबापतको रकम प्राप्त गरेका छन्। जिल्लाका उखु उत्पादक किसानको खातामा अनुदानबापतको रकम प्राप्त भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए।

जिल्लाका उखु उत्पादक किसानले पटकरपटक आन्दोलन गरेपछि सरकारले अनुदानवापतको २९ करोड २५ लाख ५२ हजार ७ सय ४९ रुपैयाँ खातामा पठाएको मिलगेट उखु उत्पादक किसान समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीको भनाइ छ। उनका अनुसार गत वर्ष उखुको मूल्य प्रति क्‍विन्टल अनुदानसहित ६ सय १० रुपैयाँ निर्धारण गरिएको थियो। जसमा ५ सय ४० रुपैयाँ चिनी मिल र ७० रुपैयाँ सरकारले उपलब्ध गराउने निर्णय भएको थियो।

जिल्लाका उखु उत्पादक किसानका लागि वितरण गर्न बाँकी २९ करोड २५ लाख ५२ हजार ७ सय ४९ रुपैयाँमध्ये सरकारले दसैँअघि ११ करोड २६ हजार ६ सय ३८ रुपैयाँ निकासा गरेको थियो। बाँकी अनुदान रकम सरकारले पठाएपछि उखु उत्पादक किसानको बक्यौता रहेको प्रति क्‍विन्टल ४९ रुपैयाँका दरले किसानको खातामा पठाइएको कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख एवं कोष नियन्त्रक निर्मल न्यौपानेले जानकारी दिए। उनले किसानलाई अनुदान रकम खातामा आएको वा नआएको बुझ्न आग्रह समेत गरिएको बताए।

सरकारले यस वर्षका लागि उखुको मूल्य प्रति क्‍विन्टल ६ सय ३५ रुपैयाँ निर्धारण गरेको छ। चिनी उद्योगीले प्रति क्‍विन्टल ५ सय ६५ रुपैयाँ र सरकारले ७० रुपैयाा गरी प्रति क्‍विन्टल ६ सय ३५ रुपैयाँ उखु उत्पादक किसानलाई उपलब्ध गराउने निर्णय हो। यस वर्ष मधेश प्रदेश सरकारले प्रति क्‍विन्टल १० रुपैयाँ अनुदान दिने घोषणा गरिसकेको छ।

प्रकाशित समय : १४:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु