गृहपृष्ठ केएमसीका चिकित्सक सडकमा बसेर आन्दोलन गर्दै
केएमसीका चिकित्सक सडकमा बसेर आन्दोलन गर्दै
नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सञ्चालक रहेको काठमाडौं मेडिकल कलेज (केएमसी) ले डा. विशद दाहाललाई तेस्रो दिन पनि छिर्न निषेध गरेको छ।
उक्त प्रकरणमा काठमाडौँ विश्वविद्यालयले हस्तक्षेप गरेर डा. दाहालको निलम्बन फिर्ता गर्ने गरी मंगलबार हस्तक्षेप गरेको थियो।
तर, निलम्बन फिर्ताको तेस्रो दिन पनि केएमसीले डा. दाहाललाई कलेजमा अध्ययनका लागि छिर्न निषेध गरेको हो।
बिहीबार कलेजमा अध्ययनका लागि पुगेका उनलाई छिर्न नदिएपछि त्यहाँ तैनाथ सुरक्षाकर्मीसँग मेडिकल विद्यार्थीहरूको झडप भएको छ।
सुरक्षागार्डहरूसँग सामान्य झडप भएपछि विद्यार्थीहरूले सडकमै बसेर आन्दोलन गरिरहेका छन्।
‘हामीलाई आज पनि छिर्न दिएनन्। सुरक्षाकर्मीले सडकमा पुर्याएपछि हामी त्यहीँ बसेर आन्दोलन गरिरहेका छौँ’, दाहालले भने, ‘केयूको निर्देशन लत्याएर आज पनि छिर्न नदिएपछि सडकमै आन्दोलन गरिरहेका छौँ।’
दाहालको निलम्बन फिर्ता गर्न निर्देशनसहित काठमाडौं विश्वविद्यालयले सिनामंगलस्थित केएमसी कलेज प्रशासनलाई मंगलबार पत्र पठाएको थियो।
तर केयूको निर्देशन लत्याउँदै केएमसी सञ्चालक शर्माले दाहाललाई कुनै हालतमा कलेजमा छिर्न नदिने अडान लिएका छन्। अब दाहाललाई आफूहरूले केयूमै पठाइदिने उनले बताएका छन्।
केएमसी कलेजमा एमडी, इन्टरनल मेडिसिनको दोस्रो वर्षमा अध्ययनरत डा। दाहाललाई निलम्बन गरिएकोबारे चिकित्सा शिक्षा आयोगको पनि पत्र प्राप्त भएको भन्दै केयूले मंगलबार तीन बुँदामा जवाफ मागेको थियो।
प्रकाशित समय : १४:०४ बजे



















