काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उत्पादन घटेपछि भारतबाट ल्याउन थालियो बिजुली

5.12K
shares

नेपाल विद्युत् प्राधिकरणले ७ महिनामा १५ अर्ब २३ करोड ८० लाख रुपैयाँको १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् भारत निर्यात गरेको छ ।

देशभित्र खपत गरी बचत भएको बर्खार्यामको विद्युत् गत २८ जेठबाट प्राधिकरणले भारतीय बजारमा बिक्री सुरु गरेको थियो । जेठदेखि मंसिर २० सम्म दैनिक अधिकतम ७ सय मेगावाटसम्म विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ । निर्यात गरिएको विद्युत्क औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ । चालु आर्थिक वर्ष ०८०-८१ को साउनदेखि २० मंसिरसम्म १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ ।

यस अवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको थियो । निर्यात गरिएको बिजुलीको औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ । सबैभन्दा बढी मूल्यमा भने गत भदौमा विद्युत् बिक्री गरिएको छ । प्राधिकरणको तथ्यांकअनुसार उक्त महिनामा प्रतियुनिट ११ रुपैयाँ ९७ पैसाका दरले विद्युत् बिक्री भएको हो ।भदौमा ३ अर्ब ४७ करोड ८५ लाख रुपैयाँको बिजुली निर्यात गरिएको थियो । असोजमा सबैभन्दा बढी ४ अर्ब १७ करोड ७७ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ । तर अहिले सुक्खायाम सुरु भएसँगै खोला तथा नदीमा पानीको बहाव घटेको छ ।

जसका कारण जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन घट्न थालेको छ । जाडो बढेसँगै आन्तरिक माग वृद्धि भएपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भइसकेको छ ।अहिले दैनिक विद्युत्को अधिकतम माग १ हजार ७ सय मेगावाट हाराहारी रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘अहिले विद्युत् उत्पादन र माग करिब करिब बराबर छ, हाम्रा अर्धजलाशययुक्त विद्युत् गृहमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक आवरमा चलाइरहेका छौं,’ घिसिङले भने, ‘पिक आवरमा आयात गर्दा विद्युत्को दर महँगो पर्छ ।
दिउँसो र रातिको दर सस्तो पर्छ । त्यसैले देशभित्रका अर्धजलाशययुक्त आयोजनामा दिउँसो र राति पानी जम्मा गरी उक्त समयमा सस्तो दरमा पाइने भएकाले थोरै परिमाणमा आयात सुरु गरिएको हो ।’