चार दिन पछि बजारमा आलुको कारोबार शुरु: प्याज भने अभाव
वि.सं.२०८० मंसिर २३ शनिवार ०८:३८
shares

आन्तरिक राजस्व विभागले स्वदेशी आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने जनाएपछि बजारमा कारोबार शुरु भएको छ ।
कारोबार ठप्प भएको चार दिन पछि आलु प्याजको खरिद-बिक्री शुरु भएको हो । हिजो आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज र स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने सूचना निकालेको थियो । यो सूचना आएपछि आजदेखि कारोबार खुलाइएको आलु-प्याज आयात-निर्यात तथा थोक बिक्रेता सङ्घका महासचिव प्रकाश गजुरेलले जानकारी दिए । उनका अनुसार अहिले काठमाडौंको बजारमा एक सय टन आलुको माग छ ।
तर, चार दिन पछि आज बजार खुलेकाले माग अनुसारको आलु भित्रिएको छैन । आज ६० देखि ७० टन आलुको कारोबार हुने अनुमान छ । आलुको सिजन भएकाले भोलिदेखि माग अनुसारकै कारोबार हुने अनुमान छ । बजारमा प्याजको भने अभाव छ । नेपालमै उत्पादन हुने अनुकुल वातावरण भए पनि प्याजका लागि भारतकै भर पर्नु पर्ने अवस्था छ ।
भारतले बेलाबेलामा प्रतिबन्ध लगाउँदा माग र आपूर्तिको फाइदा उठाउँदै बिचौलियाले चलखेल गर्ने गरेका छन् । यसले गर्दा बजारमा प्याज महँगो छ । प्याज उत्पादन बढाउन सरकारले ०६४ सालदेखि ०६९ सालसम्म सिरहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा र रूपन्देहीमा प्याज मिसन कार्यक्रम सञ्चालन गरेको थियो । तर, प्याज खेतीको क्षेत्रफल र उत्पादन बढ्न सकेको छैन ।

























