अर्थतन्त्रका आन्तरिक र बाह्य क्षेत्र सकारात्मक छन् : गभर्नर अधिकारी
वि.सं.२०८० कात्तिक २३ बिहीवार १३:४१
shares

अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्कम अवस्थामा रहेको राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । गभर्नर अधिकारीले बिहीबार काठमाडौंमा आयोजित ३९ औं एशियन बैंकर्स एशोसिएशनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
गभर्नर अधिकारीले विभिन्न समयमा आएका असहज अवस्थालाई चिर्दै नेपाली अर्थतन्त्र अघि बढेको बताएका हुन् । ‘सन् २००८ मा विश्व अर्थतन्त्रमा देखिएको संकट असर, कोभिड–१९, रुस–युक्रेन युद्ध जस्ता दुई ठूला अन्तर्राष्ट्रिय समस्या र नेपालमा पटक–पटक आएको भूकम्पले पारेको असर समेत सामना गर्दै नेपाली अर्थतन्त्र अघि बढेको छ,’ उनले भने ।
कोभिड–१९ महामारीले बैंकिङ क्षेत्र लगायत उद्योग व्यवसायमा परेको प्रभावले केही व्यवसाय बन्द हुँदा समेत बैंकिङ क्षेत्रको सहयोग र राष्ट्र बैंकको नीतिको कारण अर्थतन्त्र लयमा आउन सफल भएको उनको दाबी थियो । वित्तीय क्षेत्र र नेपाल राष्ट्र बैंकको सहयकार्यमा कारोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र रिकभर गर्न सफल भएको गभर्नर अधिकारीको भनाइ थियो ।
उनले नेपाली बैंकहरुले इकोनोमी रिकभरीमा प्रशंसनीय काम गरेको समेत बताए । बैंकिङ क्षेत्रले पुँजी निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै दक्षिण एशियामा वित्तीय पहुँच बढ्दै गएको पनि उनको भनाइ छ ।

























