‘अवैध आयातलाई रोक्न सकियो भने फूलमा आत्मनिर्भर बन्न सकिन्छ’
वि.सं.२०८० कात्तिक २३ बिहीवार १२:३२
shares

फूलै फूलको चार्ड तिहार आउनका लागि अब धेरै समय बाँकी छैन । तिहार दाजु भाइ र दिदी बैनिहरुको सदभावना बढाउने चार्डका रुपमा रहने तिहारका लागि आवश्यक पर्ने फूलमा नेपालको अवस्था के छ ? नेपाल फूलमा आत्मनिभर हुन किन सकेन ? यसै विषयमा फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मिन बहादुर तामाङ गरेको कुराकानीको सम्पादित अंश :
नेपालमा फूल खेतीको अवस्था के छ ?
नेपालमा पछिल्लो समय फूल खेती गर्ने किसानको संख्यामा वृद्धि भएको छ । नेपाल सरकारले अघिल्लो वर्ष फूलको आयातमा प्रतिबन्ध लगाए पछि सयपत्री फूलको खेती गर्नेहरु निकै बढेका छन् । यो वर्ष सयपत्री फूलको खेती व्यापक रुपमा विस्तार भएको छ ।
हामीले बजारको मागको ८० प्रतिशत स्वदेशी फूलले धानेको अवस्था छ । बाँकी मालाका लागि हामीले भारतबाट ल्याउनु पर्ने हुन्छ । त्यसका लागि प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ । आयात अनुमति पत्र जारी गर्ने निकाय भनेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हो । केन्द्रले आयात अनुमति पत्र जारी गर्ने गरेको छ । त्यस पछि छुट पुर्जी पनि दिने । स्वस्थताको पनि चेकजाँच गर्ने काम उहाँहरुले गर्नु हुन्छ ।
तर यो वर्ष आयात अनुमति पत्र अलि धेरै जारी भएको पाइएको छ । अनि यसमा हामीले विरोध गरेका छौँ । कृषि मन्त्रालय देखि विभिन्न निकायमा हामीले यस विषयमा ध्यानाकर्षण गराएका छौँ । जसले गर्दा आयात अनुमति पत्र जारी भएका सबै हिजोदेखि सस्पेन्ट भएको अवस्था छ । त्यो भयो भने हाम्रो नेपाली मालाले राम्रै बजार पाउँछ । २० प्रतिशत मात्रै आयात हुनु पर्ने हो । तर अलि धेरै आयात भएको हो कि भन्ने अनुमान गरिएको छ । यसमा राज्यले कडाइ गरेर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने काम पनि गर्नु पर्छ ।
फूलमा आत्मनिर्भर हुन नसक्नुको कारण के हो ?
सतप्रतिशत आत्मनिर्भर बन्नका लागि एक दुई वटा पक्षहरु छन् । जसलाई व्यवस्थापन गर्न सकेको खण्डमा हामीहरु पूर्ण रुपमा आत्मनिर्भर बन्न सक्छौँ । एउटा सयपत्रीको विरुवाले लगातार तीन महिनासम्म उत्पादन दिन्छ । हाम्रोमा तिहार ५ दिनका लागि मात्रै हो । तिहारको समयमा धेरै माग हुन्छ । अरु २ महिना २५ दिन चाँही हाम्रो बजार सानो भएकाले त्यसको बिक्री गर्नका लागि समस्या हुन्छ । हामीले विदेशमा निर्यात गर्नका लागि पनि सक्ने अवस्था छैन । किन भने हाम्रो उत्पादन लागत धेरै भएकाले हामीले त्यो गर्न सक्दैनौँ ।
यसरी हेर्दा २ महिना २५ दिनको फूल खपत नहुने र पाँच दिन मात्रै खपत हुने भएपछि किसान मर्कामा पर्ने अवस्था आउने भयो । त्यो अवस्था भएका हामीले तिहारका लागि मात्रै भनेर फूल फुलाउन सक्ने अवस्था छैन । जसले गर्दा हरेक वर्ष भारतबाट आयात गर्नु पर्ने अवस्था आइरहेको छ ।
यसलाई सहज बनाउनका लागि बजार विस्तार गर्नु पर्ने हुन्छ । खुल्ला नाका खुला भएकाले पनि अवैध रुपमा फूल आउने भएकाले पनि हामीलाई समस्या भइरहेको छ । नाकाहरुमा कडाइ गरिएको खण्डमा पनि केही मात्रामा सहज हुने देखिन्छ ।
तिहारको पाँचदिन पछि त्यति डिमान्ड हुने अवस्था पनि छैन । जस्तो चिसोको समयमा हाम्रोमा कम फूल फूल्ने भएकाले भ्यालेन्टाइन डेको अवसरमा त हामीले ८० प्रतिशत गुलाबको फूल आयात गर्नु पर्ने वाध्यता रहेको छ । हाम्रो मौसमले साथ नदिने र प्रविधिको प्रयोग गर्न पनि नसकिएकाले गुलाबको फूलका लागि हामी भारतमा नै आत्म निर्भर बन्न परेको छ ।
अर्को पक्ष भनेको हाम्रा भन्सार नाकाहरु १७१ वटा छन् । तर प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको चेकपोष्ट जम्मा १५ वटा नाकामा मात्रै रहेको छ । जसले गर्दा भारतबाट अवैध रुपमा पनि फूल आइरको अवस्था छ । त्यो अवैध रुपमा आउने फूललाई पूर्ण रुपमा बन्द नगरेसम्म हामी आत्मनिर्भर बन्न सक्दैनौँ ।
कुनकुन देशबाट आयात गर्नु पर्ने अवस्था छ ?
हामी सयपत्रीको हकमा भारतबाट मात्रै आयात हुन्छ । गुलाब पनि हामी भारतबाट मात्रै आयात गछौँ । अन्य विउविजनको हकमा हामीले युरोप अमेरिका, जापानबाट पनि आयात गर्ने गरेका छौँ । हाइब्रिट विउमा हामी पुरै रुपमा पर निर्भर नै छौँ ।
प्लान्टको विषयमा पनि हाम्रोमा अध्ययन अनुसन्धानको निकै कमी छ । एउटा कुनै प्लान्टलाई बजारमा ल्याउनु परो भने हामीलाई त्यसको अध्ययन गर्नका लागि नै ४ देखि ५ वर्ष लाग्ने अवस्था छ । हाम्रोमा यी सबै विषयमा लगानी नभएकाले बाहिरबाट नै आयात गरेर धान्नु पर्ने अवस्था छ ।
फूलको माग वार्षिक रुपमा कति हुन्छ ? तिहारको समयमा कति माग हुन्छ ?
समग्रमा भन्दा हामी ९० प्रतिशत आत्मनिर्भर रहेका छौँ । तिहारको समयको कुरा गर्दा अन्य समयको भन्दा केही धेरै आयात गर्नु पर्ने अवस्था रहेको छ । गत वर्ष फूलको कारोबार भएको वैध तथ्यांक भनेको ३ अर्ब ७ करोडको हो । त्यसमा ३३ करोड बराबरको फूल आयात भएको तथ्यांक छ । त्यस्तै हामीले गत वर्ष ६७ लाख रुपैयाँ बराबरको फूल निर्यात गरेका छौँ ।
हामी निर्यातमा पछिल्लो समय निकै कमजोर बनेका छौँ । आजभन्दा १५ वर्ष पहिलो हामीले १९ करोड रुपैयाँको फूल निर्यात गरेका थियौँ । कोभिडभन्दा अगाडीसम्म पनि ३ करोडको निर्यात भएको थियो । त्यसपछि भने निकै कम मात्रामा मात्रै निर्यात भइरहेको छ । त्यो समयमा माउ बोटहरु मरेर गए । अर्को तर्फ नयाँ लगानी पनि भएन जसले गर्दा त्यसको प्रभाव निर्यातमा पर्न गयो ।
तिहारको समयमा हामीलाई करिब ४० लाख माला खपत हुने हाम्रो अनुमान छ । यो कारोबार हुने क्षेत्रको हो । गाउँघरका आफैले बनाएर प्रयोग गरिने मालाहरु यसमा आउँदैनन् । खाली वैध रुपमा किनबेच हुने मालाहरु मात्रै यसमा आउने भए । त्यसमध्ये ३५ लाख सयपत्रीको माला, गोदावरीको माला २० हजारको हाराहारीमा र मिक्स माला ३० हजार हाराहारी र मखमलीको माला ४ लाख ५० हजार हाराहारीको माला खपत हुन्छ । त्यो मध्ये हामीसँग ८० प्रतिशत नेपाली उत्पादनले धान्छ ।
हामी मखमली, गोदावरी फूलको मालामा हामी पूर्ण रुपमा आत्मनिर्भर रहेको छौँ । मखमली फूलको करिब डेढ लाख माला हामी निर्यात गछौँ । सयपत्रीको हकमा भने करिब ५ लाख माला अपुग देखिन्छ । जुन हामीले आयात गर्नु पर्ने अवस्था छ । तर त्यो भन्दा पनि बढी माला बजारमा भित्रिएको भन्ने समाचारहरु पनि आइरहेका छन् ।
फूल व्यवसायीहरुका समस्याहरु के-के छन् ?
फूल व्यवसायीका समस्याहरु निकै धेरै छन् । समस्याको चाँङ छ । फूलमा सरकारले भ्याट लाएको छ । थ्रेसहोल्डको कारणले गर्दा ५ हजारको फूल उत्पादन गर्ने किसानले फूलमा भ्याट तिर्नु पर्ने अवस्था छ । त्यो थ्रेसहोल्ड हटाउनु पर्छ भनेर हामीले निरन्तर पहल गरिरहेका छौँ । तर सरकारले भने त्यसमा खासै चासो दिएको छैन ।
त्यस्तै पुष्प प्रवद्र्धन नीति २०६९ देश संघीयतामा गएपछि त्यो कार्यान्वयनमा छैन । त्यो नीतिलाई पुर्नर खेलन गरेर तीनै तहको सरकारले तत्काल कार्यान्वयनमा ल्याउनु पर्छ भन्ने हाम्रो माग हो । बजारको विषयमा कुरा गर्दा फूलको लागि मात्रै छुट्टै बजारको व्यवस्थापन हुन सकेको छैन । छुट्टै फूलको बजार हुनु पर्छ भन्ने हाम्रो कुरा छ । त्यसमा सरकारले लगानी नै गर्नु पर्छ ।
विउविजनको पनि समस्या छ । विदेशबाट आयात गर्दा सिधै सुचिकृत गर्ने व्यवस्था छैन । त्यो पनि हुनु परो । अर्को कुरा व्यवसाय गर्नका लागि जग्गा निकै महंगो भयो । यो शहर केन्द्रित व्यवसाय हो । शहरमा मात्रै यसको व्यवसाय हुने भएकाले व्यवसायीहरुले जग्गाको भाडा तिर्नका लागि पनि निकै समस्या भइरहेको छ । यसका लागि सरकारले नै खाली रहेका सरकारी जग्गाहरु सस्तो मूल्यमा भाडामा दिने व्यवस्था गरेको खण्डमा अझ उत्पादन बढ्छ । यसका लागि सरकारले ध्यान दिनु पर्छ ।
८० प्रतिशत आत्मनिर्भर भएको अवस्थामा पूर्ण रुपमा आत्मनिर्भर बन्नका लागि के गर्नु पर्छ ?
अहिलेसम्म निजी क्षेत्रको पहलमा भएको हो । राज्यले पनि लगानी नगरेको होइन । केही मात्रामा राज्यको पनि लगानी छ । राज्यले २०७१ देखि २०७४ सम्म राज्यले पनि केही लगानी गरेको छ । त्यो लगानीले गर्दा नै हामीहरु अहिले ९० प्रतिशत आत्मनिर्भर बन्न सकेका हौँ ।
अर्को कुरा देश संघीयतमा गइसकेको अवस्थामा फ्लोरिकल्चरका लागि भनेर छुट्टै कार्याक्रम नछुट्टीय पनि यो कृषि व्यवसायमा पर्ने भएकाले स्थानीय तहको सरकारले पनि पुष्प व्यवसायलाई प्रमोट गरिरहेको अवस्था छ ।
हामी पूर्ण रुपमा आत्मनिर्भर बन्नका लागि लगानी सँगै अवैध रुपमा नेपाल भित्रने क्रमलाई रोक्नु पर्छ । अवैध रुपमा हुने आयातलाई रोक्न सकेको खण्डमा ठूला घरानाका व्यवसायीहरु पनि यो क्षेत्रमा आकर्षित हुन्छन् र हामी आत्मनिर्भर बन्न सक्छौँ । ठूला घरानाका व्यवसायीहरुको लागनी भएको खण्डमा आमी निर्यात तर्फ पनि जान सक्ने अवस्था हुन्छ ।

























