दुर्गा प्रसाईँमाथि दलिएको कालोमासो : आफ्नै अभियानको शिकार
वि.सं.२०८० असोज २४ बुधवार ०९:००
shares
यो देशमा स्वतन्त्रताको नाममा कसैलाई मुखभरि बोल्ने छुट थियो भने, सायद ति पात्र दुर्गा प्रसाईँ हुन् । हाकाहाक्की कुनै व्यवसायिक समुदाय विशेषलाई देशबाट लेखेट्छु भन्नेदेखि कालोमोसो दल्छु भनेर कोही बोल्थ्यो भने ती प्रसाईँ नै हुन् । धेरैले देशभक्त भनेर प्रसाईको विषयमा गुनगान नै गाइरहेका छन् । तर भिड बटुलेर अराजकता निम्त्याउँदै गरेका प्रसाईँलाई कसैले भन्न सकेनन् कि, तपाई गलत गर्दै हुनुहुन्छ भनेर ।
फलतः नेतालाई नङ्ग्याउनेदेखि बैंकरलाई कालोमोसो दल्छु भनेर तर्साउँदै हिडेका प्रसाईँ सोमबार आफ्नै अभियानको शिकार बन्न पुगे । उनलाई एक हुल युवाहरुको समूहले काठमाडौंको जमलमा दिनदाहाडै कालोमोसो दलिदियो । त्यो समूह अरु कोही नभएर उनकै पूर्वपार्टी नेकपा एमालेको युवा संघ थियो ।
हिजो अरुको मुखमा कालो पोतिँदा हौसिने र त्यसैमा आफूलाई उग्र क्रान्तिकारी सोच्ने प्रसाईं सोमबार आफै कालोमोसोको शिकार बने । काठमाडौंको कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा प्रसाईंले सोमबार दिउँसो राष्ट्रलाई लुटेर कुख्यात धनी बनेका अपराधी र तस्करहरुको फोटो सार्वजनिक गर्ने भन्दै पत्रकार सम्मेलन गरेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन्।
झापामा सञ्चालनमा आएको बी एण्ड सी अस्पतालले लाइसेन्स नपाएपछि छटपटिएका प्रसाईं बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिँदै आएका छन् । एक समय एमाले अध्यक्ष केपी शर्मा ओली ‘बा’ को छोरो मै हुँ भन्ने प्रसाईं कालोमोसो दलि मागेपछि त्यसको दोष उनै ‘बा’ का अर्का छोरा महेश बस्नेतमाथि लगाइरहेका छन् ।
राजनीतिक दलका शिर्ष नेताको संगत गरेर नाडी छामेका प्रसाईँ उनै व्यक्ति हुन् जसले कुनै बेला ओली र प्रचण्डलाई चरेसको थालमा मार्सी चामलको भात खुवाएर चर्चामा आए । प्रचण्डपछि ओली क्याम्प छिरेका प्रसाईँ पछि दुबै क्याम छोडेर राजाको हौवा पिट्दै हिडे । कहिले माओवादी त कहिले एमालेको ओत लागेर आफ्नो व्यवसायको रोटी सेक्ने प्रसाईँ अहिले संघीयता खारेजी, हिन्दु राष्ट्र र राजसंस्था फर्काउने एजेण्डा बोकेर हिडिरहेका छन् । मेचीमा राजा उतारेपछि केही व्यक्तिको नजरमा राष्ट्रिय हिरो कहलिएका प्रसाईँ त्यसपछि दलका नेताको सत्तोसरापमा झनै धारेहात गर्दै लागि परेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई साक्षी राखेर बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने उद्घोष उनले त्यही मञ्चबाट गरेका थिए । तर यसलाई कतिपयले प्रसाईँको अराजकताका रुपमा हेरेका छन् ।
झण्डै आधा दर्जन अर्थात् आठ वटा बैंकबाट प्रसाईँले साढे पाँच अर्ब ऋण लिएका छन् । त्यसलाई नतिर्नकै लागि प्रसाईँले यो अभियान चलाएको कतिपयको विश्लेषण छ । बैंकबाट लिएको सावा–ब्याज जतिजति बढ्दै जान्छ, प्रसाईँको उदण्डता पनि बढ्ने गरेको उनीहरु बताउँछन् । तर प्रसाईँले आफ्नो अभियानलाई बैंक र मारवाडी व्यापारीको लुट धन्धाबाट नागरिक बचाउने माध्यम भनेका छन् । अहिले उनका पछि बैंकले दुःख दिएका नागरिकहरु छन् । २० लाखसम्मको कर्जा मिनाहा नगर्ने बैंक, लघुवित्त र सहकारीका कर्मचारीलाई कालोमोसो दल्ने चेतावनी दिँदैछन् । वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई भौतिक आक्रमणको चेतावनीसहित कर्जा नतिर्ने खुला चुनौती अराजकताको पराकाष्ठा हो । किनकि प्रसाईँको यही अभियानको उपज स्वरुप फागुन १६ गते जाजरकोटको भेरी नगरपालिकामा मासिक किस्ता उठाउन गएका लघुवित्तका कर्मचारीमाथि दुई व्यक्तिले कालोमोसो दलेर साथमा रहेको किस्ता असुल नगद लुटेका थिए ।
सस्तो लोकप्रियताका लागि हौसिनेहरु बढ्दा राज्यसंयन्त्र निरीह बन्दै गएको छ । यस्ता गतिविधि गर्नेहरु जति नै हौसिए पनि कालान्तरमा आफूले खनेको खाल्डोमा आफूनै फस्ने गरेको विगतदेखि वर्तमानसम्म नजिर रहेको विश्लेषक बुद्धछिरिङ मोक्तान बताउँछन् ।

























