पशुपतिनाथमा पापिष्टहरुको राज, जलहरीले क–कसलाई पोल्ला ?
वि.सं.२०८० असोज १७ बुधवार ०९:००
shares
पशुपतिनाथ मन्दिर परिसरभित्रै पशुपति क्षेत्र विकास कोष भन्ने एउटा संस्था छ । लाग्छ, यो अड्डा कोषका कर्मचारीका लागि राज्यले दिएको लाइन्सेन्स प्राप्त लुटिखाने भाँडो हो । भक्तजनको भेटीमा ब्रम्हलुट मच्चाएर नअघाएका पशुपतिका हाकिमहरुले पुशपतिनाथको गर्भगृहमा चढाएको जलहरी नै झ्वाम पारेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यीनिहरुको मुखुण्डो उदांगो हुने गरि धर्मको आडमा पाप गर्ने ढोंगीहरुको अश्लियत बाहिर ल्याएको छ । अर्थात् उनीहरुविरुद्ध मुद्दा चलाएको छ ।
देखावटी रुपमा पशुपतिको चन्दन घसेर धर्मको आशनमा बसी पापको पर्खाल खडा गर्नेहरुलाई अख्तियारले डामेपछि पशुपतिको जलहरीले भतभति पोलेकाहरु हारगुहारमा पनि लागे । तर अन्तत्वोगोत्वा अख्तियारले मुद्दा चलाई छोडेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव डा. प्रदीप ढकाल, हालका सदस्य सचिव डा. मिलन कुमार थापा र कोषमा कार्यरत (विशेटनाईके) स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध पशुपतिमा जलहरी राख्दा भ्रष्टचार गरेको ठहरसहित विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले ढकाल, थापा र श्रेष्ठविरुद्ध १ हजार ४ सय ९१.७१८ ग्राम सुन हिनामिना गरेको आरोपमा जनही १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ ८५ पैसा माग दाबीसहित मुद्दा दर्ता गरेको छ ।
अख्तियारले डाम्ने सुँईको पाएपछि हालका सदस्य सचिव मिलन कुमार थापा रोइकराई गर्दै हारगुहारमा उत्रिएका थिए । तर अख्तियारले उनको रोईलोका बीच मुद्दा दर्ता गर्यो । यो घट्नाले पशुपतिनाथभित्र मौलाइरहेको अराजकता, लुटको धन्दा र कमाउ मानसिकताले ग्रसित पदाधिकारीहरुका कारण पशुपतिनाथमा धर्मात्माहरुभन्दा पापिष्टहरुको उपस्थिति बलियो भएको संकेत गरेको छ ।
धर्मो रक्षिति रक्षितः । यसको अर्थ हो, धर्मको रक्षा गरे धर्मले रक्षा गर्छ । तर यीनिहरुले धर्म रक्षाको साटो भगवानको काखमा बसेर कुकर्म गरेपछि पशुपति नाथले नै दण्डित गरेका छन् । पशुपतिमा ब्रम्हलुट मच्चाउनेहरुले निधारमा जति नै चन्दन घसेर बाग्मतीमा सयौंपटक डुबुल्की मारेपनि यीनिहरुको पाप पखालिने छाँट छैन । वर्षौदेखि पशुपतिमा लुट्दै खाएका यीनिहरुको पापको घैंटो भरिएपछि नै अहिले अख्तियारले चार्ज लगाएको हो ।
‘मुखमागे किमत’ दिई पशुपतिको बागडोर सम्हाल्न पुग्ने ढकाल–थापाहरु विषयसँग सम्वन्धित नभई नेताहरुको आशिर्वादले त्यहाँ पुगेका व्यक्ति हुन् । मिलन कुमार थापा पनि प्रचण्ड र देउवाको ज्वाइन्ट आशिर्वादबाट पशुपतिको बागडोर सम्हाल्न पुगेको चर्चा छ । विषय विज्ञलाई पाखा लगाएर शक्तिका पुजारीलाई काखी च्याप्दा हिन्दुको आस्थामाथि प्रहार भएको छ । यस्ता पात्रलाई पशुपतिनाथको तालाचाबी जिम्मा लगाउने प्रचण्ड, देउवा वा ओली जो सुकै पात्र हाेउन्, यीनिहरुमाथि पनि जनताले खबरदारी गर्ने बेला भएको छ ।
स्मरण रहोस्, जलहरी प्रकरण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि जोडिन्छ । कोरोना सकंटमा जनता प्याकप्याकी भइरहेका बेला ओलीले राज्यकोषबाट जलहरी राख्न ३० करोड उपलब्ध गराएका थिए । त्यसैमा ५० करोड थपेर कोषले सुन खरिद गरेको हो । तर जलहरीमा सुन खाएर सुटुक्क उन्मुक्ति खोजेकाहरुलाई अख्तियार जकडेपछि अहिले हायलकायल हुनुपरेको छ ।
यतिबेला पशुपति क्षेत्र विकास कोषको नाम फेरेर पशुपति क्षेत्र दोहन कोष भनेर नामाकरण गर्दा खासै फरक नपर्ने भएको छ । अहिले दिनदिनै पशुपतिको सम्पत्तिमाथि नंग्रा गाड्नेहरु बढिरहेका छन् । जसले पशुपतिको सम्पति घट्दो छ । पशुपतिको सम्पत्ति पूर्णरुपमा कति छ भन्ने एकिन तथ्यांक छैन । तर जमिन मात्रै झण्डै ७ हजार रोपनी रहेको अनुमान गरिएको छ । यसमा पनि विभिन्न व्यक्ति र संस्थाले रजाई गरिरहेका छन् ।
हाकाहाकी गौशाला धर्मशालाको नाममा मुल सडकमा रहेको बडेमानको भवन मासिक ४ हजार २ सय ५० रुपैयाँ भाडामा लिएर हडप्ने मारवाडी सेवा समिति पनि धर्मको नाममा कमाउधन्दा चलाउने मध्येको एक हो । प्रदीप ढकाल, मिलन कुमार थापाले सुनको सुगन्धले छटपटिएर झण्डै डेढ किलो सुन झ्वाम पारेपनि फरक आवरणमा लुट धन्दा मच्चाउनेमा मारवाडी सेवा समिति पनि कम छैन । पाप र धर्मको समेत ख्याल नगरि भ्रष्टाचार र लुट धन्दा चलाएर पशुपतिलाई थिलथिलो पार्र्नेेहरुको लेखाजोखा कसरी हुने हो पत्तो छैन । तर नागरिकले बेवास्ता गर्दा मनोमानी रुपमा झाँगिएको पशुपतिको दोहन अहिले जलहरीमा जकडिएको छ । यो त देखिएको प्रतिनिधि घट्ना हो । भक्तजनले चढाएका यस्ता कयौं किलो सुनचाँदी कुन ढुकुटीमा छन् । त्यसको अत्तोपत्तो छैन । अहिले यी तीन पात्र देखिएपनि जलहरी घोटालामा सबका सबको मिलिभगतमा देखिन्छ ।

























