आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प
वि.सं.२०८० भदौ ३१ आइतवार ०६:१५
shares

नेपाल चिकित्सक संघले आज देशभरका सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल र क्लिनिकहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प गर्ने भएका छन् ।
चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्की र महासचिव डा. सन्जीव तिवारीले विज्ञप्ति जारी गर्दै आइतबार स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा सञ्चालन हुन नदिने जानकारी शनिबार नै दिएका छन् ।
भदौ २७ गते सन्चो अस्पताल हेटौंडामा डाक्टरमाथि भएको सांघातिक आक्रमण भएको र कुटपिटमा संलग्न दोषीहरु अबिलम्ब कारबाही नगरेको भन्दै उनीहरुले सेवा ठप्प पार्ने निर्णय लिएका हुन् । उनीहरुले फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् ।
‘चिकित्सकलाई हमला गर्ने ४ जना मात्र समातिएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘जबकि हमला गर्ने १८ जनाभन्दा बढी थिए, अझ बाहिर रहेकाहरुलाई पनि हेर्ने हो भने २० देखि २५ जनासम्म आक्रमणकारी थिए ।’

























