सुनमा फसेको माओवादी
वि.सं.२०८० भदौ २४ आइतवार ०९:००
shares
घुम्दैफिर्दै रुम्जाटारको शैलीमा ६० किलो सुन तस्करीको अनुसन्धान माओवादीभित्रै घुमिरहेको छ । कहिले छोरा पक्राउ पर्छन्, कहिले भाईको सुन गाल्ने कम्पनी भेटिन्छ । तस्करहरुको पार्टी कुन हो ? भन्ने गाउँखाने कथा सोधियो भने माओवादीकै नाम आउने पक्का छ । माओवादी त्यही पार्टी हो, जसले भ्रष्टाचारी भन्न बित्तिकै एमालेको नाम लिन्छ । अहिले आफ्नो भागमा सुनको डल्लो परेपछि तस्करीको आरोप झेलिरहेको छ । यसले के सुनको मालिक पनि माओवादी नै हो त ? भन्ने प्रश्न पनि उठाएकाे छ । यता सीआईबीले हङकङबाट सुनको सुत्राधारसहित केही तथ्य निकाल्न सफल भएको स्राेतकाे भनाइ छ । सीआईबीको अनुसन्धानले सुनका प्रमुख पात्र चिनियाँ नागरिक याहो पेचिङ रहेको खुलासा गरेको छ । उनी यसअघि पनि पटकपटक भारतमा ठूलाे परिमाणकाे सुनमा पक्राउ परेका थिए । तीनदेशीय जालोको सुत्राधार पनि उनीनै भएको आशंका गरिएको छ । तर त्यो राजनीतिक कनेक्सन बिना कसरी सम्भव हुनसक्छ ?
तस्करीका नाइके दावा छिरिङसँगको कनेक्सन माओवादीका अधिकांश नेतासँग जोडिएको छ । माओवादीको उपल्लो तहमा विराजमान नेतादेखि पूर्वआईजीपी, अध्यागमन विभागका डीजी, माओवादी नेताका पुत्र सबै दावाका लागि काम गर्ने मतियार बनेका छन् । मानौं यो देशमा तस्करीको सञ्जाल नै दावाले थामेका छन् । तर दावा एक्लैको बलमा यति ठूलो तस्करी सम्भव छैन । दावालाई सघाउन राजनीतिक घराना काँध थापेर बसेको छ । त्यसमा पनि बाउछोरा ग्याङ नै दावाका लागि दाहिने बनेकाे छ ।
कृष्णबहादुर महरा र राहुल महरा
माओवादी केन्द्रका उपाध्यक्ष हुन् कृष्णबहादुर महरा । उनका छोरा राहुल अहिले बाउकै अपराधकर्मको सीको गरेपछि जेल परेका आरोपी हुन् ।
तस्करीको सुन थुपारेर सुनखानीको मालिक बन्छु भन्ने सोच पलाएपछि अहिले जेलको बास भएको छ । चिनियाँ गिरोहले विद्युतीय चुरोट भेपमा लुकाएर ल्याएको नौं किलो सुन तस्करीमा मुछिएका यीनलाई ६० किलो सुनमा समेत गिरोहसँग कनेक्सन देखिएपछि सीआईबीले च्याप्प समातेर जेल हालेको हो । बाउकै लालनपालनमा सुनतस्करीको बाटो समाएका यीनले चिनियाँ गिरोहसँग मिलेर नेपालमा सुन भित्र्याउन सहयोग गर्थे । त्यसबाट मोटो कमिशन लिएर मोज गर्थे ।
यीनीसँग बाउ कृष्णबहादुर महराको नाम पनि सुनकाण्डमै जोडिएको छ । नौं किलो सुनतस्करीमा चिनियाँ गिरोहलाई सघाएको कल रिकर्ड सीआईबीले किटानीसाथ पेश गरेपनि उनले उन्मुक्ति पाइरहेका छन् । अब छोराले बाउलाई पनि भित्रै तान्नेकि बाउले राज्यशक्तिको प्रयोग गरि छोरालाई जेलबाहिर निकाल्ने निकै रस्साकस्सी चलिरहेको छ । महराको अपराधकर्म लामै छ । कुनैबेला ५० करोड डिल गरेको अडियो बाहिरियो । सभामुख हुँदा आफ्नै कर्मचारीमाथि बलात्कार गरेको आरोप लाग्यो । अब तस्करी, भ्रष्टाचारीको उत्तराधिकारी छोरालाई बनाउने बाटो समाएका छन् ।
नन्दबहादुर पुन र दीपेश पुन
जनयुद्धकै बलमा राजालाई घोक्रेठ्याक लगाएर दरबारबाट निकालेपछि माओवादी सत्तामा आएको हो । सत्तामा आएपछि यीनीहरुलाई आफै श्रीपेच बिनाको राजा बन्ने रहर पलायो । फलतः छोराहरुलाई यीनीहरुले राजकुमार जस्तो बनाएका छन् । यीनै राजकुमारहरुको राज्य संयन्त्रमा हालिमुहाली छ । ६० किलो सुनमै शंकास्पद भूमिका देखिएपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई समेत सीआईबीले बयान लिएको छ । दीपेशले तस्करीका नाइके दावा छिरिङसँग मिलेर धन्दा चलाउँदै आएको आरोप छ । धन्दा सफल भएपछि हुनुपर्छ, यीनीहरु रिफ्रेस हुन हेलिकोप्टर चढेर गोसाईकुण्ड पुग्छन् । चिनियाँ गिरोहका नाइके दावाकी पत्नी अमला रोकासहित चु जिलियाङ लगायतको समूहलाई लिएर २०७६ माघ १ मा दीपेश हेलिकोप्टर चढेर गोसाईकुण्ड उडेका थिए ।
गणतन्त्रमा बाउ उपराष्ट्रपति भए, सम्भवतः ज्ञानेन्द्र पुत्र पारसको झल्को मेट्न हुनुपर्छ नन्दबहादुरले आफ्नै छोरालाई युवराजका रुपमा छुट दिँदै आएका छन् । कहिले चिनियाँ तस्कार दावा त, कहिले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक । यी सबैसँग मिलेर बार्गेनिङ धन्दा चलाउन दीपेश खप्पीस छन् । यसैले हरेक काण्ड आउनुभन्दा अघिनै दीपेशको नाम आउँछ । सुन तस्करीको आरोपमा दावा साउन १४ मा पक्राउ परेपछि दावाकी पत्नी अमला रोका नन्दबहादुरको आलिशान हवलीमा पुगेर छलफल गरेको थिए । जसले उनकै भूमिकामाथि समेत प्रश्न उठाएको छ ।
बर्षमान पुन र प्रनिश पुन मगर
अब छोरा राजकुमार पछि भाई राजकुमारको पालो आउँछ । माओवादी केन्द्रकै नेता बर्षमान पुनका भाई प्रनिश पुन मगरको सुन गाल्ने कम्पनी भएको रहस्य खुलेको छ । त्यही कम्पनी जसमाथि राजस्व अनुसन्धान विभागले छापा हानेर सुन गाल्न प्रयोग भएका चारवटा मेसिन बरामद गरेको थियो । जबकि सरकारसँग जम्मा एउटा रहेको मेसिन यो गिरोहसँग चारवटा रहेछ । तस्कर दावा छिरिङ पक्राउ परेपछि सोह्रखुट्टे, टोखा र बालुवाटारको गोदाममा छापा हानिएको थियो । जहाँ दावाकी पत्नी अमला रोका अध्यक्ष रहेको ‘भियना मल्टिप्रपोज ग्रुप प्रालि’ले तस्करीको सुन पगाल्ने कारखाना खोलेको रहस्य फेला परेकाे थियो । जुन कम्पनीमा बर्षमान पुनका भाई प्रनिशको मात्रै ३० हजार कित्ता शेयर रहेको तथ्य हामीले यसअघि नै देखाएका छौं ।
प्रनिश काठमाडौंमा दाई बर्षमानसँग बस्दै आएका छन् । भाईको सुन गाल्ने कम्पनी हुनु र उनलाई थाहा नहुनु ? यो हुनै नसक्ने विषय हो । तर पनि उनले यो प्रकरण सार्वजनिक भइसकेपछि दावाकी पत्नी अमला आफ्नो गाउँले चेली भएको र दावासँग सामान्य चिनजान रहेको बताएका थिए । अहिले दावासँगै मिलेर भाईले लगानी गरेको कम्पनी फेला परेपछि उनीमाथि झन शंका बढेको छ ।
सुनको साइनो खोज्दै जाँदा माओवादीभन्दा पर गएकै छैन । घुमिफिरी माओवादीकै नेता शंकाको घेरामा छन् । माओवादीकै अध्यक्ष प्रधानमन्त्री छन् । माओवादीकै वरिष्ठ उपाध्यक्ष गृहमन्त्री छन् । माओवादीकै नेता तस्करीमा जोडिएका छन् । तैपनि गृहमन्त्री चुप छन् । नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणमा जंगिएका उनी अहिले मत्थर छन् । सम्भवतः छोरा फसाए बाउ रिसाउने र बाउछोरा नै जोगाए जनता रिसाउने यो अवस्थामा उनी आफुलाई काम न काजको ठानेरै भएपनि पदमै बसिरहेका छन्
राजनीतिक आवरणमा कमाउधन्धा चलाएका नेताहरु हरेक दलको शीरदेखि तीरसम्म छन् । हरेक ठूला काण्डमा बाउछोराकै नाम आउँछ । छोराहरुले बाउ प्रधानमन्त्री, मन्त्री भएका बेला सिंहदरवारमा आतंक मच्चाउँछन् । अहिले सुनमा माओवादीभित्रका बाउछोराको चर्चा भएपनि नक्कली भुटानी शरणार्थी बनाएर नेपाली बेच्ने टोपबहादुर रायमाझीका बाउछोरा जेलको हावा खाँदैछन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र उनका छोरा प्रतिक नेपाली राजनीतिमा काण्ड मच्चाउने नमुना हुन् । अहिले पनि पक्राउ पुर्जी जारी भएपछि प्रतिक फरार छन् । एमाले उपाध्यक्ष विष्णु पौडेलका छोरा नविन ललिता निवासको जग्गाकाण्डमा मुछिएका छन् । छोरालाई अघि सारी कमिशन खाएको आरोपमा बाउमाथि छ । एमालेकै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उनका छोरा स्वराज पनि विभिन्न काण्डमा जोडिएको छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र उनका छोरा निर्भिकको हाल उस्तै छ । सबैभन्दा बढी शक्तिको दुरुपयोग गर्ने पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरको उस्तै हालिमुहाली छ । बाउको पावर देखाएर राज्यश्रोतको ब्रम्हलुट मच्चाउने र उठाउधन्दा चलाउन छोरामात्रै होइनन् छोरीहरु पनि सक्रिय छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहाल अहिले मन्त्री सरहको हालीमुहालीमा छिन् ।
नेपालका प्रधानमन्त्री र मन्त्रीहरु त केबल देखाउने दाँतमात्रै हुन् । यस्ता काण्डहरुमा यथेस्ठ आधारसहित उनीहरुको नाम आइसक्दा समेत कारबाहीको दायरामा ल्याउन एकदम मुस्किल पर्छ । मुस्किलले पक्राउ परेकाहरु पनि संरक्षण पाएर उम्किन्छन् । तर गैडाको छालाभन्दा पनि ज्याद्रो यीनीहरुको अपराध कर्म छ ।

























