‘सुन तस्कर पक्राउ पर्नुमा हाम्रो योगदान छ’
वि.सं.२०८० साउन ३० मंगलवार १२:२३
shares
आजभन्दा करिब २ वर्ष अगाडी उपभोक्ताको हकहित रक्षा गर्न र उपभोक्तालाई गुणस्तरिय वस्तु तथा सेवा प्रदान गर्ने उद्देश्यले नेपाल उपभोक्ता संरक्षण महासंघको गठन भएको हो । उपभोक्ताबाट प्रतिवेदन संकलन गरि अनुसन्धान गर्ने, अनुचित, भ्रामक र जालसाजीपूर्ण व्यापार प्रचलनलाई रोक्ने, कानून उल्लंघन गर्ने कम्पनी र व्यक्तिलाई मुद्दा हाल्ने, बजारलाई स्वच्छ राख्नका लागि नियमहरू विकास गर्ने र उपभोक्ता तथा व्यवसायीलाई उनीहरूका बारेमा सचेत गराउने यसको उद्देश्य रहेको छ । महासंघले अहिलेसम्म के–के गर्यो ? यो कि न आवश्यक छ ? भन्ने विषयमा न्युजकारोबारकर्मी रमेश पौडेलले महासंघका अध्यक्ष चन्द्र साउदसँग कुराकानी गरेका छन् । जसको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः
उपभोक्ता संरक्षण महासंघ के हो ?
यो सातै प्रदेशमा एकएक वटा संघ हुने गरि ११ वटा संघ मिलेर बनेको महासंघ हो । यो गृह मन्त्रालयअन्तर्गत रहेर उद्योग आपूर्ति मन्त्रालयको रायमा स्थापना भएको नेपालको एकमात्र उपभोक्ताको हकहित सम्बन्धि काम गर्ने साझा संगठन हो ।
यसले के–के काम गर्छ ?
यसले भ्रष्टाचारविरुद्ध जनस्तरबाट खबरदारी गर्छ । कालोबाजारीका विरुद्ध, अखाद्य बस्तु विक्री वितरणका विरुद्ध, गुणस्तरहिन बस्तुका विरुद्धमा जन खबरदारी गर्छ । साथै सरकारी निकायहरुलाई कारबाहीका लागि सहयोग गर्छ ।
अहिलेसम्म के–के विषयमा कारबाही गर्यो महासंघले ?
हाम्रो महासंघ अहिले शिशु अवस्थामा छ । यो संस्था स्थापना भएको भर्खरै दुई बर्ष पुरा भएको छ । अहिले हामी बामे सर्ने क्रममा नै रहेकाले हामीले राज्यका निकायहरुलाई यस विषयमा सजक गराएका छौँ । जस्तो हामीले तत्कालीन प्रधानमन्त्रीलाई हाम्रो मागसहित ज्ञापन पत्र बुझाएका छौँ । उद्योगमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थियौं । हामीले ज्ञापनपत्रमा भनेका थियौँ कि अहिलेका नियम कानुनहरु उपभोक्ताको हितमा छैनन् । त्यसलाई परिवर्तन गर्नुहोस् । २० वर्ष अगाडीका नियमहरु अहिले सान्दर्भिक हुँदैनन् । एउटा व्यक्तिले अखाद्य बस्तु बिक्री गर्यो र उसलाई समातिएर कारबाही गर्यो भने उसलाई जम्मा २० रुपैयाँ जरिवाना मात्र हुन्छ । बढीमा पाचँ सय रुपैयाँ हुन्छ । त्यो भएन । त्यसलाई च्यातेर फालिदिनुस् भनेका थियौँ हामीले । कडा नियमहरु बनाउनु पर्यो भनेर भन्यौँ । उहाँहरुले केही कुराहरु नीति तथा कार्यक्रममा समावेश गर्नु भएको छ । अनुगमन समिति वर्षको २ दिन मात्र बैठक बस्ने गरेको छ । त्यसलाई परिवर्तन गरि क्रियाशिल समिति निर्माण गर्नुस् भनेर पनि भनेका छौँ । त्यसको लागि हामीले सडकमा कालो झण्डा प्रदर्शन गरेका छौँ । हाम्रो टिम गएर विभिन्न ठाउँमा भिजिट पनि गयौँ । पहिलो चरणको कार्यक्रममा यस्ता कुराहरु गरिहेका छौँ । हामी संगठन विस्तारको क्रममा पनि छौँ ।
सरकारले नै अनुगमन गरिहेको हुन्छ । अनि प्रत्यक्ष स्थानिय तहमा पनि अनुगमन गर्ने प्रावधान रहेको छ । सरकारको संयन्त्रभन्दा तपाईँहरु के फरक?
हामीले सरकारी तहबाट गर्ने अनुगमनलाई पनि खबरदारी गर्छाै । नेपाल सरकारको प्रधानमन्त्रीलाई खबरदारी गर्छाै । गृहमन्त्रीलाई पनि खबरदारी गर्छाै । उहाँ कहाँ गइरहनु भएको छ ? के गरिरहनु भएको छ ? के–के कस्ता–कस्ता नीति नियम बनाइरहनु भएको छ ? ती नीति नियम उपभोक्ता हकहितका बारेमा छन् छैनन् ? यदि कुनै भ्रष्टाचारी, कालाबाजारी उम्किरहेको छ भने किन उम्कियो ? यस्ता चिजको खबरदारी गछौँ । आवाज उठाउछौँ । सबैभन्दा ठूलो शक्ति त जनता उपभोक्ता नै हो नी । त्यसैले उपभोक्तालाई जागरुप गर्ने त्यो एक किसिमको अभियानमा छौँ ।
अहिलेसम्म महासंघमा कति व्यक्तिहरु जोडिनु भएको छ ?
हाम्रो महासंघको ६३ जनाको केन्द्रीय समिति छ । २५ जनाको पदाधिकारी कमिटी छ । ९ जना सचिवालय सदस्य छौँ । साधारण सदस्य २५ हजारभन्दा बढी भइरहेको अवस्था छ । त्यो संख्या क्रमशः दैनिक जसो बढ्ने क्रममा छ । हाम्रो एसोएस मेम्बर १०१ जनाको छ । आजिवन सदस्य २७ जनाको छ ।
२ वर्षको अवधिमा महासंघले के–के गर्यो ?
हामी सुरुआती दिनमा भएकाले दर्ताको पक्रिया नै हामीलाई केही लामो समय लाग्यो । त्योसँगै हामीले प्रदेश कमिटी गठन गर्ने काम गयौँ । प्रदेशमा एक जना व्यक्तिलाई संयोजक तोकेर त्यहाँ पनि तदर्थ समिति स्थापना गरेर काम गरिरहेका छौँ । २८ वटा जिल्ला समितिहरु गठन गरेका छौँ । सरकारको विभागले गर्ने कारबाहीलाई पनि हामीले सक्रियताका साथ हेरिरहेका छौँ । हाम्रा जिल्ला कमिटीहरुले त्यस्ता निकायहरुलाई क्रियासिल बनाउने काम गरिरहेका छन् । काठमाडौँमा पनि हामीले सम्बन्धित निकायलाई क्रियासिल बनाउने काम गरेका छौँ । हामीले थाँहा पाएको जानकारी सम्बन्धित निकायलाई दिने पनि गर्छौ । ताकी कारबाही प्रक्रियामा सजिलो होस् । सम्बन्धित निकायले अनुगमन गर्यो वा गरेन, कारबाही भयो भएन भनेर हामीले निगरानी गरिरहेका हुन्छौं । सरकारले कालोबजारी र सुन तस्करहरुलाई पक्राउ गर्नुमा हाम्रो पनि योगदान छ । हामीले उहाँहरुलाई जबर्जस्त दबाब दिएका छौँ । कारबाही गर्नुस् नभए तपाईँका विरुद्धमा जनतालाई गुहाछौँ भनेर दबाब दिएपछि काम भएको हो । हामीले कुनै कर्मचारीले काम गरेका छैनन् भने त्यसमा पनि खबरदारी गरिरहेका छौँ । हाम्रो ३८ जिल्लामा संगठन बनेपछि हामीलाई लाग्छ १० देखि १२ प्रतिशतसम्म भ्रष्टाचार कम भएका छन् ।
अब आउने दिनमा महासंघलाई कसरी अगाडी बढाएर लैजानुहुन्छ ?
हामी अबका आउने दिनमा वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गर्छौ । ५० लाख सदस्यता वितरण गर्छाै । उपभोक्ताका मागहरु सम्बोधन गर्न सरकारलाई दबाब दिन्छौं । ती मागहरु सम्बोधन नभएमा सशक्त रुपमा एउटा ठूलो शान्तिपूर्ण आन्दोलन पनि गर्छौ । सायद उपभोक्ताको आन्दोलन भएपनि त्यस्ता ठाउँमा सरकार झुक्छ भन्ने लाग्छ । झुक्न बाध्य बनाउँछौं । सरकारसँग अर्को विकल्प पनि हुँदैन । र त्यो मागहरु पुरा भयो भने देशलाई फाइदा पुग्ने हो । देश धनी बन्ने हो । गुणस्तरयुक्त काम हुन्छ । स्वस्थ प्रतिस्पर्धा हुनेभयो । यसले विदेश पलायन हुने क्रम पनि रोकिन सक्छ ।

























