घोराही उपमहानगरपालिकाको ९३ विद्यालयमध्ये १४ मा महिला प्रअ
वि.सं.२०८० साउन २८ आइतवार १२:२०
shares

घोराही उप-महानगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन्।
घोराही-१ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया केसीले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएकी छन्।
‘प्रअ हुँदा विद्यालयको प्रशासनिकदेखि सम्पूर्ण काम आफ्नो जिम्मेवारी रहेको छ’, उनले भनिन्। विद्यालयमा खानेपानीको सुविधा नभएकाले समस्या हुने गरेको छ। सरस्वती माध्यामिक विद्यालय काठेकोलको प्रअ वसन्ता पौडेलले सम्हालेकी छन्।
प्राथमिक विद्यालय भैसाहीमा योगमाया अधिकारी, आधारभूत विद्यालय बाम्लामा टुककुमारी रावत, मदरसा दारुलहुदा अल्सफिदा आधारभूत विद्यालयमा ममता खत्री, प्राथमिक विद्यालय श्रीचौरमा यमुना केसी, नारायण प्राथमिक विद्यालय पश्चिम सेवारमा कर्मकुमारी चौधरी, रात्रि प्राथमिक विद्यालय शुक्रबारमा सुशीला पौडेल, रात्रि प्राथमिक विद्यालय बेलुवामा लक्ष्मी नकर्मी श्रेष्ठ, प्रावि सोरेठी रातामाटामा रुका घर्ती, सरस्वती प्राथमिक विद्यालय सुकाखोलामा माधवा पौडेलले प्रअको जिम्मेवारी सम्हालेका छन्।
महिलाले सम्हालेका विद्यालय जिल्ला रहेका सामुदायिक विद्यालयभन्दा कम नभएको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख नारायण पौडेलले बताए। महिला प्रअ भएका विद्यालयमा आर्थिक पारदर्शिता, सिकाइ क्रियाकलाप पनि नमूनायोग्य भएको उनले बताए।
घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले सामुदायिक विद्यालयमा महिलाको जिम्मेवारी प्रत्येक वर्ष बढाउँदै लगिने जानकारी दिए। सुरुमा सीमित महिला शिक्षकलाई प्रअको जिम्मेवारी दिइएको थियो। उनीहरूले राम्रो काम गरेको देखेर अहिले १४ जनालाई प्रअको जिम्मेवारी दिइएको बताए। उनले भने, ‘महिला शिक्षकले राम्रोसँग विद्यालय सञ्चालन गर्नुभएको छ, धेरै खुसी लागेको छ।’

























