गृहपृष्ठ हावामा उडेको पैसा टिप्न सिकाउने पुस्तक ‘नेपालमै सकिन्छ’
हावामा उडेको पैसा टिप्न सिकाउने पुस्तक ‘नेपालमै सकिन्छ’
पत्रकार रोहित भण्डारीले लेखेको पुस्तक ‘नेपालमै सकिन्छ’ जब पढ्न सुरु गरे, त्यसको तेस्रो संस्करणमै अच्चमित भए । सन्दर्भ थियो, पुस्तकको बारेमा विभिन्न ठाउँबाट आएको प्रतिक्रिया । जहाँ पुस्तकको बारे तारिफ गरिएको थियो । सोचे, आफैले के यस्तो के लेखेको होला । तर जब पुस्तक पढेर सकाए तब यतिका दिन मैले यो पुस्तकलाई किन थन्क्याएर राखेको थिए ? आफैमाथि एकपटक प्रश्न गर्न मन लाग्यो र ग्लानी पनि भयो । र, अहिले जानी नजानी ‘नेपालमै सकिन्छ’ भन्ने पुस्तकबारे केही लेख्ने आँट जुटाएको छु ।
राष्ट्रिय युवा प्रतिभा सम्मान, २०७४ बाट सम्मानित पुस्तक २१५ पेजको छ । पुरै पुस्तक पढ्दा नेपालमा भएका अनेकन सम्भावनाहरुको बारेमा पूर्ण व्याख्या गरिएको छ । त्यस्तो व्याख्या जो नेपालमै केही गरिरहेका व्यक्तिका बारेमा छ । स्नेह डिजाइन एन्ड प्रिन्टले छापेको पुस्तकमा कर्ण शाक्यले भनेको कुरा ‘कोहीसँग स्रोत छ, कोहीसँग साधन । त्यस्तै कोहीसँग स्रोत छैन, कोहीसँग साधान छैन । कोहीसँग विचार छ तर लगानी गर्ने पैसा छैन । अनि कोहीसँग लगानी गर्ने पैसा छ तर विचारको कमी छ । यो छैन र त्यो छैनबीचको खाडलमा यो पुस्तकले पुलेसो बनाउने आशा लिएको छु ।’ हो, ठ्याक्कै यो पुस्तकले पुलेसोको काम गर्ने अनुभूति पाउन सकिन्छ ।
पुस्तक तीन खण्डमा लेखिएको छ । पहिलो खण्डमा साना–साना काम गरेर कसरी कमाई गर्न सकिन्छ भन्ने कुरा समेटिएको छ । व्यवसाय गर्दा कस्ता कुराहरुमा सजक नभए कसरी आफ्नो लगानी खरानी हुन्छ भन्ने कुरा पहिलो खण्डमै समेटिएको छ । जसमा समेटिएका लगानी डुबाएका व्यक्तिका अनुभवहरु ।
दोस्रो खण्डमा लेखक भण्डारीले विदेशको पीआर छोडेर नेपालमै विदेशको भन्दा बढी कमाइरहेको पात्रहरुको बारेमा लेखेका छन् । तेस्रो खण्डमा डीग्री पढेका अथवा उच्चतहको शिक्षाले दीक्षितहरुको ज्ञानको दायरालाई फराकिलो बनाएका छन् । उनीहरु धेरै पढेर पनि सानो काम–व्यवसाय गरिरहेका व्यक्ति हुन् । अर्थात पुस्तकमा हाम्रो समाजले सानो भनेका कामकाजी व्यक्तिका बारेमा पनि लेखिएको छ । जसले कामप्रतिको लगाव र काम कुनै पनि सानो ठूलो हुँदैन भन्ने विषयलाई उदाहरणसहित बलियो ढंगले प्रस्तुत गरिएको छ ।
खण्ड : एक
२० वटा व्यक्तिको बारेमा लेखिएको यो खण्डमा सानो–सानो काम गरेर पनि कमाउन सकिन्छ भन्ने कुरा समावेश गरिएको छ । पुस्तकको पहिलो पाठ ‘पैसै–पैसा’मा दोलखाका युवा नवराज फुयाँलले ट्वाइलेट क्लिनिङको सामान बेचेर मासिक ४०÷५० हजार कमाएका विषय उल्लेख छ । यसमा दुःख गर्न सिकाईएको छ । दुःख गरेमा नेपालमै कमाउन सकिन्छ भन्ने कुरा ती युवाको अनुभवले बताउँछ । फुयालले लेखक भण्डारीसँग कुरा गर्दै भनेका छन्, ‘मान्छेलाई थाहा छैन बाटोभरि पैसा छन् भन्ने कुरा । पैसा कहाँ छैन ? जहाँ पनि छ । पैसा हावामा छ, माटोमा छ, पानीमा छ, ढुंगामा छ । जहाँतहीँ पैसै–पैसा छ ।’
पहिलो खण्डमा यस्ता थुप्रै पात्रहरुको बारेमा लेखिएको छ, जसको एउटा सानो प्रयासले ठूलो सफलता हात परेका सन्दर्भहरु छन् । यस खण्डमै केही सम्भावनाको कुराहरु गरिएको छ । जस्तो ‘एक चिम्टी माटोबाट डलरौँ’, ‘आलु क्याफेको कन्सेप्ट, गुन्द्रुकको परिकार पाउने लगायतका थुप्रै नयाँ ‘आईडीया’का बारेमा चर्चा गरिएको छ।
लेखक भण्डारीले पुस्तक यति सरल र मिठास तरिकाले लेखेका छन्, जसले गर्दा पुस्तकबाट अनेत्र ध्यान नै जान दिँदैन । पात्रका योजना जसमा आफुले थाहा पाएको सन्दर्भ पनि पुस्तकमा समावेश गरेका छन् । लेखक भण्डारीले सेतोपाटी अनलाईनमा आएको सन्दर्भलाई पनि आफ्नो पुस्तकको अंशका रुपमा समावेश गरेका छन् । पुस्तकमै भाडाका कोठा खोजिदिए बाफत कमिशन लिएर कमाउने गरेको सन्दर्भ पनि उल्लेख छ । त्यसैमा अन्य व्यवसायमा पनि मानिसलाई प्रेरित गर्न खोजिएको छ । अहिले नेपालमा प्रशस्त मात्रमा चाइल्ड केयरहरु छन् । तर पुस्तकमा वल्र्ड केयरको नयाँ कन्सेप्टको बारेमा पनि बताईएको छ । जहाँ घरमा बुवा आमा भएको तर परिवारका सदस्यहरुले आफ्नै कामको कारण हेरचाह गर्न नभ्याएपछि दिक्दार लाग्दो तरिकाले हजुरबुवा, हजुरआमाहरु बस्न बाध्य भएको कुरा न्यायोचित ढंगले समावेश गरिएको छ । त्यसमा लेखकले आफ्नो हजुरआमाको सन्दर्भको बारेमा पनि चर्चा गरेका छन् ।
लेखकले पहिलो खण्डमा एउटा गजबको कुरा लेखेका छन् । पैसाले भन्छ रे ‘आज तँ मलाई बचा, भोलि तँलाई म बचाउँछु ।’ लेखकले यस्ता कुराहरु थुप्रै समावेश गरेका छन् । जो केही कामधन्धा सुरु गरिरहेका व्यक्तिको लागि उर्जाको रुपमा प्रयोग भएका छन ।
८४ पृष्ठमा समावेश भएको पहिलो खण्डमा ३ यस्ता घट्ना छन्, जो केही गर्न खोज्दाखोज्दै असफल भएका पात्रका बारेमा लेखिएको छ । ती पात्रका अनुभव सुन्दा व्यवसाय गर्दा कस्ता कुराहरु ध्यान दिनु पर्छ भन्ने राम्रोसँग बुझ्न सकिन्छ । व्यवसाय डुब्नुमा मुलतः मालिक बन्ने मानसिकतालाई पर्दाफास गरिएको छ । अन्तिमको ३ वटा घटनाले मुलतः आफुले कस्तो व्यवसाय गर्न लागेको हो ? त्यसका बारेमा कत्तिको ज्ञान छ ? हचुवाको भरमा व्यवसाय गर्दा के हुन्छ ? भन्ने कुरा उदाहरणसहित पेश गरिएको छ ।
खण्ड : दुई
लेखक भण्डारीले दोस्रो खण्डमा विदेशको ग्रिनकार्ड छाडेर नेपालमा दाम र नाम विदेशमा भन्दा बढी कमाईरहेको ५ जना व्यक्तिको सन्दर्भ चित्रण गरेका छन् । जहाँ अमेरिकाको ग्रिनकार्ड छाडेर नेपालमै पार्टी प्यालेस सञ्चालन गरि अमेरिकाभन्दा बढी नाम र दाम कमाएका उल्लेख गरिएको छ । परम्परागत तरिकाले भन्दा केही नयाँपन दिनमात्रै सकेमा त्यसबाट मनग्य आम्दानी गर्न सकिने उदाहरण यसमा समावेश गरिएको छ ।
बेलायतको ग्रिनकार्ड छोडेर सुन्तलाको व्यापार गरेका कृष्णजंग केसीको कथा प्रेरणादायी छ । स्याङ्जाका केसी बेलायतको ग्रिनकार्ड हुँदाहुँदै पनि त्यसलाई त्यागेर आफ्नै ठाउँमा उत्पादन भएको सुन्तलालाई सडकमा बसेर बेचेको सन्दर्भले सबैको मन छुन्छ । केसीले बेलायतमा गरेको दुःख संघर्ष र नेपालमा प्राप्त सफलतालाई लेखकले सरल तरिकाले शब्दजालमा बुनेका छन् । जसलाई पढ्दा बिछट्टै आनन्द आउँछ ।
त्यस्तै, अष्ट्रेलियाको पीआर छोडेर नेपालमा माछापालन गरिरहेका मछिन्द्रा उप्रेतिको सन्दर्भ होस् या इजरायलमा बसेर फर्किएका श्रीकृष्ण अधिकारीको कर्म । सबै प्रेरणादायी छ । १० वर्ष अमेरिका बसेर आएका शैलेन्द्र घिमिरे त झन नेपालमा हावामा पैसा उडेको देखेर फर्किएको उल्लेख गरेका छन् । जसले गर्दा नेपालमा जे गरेपनि स्थापित हुन सकिने कुरालाई गजबले स्थापित गरिएको छ । घिमिरेले भनेका छन्, ‘विदेशमा धेरै व्यक्तिसँग प्रतिस्पर्धा गर्नुपर्छ, नेपालमा केही फरक मात्र गर्यो भने पनि स्थापित हुनसकिन्छ ।
खण्ड : तीन
लेखक भण्डारीले तेस्रो खण्डमा हाम्रो समाजले भन्ने गरेको सानो कामका बारे ठूलो आँट देखाउने सफल प्रयास गरेका छन् । डीग्री पढेका व्यक्तिले रंग लगाउने काम गरेको र ग्रिलको काम गरेको जस्ता सामान्य विषयलाई बलियो ढंगबाट प्रस्तुत गरेका छन् । लेखकले ११ जना यस्ता पात्रका बारेमा लेखेका छन्, जसले सामान्य काम गरेर पनि मनग्य आम्दानी गरेका छन् ।
तेस्रो खण्डमा डीग्री होल्डर रवीन्द्र घिमिरेले गरेको गाईपालन र वैकुण्ठराम आचार्यले इलेक्ट्रिसियनको काम गरेको विषयलाई हौसलादायी रुपमा स्थान दिएका छन् । त्यही खण्डमा उत्तिकै शैक्षिक योग्यता भएका दोलखाका भावत कार्कीले घरका भित्तामा रङ लगाउने काम गरेर आम्दानी गरेको सन्दर्भ उल्लेख छ । उनीहरुले आफ्नो अनुभव सुनाउँदै भनेका छन्, ‘रंगरोगनको काममा पनि नयाँ–नयाँ टेक्नोलोजी आएका छन् । तीनको प्रयोगका लागि नपढी सुखै छैन ।’
पढेका व्यक्तिले यस्ता काम गर्दा ग्राहकलाई सम्झाउन सजिलो हुने र अंग्रेजीमा पनि सहजै कुरा गर्न सकिने भएपछि अन्य व्यक्तिको तुलनामा यस्तै व्यक्तिले छिट्टै र सजिलै प्रगती गर्ने उल्लेख गरिएको छ ।
‘नेपालमै सकिन्छ’ पुस्तकले विदेश जान लागेकालाई रोक्न सक्छ । यसले केही हदसम्म भएपनि सम्भावनाका बाटोहरु देखाएको छ । विदेश गएर फर्किएकालाई पनि यस पुस्तकले कसरी व्यवसाय गर्ने ? केबाट सुरु गर्ने ? धेरै कुरा सिकाएको छ । पुस्तकका अनेक पात्र र सन्दर्भले पूर्ण रुपमा ‘हावामा उडेको पैसा टिप्न सिकाउने’ सुत्र सिकाएका छन् भन्दा फरक पर्दैन ।
प्रकाशित समय : १५:१४ बजे