रविको रोजगार घोषणा : वैदेशिक रोजगारीमा कार्यरत कामदार फर्किए धोका त हुँदैन ?
वि.सं.२०८० साउन १८ बिहीवार १७:२०
shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने घोषणासहित आवेदन आह्वान गरेका छन् । यो नेपालको राजनीतिकमा नयाँ विषय मात्र होइन, राजनीतिक तहबाट हेर्दा नयाँ नारापनि हो ।
चुनावी घोषणाअनुसार रविले दोस्रोपटक सांसद निर्वाचित भएको सय दिनको अवसर पारेर सय जनालाई रोजगारीका लागि विज्ञापन आह्वान गरेका थिए ।
गत वैशाख १० गते चितवनमा भएको उपनिर्वाचनका क्रममा निर्वाचित भएको १०० दिनमा विदेशमा काम गर्ने कम्तीमा १०० जना नेपालीलाई रोजगारी दिएर नेपाल फर्काउँछु भन्ने उनले घोषणा गरेका थिए । लामिछानेले मंगलबार राति नै नेपालका विभिन्न क्षेत्रमा रोजगारी दिने भन्दै एउटा विज्ञापन सार्वजनिक गरेका छन् ।
अहिले जापान, अस्ट्रेलिया, साउदी अरब, दक्षिण कोरियामा नेपालीले सञ्चालन गरेमा पत्रिका, अनलाइनमा विज्ञापन छापिएको रास्वपा केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन् । विभिन्न देशका पत्रिका, अनलाइन र चोकका पसलहरुमा विज्ञापन छापेको उनको भनाइ छ ।
लामिछानेले केबिसी न्युज अस्ट्रेलिया, पिटी अनलाइन न्युज साउदी अरब, जापान समाचार डटकममा रोजगारको विज्ञापनबारे समाचार छापिएको छ ।
रविले देशमा काम गर्न आउनेहरुलाई फ्रि टिकटको पनि व्यवस्था गर्न घोषणा गरेका छन् । जसका कारण अहिले फ्रि टिकट र रोजगारी कहाँ पाइन्छ भनेर जनचासो समेत देखाएका छन् ।
सुनिश्चितता कसले गर्छ ?
बुधबार चितवन पुगेर उनले गरेको घोषणा राष्ट्रिय बहसको विषय बनेको छ । अहिले सामाजिक सञ्जालमा कस्तो, कहाँ र कुन् क्षेत्रमा रोजगारी पाइन्छ भनेर समेत चर्चाको विषय बनेको छ ।
हाल रोजगारीको खोजीमा दैनिक करिब ३ हजार नेपाली विदेशीने गरेको सरकारी तथ्यांक छ । गत आर्थिक वर्षमा करिब ८ लाख नेपालीहरु रोजगारीको खोजीमा विदेशीएका छन् ।
त्यही भएरपनि सय जनालाई रोजगारी दिने विषयमाथि ठुलो चर्चा चलेको हो । अहिले देशभित्र करिब ३० प्रतिशत बेरोजगार भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांक बताउँछ । यी नागरिक देशभित्र रोजगारी नपाएर भौंतारिरहेको बेला रावश्पा सभापतिको रोजगारी घोषणाले नकारात्मक र सकारात्मक सूचना पाएको छ ।
लामिछानेले रोजगारदाताबाट ‘भ्याकेन्सी कलेक्ट’ करिब १६६ जनाका लागि आवेदन आह्वान गरेको पाइएको छ । आवेदनलाई ‘शर्ट लिस्ट’ गर्ने लिखित परीक्षा र अन्तर्वार्ता लिने काम रोजगारदाताकै हुनेपनि भनिएको छ ।
एकतिर विदेशीएका नागरिक स्वदेश फकाउने अभियान चलाउनु राम्रो पक्ष हो । तर, स्वदेशमा रोजगारीको पाटो कस्तो छ, कामदारले के–कस्ता सुविधा पाउँछन् भने स्यंम सरकारमा सहभागी भएको दलका नेताले अध्ययन गर्नुपर्छ ।
रविकै पार्टी प्रचण्ड नेतृत्वको सरकारमा श्रम मन्त्रालयको जिम्मेवारी पाएको थियो । तर, त्यतिबेला वास्तविक श्रमिक र वैदेशिक रोजगारीमा जाने कामदारका बारेमा योजना बनाएर बोल्न भ्याएन ।
नेपालभित्र आर्थिक मन्दीका कारण भएका रोजगारी समेत गुम्दैछन् । यो अवस्था चितवनकै कतिपय युवाको रोजगारी जोखिममा छ । उनले यो पाटोलाई भने मध्येनजर गरेको छैनन् ।
रोजगार दिन कोसिस गर्ने हो कि विदेश गएकाहरूलाई फ्री टिकटमा नेपाल ल्याउने भनेको सुन्दा धेरैले अचम्म मानेका छन् । विदेशमा काम गरिरहेका जो कोही पनि कमै छोडेर आउने अवस्था देखिँदैन । यस्ता आश्वासन धेरै पल्ट देखिएको छ । यो विगतमा एमाले चर्चामा ल्याएको विषय पनि हो ।
हजारौँ संख्यामा विदेश जानेको लाइन विमानस्थलमा देखिने अवस्थाको विज्ञापन गरिरहनु पर्ने अवस्था छैन । यो अवस्थालाई अहिले नै रोक्छु भनेर रोकिने पनि छैन । किन सरकारले वैदेशिक रोजगारीमा जाने युवाबाट दोहोरो फाइदा लिएको छ ।
एकतिर रेमिट्यान्सले देश चलेको छ, भने अर्कोतिर वैदेशिक रोजगारीले देशको बेरोजगारीदर नियन्त्रण गरेको छ । रविको भनाइ मानेर वैदेशिक रोजगारीमा कार्यरत कामदार फर्किए भने उनीहरुमाथि राजनीतिक धोका हुन्छ । किनकि राजनीतिक स्वार्थले मिलेको रोजगारीले भोली समस्या सिर्जना हुन् सक्छ ।
नेपालमा मन परेको दिन काममा लगाउने र मन नपरेको दिन निकाल्ने प्रवृत्ति छ । यो प्राय सबै रोजगारदाताहरुको हकमा लागू हुन्छ । त्यसमा पनि आज मिलेको २० हजारको जागिर सय दिनपछि भएन भने रविले फकार्एका कामदार फेरी वैदेशिक रोजगारीमै जानुपर्ने बाध्यता हुन्छ ।
अहिले उनले घोषणा गरेको रोजगारीका सुनिश्चितता कसले गर्छ । साथै यो रोजगारीको अवधि कति हो । त्यो रोजगारीको ग्यारेन्टी रविले लिने होकि, रोजगारदाता कि सरकार । यो पनि प्रश्नको विषय बनेको छ ।
वैदेशिक रोजगारीमा कार्यरत कामदारले मलेसिया र साउदीको हकमा न्यूनतम मासिक ५० हजार कमाउँदै आएका छन् । रविले खुलाएको रोजगारीमा बढीमा मासिक ३० हजार कमाइ हुने अनुमान छ ।
फेरी, विकाशित देशमा कार्यरत कामदारले मासिक मासिक १ लाख ५० हजारभन्दा माथि मासिक तलब खाने गरेका छन् । जसका कारण अहिले उनको भनाइ मानेर केही फर्किए भने धोका हुनसक्छ ।
वैदेशिक रोजगारीको खोजीमा देश छाडेर विदेश जाने क्रम मासिक रुपमा बढ्दो छ । २०७९÷८० मा ७ लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएको रोजगारीको खोजीमा विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ ।
आर्थिक वर्ष २०७८÷७९ मा ६ लाख ३० हजार ९० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष १ लाख ४० हजार ४ सय ४२ जना बढी वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ ।

























