गृहपृष्ठ बेनी–जोमसोम सडकमा पहिरोको जोखिम
बेनी–जोमसोम सडकमा पहिरोको जोखिम
राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ ।
सामान्य वर्षा हुँदा पनि सडकमाथिबाट पहिरो खस्ने र सडक तलको जमिन लच्किने समस्याले यी दुई सडकमा यात्रा गर्ने यात्रु र चल्ने सवारीसाधन सधैँ जोखिममा पर्ने गरेका छन् ।
बाह्र वर्षअघि ट्रयाक खुलेको बेनी–जोमसोम सडक स्तरोन्नतिमा भएको ढिलाइ र कच्ची भूगोलका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको हो ।
७६ किलोमिटर दूरीको सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि लम्बिँदा पनि समस्या उत्पन्न भएको यातायात व्यवसायीको गुनासो छ । कालोपत्र गर्ने लक्ष्यसहित सञ्चालित आयोजनामा भएको ढिलाइले म्याग्दीको उत्तरी क्षेत्रका साथै मुस्ताङका बासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सास्ती हुने गरेको छ ।
म्याग्दीको गलेश्वरबाट मुस्ताङको लेतेसम्मको सडक जोखिमयुक्त भएको यातायात व्यवसायीको भनाइ छ । यात्रु र गाडीको चाप बढे पनि सडकको अवस्था बेहाल छ । विसं २०७४ असारमा चारवटा प्याकेज (भाग)मा विभाजन गरिएको सडक स्तरोन्नतिका लागि विभिन्न कम्पनीले दुई अर्ब ५० करोडमा ठेक्का लिएका थिए ।
गत शुक्रबारदेखि बेनी–जोमसोम सडकका विभिन्न खण्डमा पहिरो गएपछि यात्रु र यातायात व्यवसायीलाई समस्या भएको छ । म्याग्दीको वैंसरीबाट मुस्ताङको लेतेसम्म सात ठाउँमा पहिरो गएकाले यातायातका साधन अवरुद्ध हुने गरेका यातायात व्यवसायीले बताएका छन् ।
यसैगरी बेनी–दरबाङ सडकखण्डको अवस्था पनि अत्यन्त दयनीय छ । सडकको ट्रयाक खुलेको १८ वर्ष बितिसक्दा पनि पहिराको समस्या समाधान हुनसकेको छैन ।
प्रकाशित समय : ०९:०० बजे


















